आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे परराष्ट्रमन्त्रीले लिइन् जानकारी, आवश्यक सहयोग गर्न निर्देशन

आइतबार, २० असोज २०८१, २० : १४
आइतबार, २० असोज २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिएकी छिन् । ती देशमा अवस्थित नेपाली राजदूतहरूसँग आइतबार मन्त्रालयबाट भर्चुअल बैठक गरी उनले इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोग गर्न निर्देशन  दिएकी हुन् । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आज भर्चुअल बैठक मार्फत इजिप्ट, पाकिस्तान र इजरायलस्थित नेपाली नियोग प्रमुखहरूसँग इजरायल र लेबनानमा रहनुभएका नेपालीहरूको वर्तमान अवस्था तथा यी मुलुकहरूमा विकसित भइरहेका पछिल्ला घटनाक्रमका बारेमा जानकारी लिई नियोग प्रमुखहरूलाई लेबनान र इजरायलमा रहनुभएका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहन, उहाँहरूको सुरक्षाको लागि आवश्यक सहजीकरण गर्न र लेबनानमा रहनुभएका नेपालीहरूलाई आवश्यक परेमा स्वदेश फिर्ती र उद्धारको लागि समन्वय र सहजीकरण गर्न निर्देशन दिनुभएको छ ।’ 

मन्त्री राणाले लेबनानमा रहेका नेपालीहरूको सुरक्षालाई उच्च प्राथमिकता दिएर सुरक्षा चुनौती देखिएमा उद्धार गर्ने सम्भावनाका बारेमा समेत आवश्यक कार्य गर्न निर्देशन दिएकी छिन् ।  

यस्तै बैठकमा मन्त्री डा. राणाले पछिल्लो समयमा  लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उनीहरू र उनका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिइन् ।  

उनले भनिन्, “कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरूको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नु र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउनसक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नु ।”

मन्त्री डा राणाले सम्बन्धित देशका दूतावासहरूलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका ‘हेल्पडेस्क’ स्थापना गरेर समस्यामा परेका नेपालीलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिएकी छिन् ।   

इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरूलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताए । त्यहाँ हाल करिब एक हजार दुई सय नेपाली रहेको अनुमान गरिएको र उनीहरूमध्ये अधिकांश घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीन जना मात्र सम्पर्कमा आएको र उनीहरू पनि बेरुतमा सुरक्षित रहेको जानकारी दिएको उनले बताए । 

हाल कुनै पनि नेपालीले आफूलाई समस्या परेको भनी जानकारी नगरेको तर नेपालमा रहेका आफन्तहरू बढी चिन्तित भएको पनि उनले जानकारी दिए । 

इजरायलका लागि नेपाली कार्यवाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका करिब चार हजार पाँच सय नेपाली सुरक्षित रहेको बताए । सो अवसरमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाबारे जानकारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप