सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
छड्के अनुगमन

कालीमाटी र कुलेश्वरमा उद्योगमन्त्री भण्डारीको छड्के, व्यापारीको भागाभाग

आइतबार, २० असोज २०८१

काठमाडौँ । आइतबार उद्योगमन्त्री दामोदर भण्डारी कालीमाटी फलफूल तथा तरकारी बजार क्षेत्रको अनुगमनमा निस्किए । मन्त्री भण्डारीसँगै वाणिज्य विभागका महानिर्देशक राजन पौडेल, उपभोक्ता अधिकारकर्मी लगायतको टोली कालीमाटीमा पुग्यो ।

कालीमाटी बजारको माछा पसलबाट अनुगमन सुरु गरियो । यस क्रममा माछा पसलहरूमा सरसफाइ नभएको पाइयो । मन्त्री भण्डारीले सरसफाइ गर्न निर्देशन गर्दै बिलबिजक मागे । तर व्यापारीले बिल देखाउन मानेनन् ।

त्यसपछि कालीमाटी फलफूल तरकारी बजार विकास समितिका कर्मचारीलाई बिलबिजक उपलब्ध गराउन र सरसफाइ गर्न आग्रह गरे ।

अनुगमन गर्ने क्रममा मन्त्री भण्डारीसहितको टोली आलुको स्टलतिर लाग्यो । तिलक सप्लायर्स नामक स्टलमा पुगेपछि मन्त्री भण्डारीले आलुको मूल्य सोध्दै बिलबिजक माग गरे । तर त्यहाँका व्यापारीले बिल घरमा भएको भन्दै देखाउन मानेनन् ।

उक्त पसलमा ३४ रुपैयाँदेखि ८० रुपैयाँ प्रतिकिलोमा आलु खरिद गरिएको बिल फेला पर्‍यो । तर उनले १०५ रुपैयाँभन्दा बढीमा बिक्री गरेको देखियो ।

यस्तै, भुटानको आलु नेपालसम्म आइपुग्दा प्रतिकिलो ७७.८० रुपैयाँमा खरिद गरेको र एक सय रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरेको पाइयो ।

विभागका महानिर्देशक राजन पौडेलले ३४ रुपैयाँमा खरिद गरेको आलु १०० रुपैयाँभन्दा बढीमा बिक्री गरेकोबारे प्रश्न गरे । व्यापारीले मसिनो आलु आएको हुनसक्ने बताए । तर ती व्यापारीले बिक्री गरेको बिल भने देखाउन सकेनन् ।

मन्त्री भण्डारीले अहिले आलुको सिजन भएकाले महँगो गर्न नहुने बताए । कालीमाटी तरकारी बजार विकास समितिका सह–कार्यकारी निर्देशक अर्जुन प्रसाद अर्यालले भने व्यापारीको बचाउ गर्दै आफ्नो प्रतिक्रिया दिए ।

‘उहाँसँग आज बिल नभएको हो । सस्तोमा ल्याएर सस्तोमा बिक्री गरेको हुनसक्छ । बजारको वेबसाइटमा पनि हामीले औसतमा मूल्य राख्ने हो,’ अर्यालले भने ।

अर्यालले व्यापारीको बचाउ गरेकोप्रति उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले टिप्पणी गरे । त्यसपछि अर्याललाई मन्त्री भण्डारीले प्रश्न गरे, ‘तपाईंहरूको काम के हो ? व्यापारीको बचाउ गर्ने हो ? यहाँ बिलबिजक राखेको छैन, माछा पसलको सरसफाइ भएको छैन । के काम गर्नुहुन्छ ?’

जवाफमा अर्यालले भने, ‘हामीले वस्तु कतिमा बेच्यो भनेर अनुगमन गर्ने, वेबसाइटमा मूल्य राख्ने तथा बिलबिजक राखेर व्यापार गर्न निर्देशन दिने हो ।’

त्यसपछि मन्त्री भण्डारीले अर्याललाई भने, ‘हामीले देख्यौँ, तपाईंहरूले के के काम गर्नुभएको छ भन्ने । बिलबिजक पनि राखेको छैन, सरसफाइ यस्तो छ ।’

बिल देखाउन नसकेका आलु व्यापारीलाई विभागको टोलीले कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दियो । त्यसपछि अन्य स्टलको अनुगमन गर्न अघि बढ्यो ।

अन्य स्टलहरूमा तरकारी रहे पनि व्यापारी थिएनन् । ती पसलका व्यापारीहरू भागिसकेका थिए । यस्तै बजारका धेरैजसो सटर बन्द भइसकेका थिए ।

पसलमा भएका व्यापारीहरूले खरिद बिलबिजक नराखी बिक्री वितरण गरिरहेका थिए । आयुष फ्रुट्स सेन्टरमा पनि बिलबिजक नराखेको पाइएपछि विभागको टोलीले कागजात लिएर विभागमा उपस्थित हुन निर्देश गरेको छ ।

व्यापारीहरू स्टल छोडेर भागेको र बिलबिजक नराखेको तथा सरसफाइ नगरेकोप्रति मन्त्री भण्डारीले विकास समितिका कार्यकारी निर्देशक महादेवप्रसाद पौडेललाई प्रश्न गरे ।

कार्यकारी निर्देशक पौडेलले आफूहरूले बिलबिजक र मूल्यसूची राखेर बिक्री गर्न निर्देशन दिइरहेको बताए । यसैगरी व्यापारीले स्टल छाडेर भागेकोप्रति आफू जिम्मेवार नभएको बताए ।

त्यसपछि मन्त्रीसहितको अनुगमन टोली कालीमाटी नजिकै रहेको कुलेश्वरको फलफूल बजारतिर लाग्यो । फलफूल बजारमा पनि धेरैजसो फलफूल व्यवसायीले खरिद गरेको बिल देखाउन सकेनन् ।

किसानसँग खरिद गरेर ल्याउनुपर्ने भएकाले बिल तत्काल उपलब्ध नहुने व्यापारीको भनाइ थियो । अनुगमनकै क्रममा न्यू सिंह फ्रुट सेन्टर नामक एक पसलमा बिक्री गरेको मूूल्यभन्दा फरक मूल्यमा भ्याट बिल काटेको फेला प¥यो । त्यसपछि मन्त्री भण्डारीले राजस्व छली भएको हुन सक्ने भन्दै उक्त पसल सिल गर्न निर्देशन गरे । अनुगमन टोलीले पसल सिल गर्ने क्रममा सबै व्यापारी जम्मा भएर आक्रोश पोख्न थाले ।

फलफूल व्यवसायी संघका उपाध्यक्ष माधव चौलागाईंले सबै व्यवसायीले बिलबिजक राखेरै व्यावसाय गरिरहेको बताए । तर भर्खरै आएको बाढीले ठुलो परिमाणमा फलफूल नष्ट भएर घाटा लागिरहेको बेलामा सामान्य हिसाब नमिल्दा पसल सिल गर्न नमिल्ने तर्क गरे ।

‘बाढी पसेर त्यत्रो क्षति हुँदा कुनै राज्य संयन्त्र आएर साथ दिएन । अहिले हामीलाई पीडामाथि थप पीडा थप्ने काम गर्न आएको छ । फोहोर फाल्ने संयन्त्र पनि राज्यले दिएको छैन,’ चौलागाईंले भने । 

नेपाल फलफूल व्यवसायी संघ काठमाडौँका अध्यक्ष अमर बानियाँले करोडौँ क्षति भएको बताउँदै सरकारले अहिले राहत दिनुपर्नेमा झन् घाउमा नुनचुक लगाएको बताए ।

यसबिचमा व्यापारीहरूको ठुलो जमघट भइसकेको थियो । सबै व्यापारी नाराबाजी गर्दै मन्त्री भण्डारीप्रति आक्रोश पोख्न थाले । त्यतिञ्जेलसम्म मन्त्री भण्डारी त्यहाँबाट निस्किसकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया