सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनए डे मनाउने र बाढीपहिरो पीडितलाई सहयोग गर्ने निर्णय

आइतबार, २० असोज २०८१, २२ : १२
आइतबार, २० असोज २०८१

काठमाडौँ । आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको बैठकले विभिन्न निर्णय गरेको छ । आइतबार भर्चुअल माध्यममार्फत बसेको बैठकले अक्टोबर ११ मा एनआरएनए डे मनाउनुका साथै हालैको अविरल वर्षापछिको बाढी पहिरोबाट प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ । 

बैठकले संघभित्रको आफ्नोतर्फको गतिविधिलाई सशक्त बनाउने, एनसीसीहरुसँग समन्वय बढाउँदै लैजाने, एकताबद्ध एनआरएनए बनाउन पहलकदमी लिनेजस्ता निर्णय पनि गरेको छ । पूर्वअध्यक्षहरु, पदाधिकारी, सल्लाहकार एवम् अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यहरू सहभागी बैठकमा आरके शर्माले ४ वटा एजेन्डा प्रस्तुत गरेका थिए ।  जसअनुसार सर्वोच्च अदालतमा दायर मुद्दाका साथै, एनआरएनए डे मनाउने, बाढी पहिरो पीडितलाई सहयोग गर्ने र विविध विषयमा एजेन्डा अध्यक्षबाट पेस भएको महासचिव बुद्धि सुवेदीले जानकारी दिए । 

सोही एजेण्डामाथि बैठकमा छलफल भएपनि अक्टोबर ११ मा भव्यताका साथ एनआरएनए डे मनाउने निर्णय भएको जानकारी दिँदै उनले नेपालमा हुनेले भौतिकरुपमा उपस्थित भएर मनाउने र नेपाल बाहिर हुनेले सो दिनको ४ देखि ६ बजेसम्म भर्चुअल कार्यक्रम गरेर मनाउने तय भएको बताए । बैठकमा अध्यक्ष शर्माले परराष्ट्रमन्त्रीसहितलाई बोलाएर भव्यताका साथ कार्यक्रम गर्न तयारी गर्न नेपालमा रहेका कार्यसमिति सदस्यहरुलाई आग्रह गरे । सोअनुसार सम्बन्धितलाई पत्राचार गरेर उनीहरुको सहभागिता सुनिश्चित गराउन उनले सम्बन्धित पदाधिकारीहरुलाई आग्रह गरे । 

यस्तै हालै गएको बाढी पहिरोबाट प्रभावितका लागि सहयोग सङ्कलन गरेर हस्तान्तरण गर्ने निर्णय हुँदा राहत पनि दीर्घकालीन हितलाई मध्यनजर गरेर वितरण गरिने बैठकको निष्कर्ष छ । त्यसका लागि रकम संकलन गर्ने र छिट्टै हस्तान्तरण गर्नेगरी छलफल भएको छ । 

बैठकको अन्तिममा अध्यक्ष शर्माले एनआरएनए सबैको साझा हुनुपर्छ भन्ने नै आफूहरुको स्वार्थ एकमात्र स्वार्थ भएको बताए ।

बैठकमा सर्वोच्चमा आफूहरुले दिएको मुद्दा विचाराधीन रहेको भन्दै छिट्टै संस्था एक हुने वातावरण तयार हुने विश्वास समेत सहभागीले गरेका थिए । गैरआवासीय नेपाली संघमा चर्किएको विवाद समाधान हुन नसकेको अवस्थामा शर्मा पक्षले आधिकारिकताको दाबी गर्दै सर्वोच्चमा रिट समेत दायर गरेको अवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप