सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

ब्रिटिस गोर्खा सैनिकका समस्या समाधान गर्न माग

सोमबार, २१ असोज २०८१, ०० : १५
सोमबार, २१ असोज २०८१

काठमाडौँ । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले ब्रिटिस गोर्खा सैनिकले भोग्दै आएको समस्या समाधान गर्न माग गरेको छ ।

सो संगठनले आइतबार पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरेको हो ।

२० महिना अघि सर्वोच्च अदालतले अन्यायपूर्ण प्रावधान हटाएर अरु सैनिक सरह समान सेवा सुविधा दिलाउन नेपाल सरकारले पहल तथा कार्यान्वयन गर्न आदेश दिएको थियो । संगठनका अध्यक्ष पदमसुन्दर लिम्बूले आफूहरुले अदालतको आदेश कार्यान्वयनका लागि बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए ।

उनले यो विषय देशको राष्ट्रिय स्वाधीनता र मानव अधिकारसँग सम्बन्धित भएको बताए । संगठनका प्रमुख सल्लाहकार परी थापाले भने, 'हामीले नेपालका सम्बन्धित निकायदेखि राष्ट्रिय मानवअधिकार आयोग समक्ष पनि अदालतको आदेश तथा सैनिकहरुको समस्याबारे जानकारी दिइसकेका छौँ ।' अधिवक्ता फडिन्द्र कार्कीले फैसला कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

उनले विदेशीहरुले नेपालीलाई जे गरेपनि हुन्छ भन्ने सोच राख्नु गलत हुने भन्दै भने, 'नेपालको सर्वोच्च अदालतले राम्रो फैसला गरेको छ त्यसलाई कार्यान्वयन गराउन हामी अन्तर्राष्ट्रिय निकायमा जान बाध्य हुनेछौँ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप