सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, २० असोज २०८१, २२ : ००
आइतबार, २० असोज २०८१

आज २०८१ असोज २० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा नवनियुक्त प्रधान न्यायाधीश राउतद्वारा पदभार ग्रहण, पूर्वराजाको भुटान भ्रमणको राजनीतिक सन्देश के ?, भैंसेपाटी ‘हनिट्रयाप’ घटना ः थप एक जना पक्राउ, पर्यटन दशक मनाइरहेको सरकार भद्रगोल पूर्वाधारबारे बेखबर, रवि लामिछानेविरुद्ध उनकै निर्वाचन क्षेत्रमा नाराबाजी, हेटौंडा–काठमाडौँ जोड्ने चार वटा सडक खुल्यो, ‘सिधा कुरा’का ढुंगाना र कँडेल थुनामुक्त लगायत छन् ।

१. नवनियुक्त प्रधान न्यायाधीश राउतद्वारा पदभार ग्रहण
नवनियुक्त प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आइतबार पदभार ग्रहण गरेका छन् । राउतलाई आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधान न्यायाधीश नियुक्त गरी शपथ गराएका थिए ।

२. पूर्वराजाको भुटान भ्रमणको राजनीतिक सन्देश के ?
पूर्वराजा ज्ञानेन्द्र शाह भुटानको भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । उनले भ्रमणबारे औपचारिक प्रतिक्रिया नजनाए पनि उनी निकट स्रोतले लामो समयको ताकेतापछि भुटान भ्रमण भएको जनाएको छ ।

३. भैंसेपाटी ‘हनिट्रयाप’ घटना : थप एक जना पक्राउ
ललितपुरको भैंसेपाटीमा घरजग्गा कारोबारीलाई ‘हनिट्रयाप’मा पारेर रकम असुलेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएकी भिमादेवी थापा छिन् । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा यसअघि सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम पक्राउ परेका थिए ।

४. पर्यटन दशक मनाइरहेको सरकार भद्रगोल पूर्वाधारबारे बेखबर
सरकारले घोषणा गरेको पर्यटन दशक (सन् २०२३–२०३२) को कार्यान्वयनका लागि बनाएको कार्ययोजनामा सन् २०३२ मा पुग्दा वार्षिक ३५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । यतिखेर सरकारले पर्यटक दशक मनाइरहे पनि पर्यटन विकासका लागि आवश्यक आधारभूत कुरामा भने ध्यान दिएको छैन । 

५. रवि लामिछानेविरुद्ध उनकै निर्वाचन क्षेत्रमा नाराबाजी
सार्वजनिक सुनुवाइ तथा मतदाता र कार्यकर्ता भेट्न चितवन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेविरुद्ध नाराबाजी भएको छ । लामिछाने शुक्रबार चितवन पुगेका थिए । शनिबारसम्म चितवन बसेर कार्यक्रममा सहभागी उनीविरूद्ध नाराबाजी भयो ।

६. हेटौंडा–काठमाडौँ जोड्ने चार वटा सडक खुल्यो
हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको ४ सडक सञ्चालनमा आएको छ । हेटौंडा–काठमाडौँ छोटो दुरीको हेटौँडा–फाखेल–काठमाडौँ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि र हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक सञ्चालन भएको हो ।

७. ‘सिधा कुरा’का ढुंगाना र कँडेल थुनामुक्त
माफी मागेपछि ‘सिधा कुरा’का पत्रकार नवीन ढुंगाना र युवराज कँडेल थुनामुक्त भएका छन् । अदालतको अवहेलना ठहर भएका ढुंगाना र कँडेल असोज १३ गते जेल चलान भएका थिए । 

८. अन्तर्राष्ट्रिय उडानको जहाजबाट नेपाल एयरलाइन्सले भैरहवामा यात्रु ओसार्ने
नेपाल एयरलाइन्सले न्यारोबडी जहाजमार्फत भैरहवा उडान गर्न अनुमति मागेको छ । एयरलाइन्सले फूलपातीको दिन काठमाडौँबाट भैरहवाका लागि चार्टर्ड उडान भर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको हो ।

९. शक्तिपीठमा दर्शनार्थीको घुइँचो
नवरात्रिको अवसरमा विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ । नवरात्रिमा विभिन्न देवीको विशेष पूजा गरिन्छ । 

१०. सहुलियत मूल्यमा खसीबोका बिक्री सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुर्पयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६६० रुपैयाँमा बिक्री सुरु गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप