आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

दसैँपछि आन्दोलन गर्ने भूतपूर्व गोर्खा सैनिकको चेतावनी

आइतबार, २० असोज २०८१, २० : ४९
आइतबार, २० असोज २०८१

काठमाडौँ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरे अन्तर्राष्ट्रिय निकायमा जाने सरकारलाई चेतावनी दिएको छ । आइतबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर बिगेसोले दसैँ–तिहारपछि देशैभरि आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।

सदियौँदेखि ब्रिटिस गोर्खा सैनिकहरूले खेप्दै खाएको समस्या भएको भन्दै आजभन्दा २० महिना पहिले सर्वोच्चले अन्यायपूर्ण प्रावधान हटाएर अरू सैनिक सरहको समान सेवा सुविधाका लागि नेपाल सरकारले पहल तथा कार्यान्वयन गर्न आदेश दिएको थियो ।

बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बुले आफूहरूले अदालतको आदेश कार्यान्वयनको लागि बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए । लिम्बुले आफूहरूको मात्रै चासोको विषय नभएर देशको राष्ट्रिय स्वाधीनता र मानव अधिकारसँग सम्बन्धित विषय भएकाले आफूहरूले कार्यान्वयन गराउन कुनै पनि हत्कण्डा अपनाउने चेतावनी दिए ।

पछिल्लो समय गोर्खा सैनिकहरूलाई पनि गैरआवासीय नेपाली नागरिकको स्तरमा झार्नुले पनि यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्रको गन्ध आएकोले सबै चनाखो हुनुपर्ने पनि बताए ।

बिगेसो प्रमुख सल्लाहकार परि थापाले सदियौँदेखि गोर्खाहरूलाई शासकहरूको निजी स्वार्थपूर्तिको हतियारका रूपमा बुझेकोप्रति आक्रोश व्यक्त गर्दे भने, “तत्कालीन राणा, शाहदेखि अहिलेको गणतन्त्रसम्म पनि शासकहरूको सोच र व्यवहार मानव तस्करकै रहेको छ तर अब यसलाई भत्काउनु पर्छ ।” थापाले गोर्खा सैनिकहरूलाई बस्तुको रूपमा विदेशीले प्रयोग गरे पनि नेपालीले त्यसलाई भत्काएर समान सेवा र सुविधाको लागि पहल गर्नु पर्नेमा नगरेको आरोप लगाए ।

“हामीले नेपालका सम्बन्धित निकायदेखि राष्ट्रिय मानवअधिकार आयोग समक्ष पनि अदालतको आदेश तथा सैनिकहरूको समस्याबारे जानकारी दिइसकेका छौँ” थापाले थपे ।

बिगेसोका कानुनी सल्लाहकार अधिवक्ता फडिन्द्र कार्कीले फैसला कार्यान्वयन गर्न नदिन ठुलो षड्यन्त्र भएको बताए । “नेपाली नौजवानहरूलाई विश्वभरि मानव तस्करी गरिरहेका छन्,यसमा देशी विदेशी प्रतिक्रियावादीहरूको हात रहेको छ” कार्कीले भने ।

अधिवक्ता कार्कीले विदेशीहरूले नेपालीलाई जे गरे पनि हुन्छ भन्ने सोच राख्नु अब गलत हुने बताउँदै भने, “नेपालको सुप्रिम कोर्टले राम्रो फैसला गरेको छ त्यसलाई कार्यान्वयन गराउन हामी अन्तर्राष्ट्रिय निकायमा जान बाध्य हुनेछौँ ।”

बिगेसो सिंगापुर विभाग अध्यक्ष पल बहादुर घर्तिमगरले विज्ञप्ति गोर्खालीहरूलाई भरभराउँदो उमेर सैनिक बनाउने र सेवा,सुविधाबाट वञ्चित गरेर भविष्य बर्बाद गर्ने गरेको बताए । उनले भारत, बेलायत र विशेष गरेर सिंगापुरमा मानव तस्करीको तरिकाले गैरकानुनी रूपमा लग्न नेपाल सरकारले बिक्री गर्ने गरेको आरोप लगाउँदै भने, “हामीलाई बिक्री गरेर लग्ने र फाइदा खान्छ तर समस्याबारे नेपाल सरकार चुइँक्क बोल्दैन ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप