सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

रञ्जिताको चेतावनीले नागरिक उन्मुक्ति पार्टीमा हलचल

सोमबार, २१ असोज २०८१, ०६ : ०६
सोमबार, २१ असोज २०८१

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीलाई आघात पुग्ने कुनै पनि क्रियाकलाप गर्ने–गराउनेलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने चेतावनी दिएकी छन् ।

अध्यक्ष श्रेष्ठले पार्टीका केही सदस्य साथीहरूले आफ्नो पदीय मर्यादा समेतलाई ख्याल नराखी पार्टी नेतृत्वलाई जथाभाबी गालीगलौज गर्ने, अपुष्ट र नभएको कुरा लेखेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति देखिएको उल्लेख गरेकी छन् ।

त्यस्ता क्रियाकलाप गर्ने जो कोही पार्टीको इमानदार सदस्य नहुने स्पष्ट गर्दै अध्यक्ष श्रेष्ठले अनुशासन आयोगमार्फत त्यस्तामाथि कारबाही हुने चेतावनी दिएकी छन् । अब उप्रान्त त्यस्ता गतिविधि सह्य नहुने चेतावनी दिँदै उनले पार्टीका सदस्यहरूलाई आ–आफ्नो विचार पार्टीको बैठकमा राख्ने पूर्ण स्वतन्त्रता भएको र पार्टीको शुद्धीकरण प्रक्रिया अगाडि बढिसकेको सर्कुलरमा उल्लेख गरेकी छन् ।

तर यो सर्कुलरमा पुरानो मिति उल्लेख गरेर हालै जारी गरेको सो पार्टीका कतिपय नेताको आरोप छ । फेसबुकमा लेखेकै कारण पार्टीका एक जना नेता थुनामा परेपछि पुरानो मिति राखेर सर्कुलर जारी गरेको नेताहरूको आरोप छ ।

सुदूरपश्चिममा पार्टीबाट मन्त्री बनेका लक्ष्मण किशोर चौधरीका स्वकीय सचिव नवीन थापाको बारेमा फेसबुकमा लेखेकै कारण पार्टीका नेता रमित ओली थुनामा परेका थिए ।

कैलाली–कञ्चनपुरमा रहेका नागरिक उन्मुक्ति पार्टीका नेताहरूले नवीन थापा पार्टीको सदस्य नभएको, उनी पछि पार्टीमा प्रवेश गरेपछि मन्त्रीको स्वकीय सचिव बनाइएको दाबी गर्दै आइरहेका छन् । त्यही कुरा रमित चौधरीले आफ्नो फेसबुकमा लेखेपछि थापाले साइबर क्राइम अन्तर्गत उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा रमितलाई प्रहरीले असोज ११ गते पक्राउ गरेका थियो । पाँच दिन थुनामा राखेर धरौटी लिएर छाडेपछि रञ्ञिता श्रेष्ठले असोज ८ गतेको मिति राखेर त्यस्तो सर्कुलर जारी गरेको नागरिक उन्मुक्ति पार्टीका नेता निम चौधरी (धनगढी)को दाबी छ ।

रेशम चौधरी र रञ्जिता श्रेष्ठ (दम्पती)ले पार्टीलाई निजी कम्पनीजस्तो चलाएको आरोप पार्टीका नेताहरूले लगाएका छन् ।

‘रमित चौधरी पार्टीका पुराना कार्यकर्ता हुन् । पार्टी गठनदेखि लिएर चुनावलगायतका कुनै पनि समयमा उपस्थित नरहेका, कहीँ कतै नदेखिएका व्यक्ति एकाएक पार्टीमा आउँछन् र आउनासाथ पार्टीका मन्त्रीको स्वकीय सचिव बन्छन् भने जो कोहीलाई रिस उठ्छ,’ निम चौधरीले भने, ‘पार्टीमा योगदान दिएका, पार्टीलाई बनाएकाहरूको कुनै कदर छैन ।’

टीकापुरका वीरेन्द्र चौधरीको पनि त्यस्तै गुनासो छ । लक्ष्मण किशोर चौधरी टीकापुरका बासिन्दा हुन् । उनी मन्त्री भएपछि टीकापुरका जनताले ठुलो अपेक्षा गरे पनि टीकापुरलाई मन्त्री चौधरीले उपेक्षा गरेको वीरेन्द्रको आरोप छ ।

आफ्नै ठाउँ, आफ्नै गाउँका नेता मन्त्री भएपछि त्यहाँका व्यक्तिमा स्वाभाविक रूपमा विभिन्न अपेक्षा हुन्छ तर मन्त्री लक्ष्मणले स्वकीय सचिव समेत कञ्चनपुरका मान्छेलाई राखेर बजेट सबै अन्यत्र पठाएका कारण कैलाली, टीकापुरका पार्टीका नेता तथा कार्यकर्ता आक्रोशित भएको उनले बताए ।

रेशम चौधरी र रञ्जिता श्रेष्ठ (दम्पती)ले पार्टीलाई निजी कम्पनीजस्तो चलाएको आरोप पार्टीका नेताहरूले लगाएका छन् । पार्टीलाई सामूहिक निर्णयमा चलाउनुभन्दा पनि प्राइभेट कम्पनी जस्तो दुवै जनाले चलाइरहेको आरोप लगाउँदै कतिपय नेताले पार्टी छाड्नेसम्मको चेतावनी दिएका छन् ।

कैलाली जिल्लाका पार्टीका अध्यक्ष प्रदीप चौधरीले पार्टी जिल्ला र प्रदेशबाट होइन, केन्द्रबाटै बिग्रिएको हो र पार्टी बिगार्नेमा मुख्य दोषी रेशम–रञ्जिता नै रहेको आरोप लगाए ।

‘उनीहरूलाई जे–जे गर्न मन लाग्छ, त्यो गरिरहेका छन्, न कसैले रोक्नेवाला छ, न भन्नेवाला छ । जसले आवाज उठाउँछ, उसलाई सिधै कारबाही गर्छन्,’ प्रदीपले भने, ‘यो अवस्थाले पार्टी कसरी चल्छ ? अहिले पनि केही बिग्रिएको छैन । पार्टीलाई प्राइभेट कम्पनीबाट मुक्त गराएर सामूहिक नेतृत्वमा चलाउनुपर्छ ।’

केही समय पहिले अध्यक्ष श्रेष्ठले नवीन थापालगायतका नेता तथा कार्यकर्तालाई कारबाही गरे पनि केही समयपछि फुकुवा गरेको भन्दै प्रदीपले किन कारबाही भयो र किन फुकुवा भयो भन्नेबारे कसैलाई केही थाहा नभएको प्रस्ट पारे । ‘पार्टी विधि विधानमा चल्नुपर्छ, यसरी मनपरी गरे पार्टीमा धेरै ठुलो क्षति हुन्छ,’ उनले भने ।

नागरिक उन्मुक्ति पार्टीको प्रदेश तथा जिल्ला तहमा असन्तुष्टि चुलिएको छ । पार्टी नेतृत्व तहको आलोचना हुन थालेपछि १८ र १९ गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक पनि स्थगित गरिएको छ ।

बाढी पहिरोको कारण बैठक स्थगित गरिएको अध्यक्ष श्रेष्ठ र संस्थापक रेशम चौधरीले दाबी गरे पनि जिल्लामा देखिएको विवादका कारण स्थगित भएको नेताहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप