सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
विपद्

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

सोमबार, २१ असोज २०८१, ०४ : ५२
सोमबार, २१ असोज २०८१

सप्तरी । केही दिन अगाडिको बाढीले घरविहीन भएका यहाँका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाव भएको छ । खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने बाध्यताले उनीहरु समस्यामा परेका छन् । 

कंकालिनी नगरपालिकाका स्थानीय बोकाइ सदाले यहाँ शुद्ध खानेपानी नभएकाले अधिकांश बाढीपीडित बिरामी पर्न थालेको बताए। शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउँदा रुघाखोकी, ज्वरो, बान्ता र झाडापखाला जस्ता लक्षणसहित बिरामी परेको उनले बताए । 

कोशी बाँधमा बसेका बाढीपीडितले कोशीको पानी र ट्यूबेलको पानी खाने गरेका छन् । पानीकै कारण बिरामी परेको हुनसक्ने अनुमान गरिएको छ । सदाले भने, 'बच्चा बिरामी छ घरको खाद्यान्न नष्ट हुँदा खाने कुरा छैन । 

चर्को घाममा खुला ठाउँमा बसेका छौँ ।' सोही ठाउँका अर्का बाढीपीडित भागवत मुखियाले यस क्षेत्रमा स्वास्थ्यकर्मीको टोली आइनपुगेको बताए । खाद्यान्न सबै नष्ट भएको र राहत सामग्री वितरणमा भेदभाव हुँदा पीडित झन समस्यामा परेको उनको गुनासो छ । 'बाढी पीडितका लागि राहत सामग्री स्वरुप हालसम्म मुरै, चिउरा र चाउचाउबाहेक केही पाइएको छैन,' उनले भने । 

स्थानीय बाढीपीडित परवेज आलमले धान काट्ने बेलामा आएको बाढीले धान र घरविहीन बनाएको बताए । धानबालीमा क्षति गरेका हुँदा एक वर्षका लागि भोकै बस्नुपर्ने अवस्था आएको उनले गुनासो पोखे । उनले तीनै तहका सरकारलाई सहयोगको याचना गरे । 

कोशी नदी र जीता खोलाको बाढीका कारण हनुमाननगर कंकालिनीका सयौँ बाढीपीडितको विचल्ली भएको छ । हनुमाननर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले स्थानीय सरकारले बाढीपीडितका लागि शुद्ध खानेपानी, समयमा उपचार र राहत सामग्री वितरण गरिरहेको बताए । 

तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३, ४, ५ र ७ वडामा पानी पसेपछि स्थानीय समस्यमा परेका छन् । बाढीपीडितका लागि गाउँपालिकाको समन्वय तथा युनिसेफको सहयोगमा सबल नेपाल नामक संस्थामार्फत दुई सय ५२ परिवारलाई राहत सामग्री स्वरुप ‘हाइजिन किट’, पानी खानका लागि मग, डोल र झुललगायत वितरण गर्ने तयारी गरिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप