आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

पोस्ट ग्रेजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत

आइतबार, २० असोज २०८१, २१ : १२
आइतबार, २० असोज २०८१

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट  ग्रेजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ । 

प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको ३१ औँ सिनेट बैठकले यस्तो निर्णय गरेको हो । मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा दक्ष चिकित्सक अभाव कम गर्न सरकारी मेडिकल कलेजहरूमा पोस्ट ग्रेजुएट विद्यार्थीको कोटा थप्न पहल गर्ने निर्णय गरेका थिए ।  

बैठकमा मन्त्री पौडेलले देशमा दक्ष चिकित्सक अभाव कम गर्नका लागि यस निर्णय ऐतिहासिक हुने विश्वास व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिष्ठानलाई निर्देशन दिए । 

यससँगै अब देशैभरका सरकारी चिकित्सा तथा नर्सिङ कलेजमा ४ सयसम्म पोष्ट  ग्रेजुएट विद्यार्थीलाई थप अध्ययन गराउन सकिने प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

‘सरकारी कलेजमा पोस्ट  ग्रेजुएट विद्यार्थीको अध्ययन कोटा कम भएको अवस्थामा यो निर्णयले ठूलो संख्यामा विद्यार्थी थप गराउन सघाउनेछ,’ उनले भने । 

अहिले प्रतिष्ठानमार्फत शैक्षिक आबद्धता लिएका सरकारी मेडिकल तथा नर्सिङ कलेजहरूमा एक सय १२ जना विद्यार्थी वार्षिक रुपमा पोस्ट  ग्रेजुएट अध्ययन गरिरहेका छन् । शिक्षक अभावमा दक्ष चिकित्सा जनशक्ति अभाव भए पनि विद्यार्थी थप गर्न नसकिएको अवस्थामा यो निर्णयले सहायता पुग्ने विश्वास गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए । 

बैठकले यसअघि न्याम्सअन्र्तगत शैक्षिक आबद्धता लिएका आंगिक कलेज भरतपुर अस्पताल कोशी अस्पतालसँगै नारायणी र भेरीमा अस्पताललाई समेत आबद्धता दिने निर्णय गरेको छ । 

ती सबै अस्पतालका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत भएको छ । 

यसैगरी, मेची आँखा अस्पताल, गेटा आँखा अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल अथोप्डिक अस्पतालका लागिसमेत पोस्ट ग्रेजुएट अध्ययनमा विद्यार्थी थप्न सघाउने गरी शिक्षक दरबन्दी थप भएको छ ।

नर्सिङ क्याम्पस, भरतपुर नर्सिङ क्याम्पस, कान्ति नर्सिङ क्याम्पस, निजामती नर्सिङ क्याम्पस तथा सशस्त्रको नर्सिङ क्याम्पसका लागिसमेत शिक्षक दरबन्दी स्वीकृत गरिएको उपकुलपति बस्नेतले जानकारी दिए । 

बैठकले प्रतिष्ठानले एमबीबीएस अध्ययन थाल्नेसमेत निर्णय गरेको छ । प्रतिष्ठानअन्तर्गत रहेका वीर अस्पताल, ट्रमा सेन्टर तथा नर्सिङ क्याम्पसलाई अब एमबीबीएस अध्ययन थाल्नसमेत यस निर्णयले बाटो खुला भएको उपकुलपति बस्नेतले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप