आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
यातायात व्यवस्थापन

सिमखोलामा डाइभर्सन बनाएर हेटौँडा–काठमाडौँ जोड्ने ४ सडक खुल्यो

आइतबार, २० असोज २०८१, १७ : ५७
आइतबार, २० असोज २०८१

हेटौँडा । काठमाडौँ छोटो दुरीको ४ सडक सञ्चालनमा ल्याउने तयारी भएको छ । आइतबार साँझसम्म ४ सडक सञ्चालनमा ल्याउने तयारी गरिएको हो । हेटौँडा काठमाडौँ छोटो दुरीको हेटौँडा फाखेल काठमाडौँ, हेटौँडा कुलेखानी चखेल मातातीर्थ, हेटौँडा कुलेखानी मार्खु चित्लाङ चन्द्रागिरि र हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली सडक सञ्चालनको अन्तिम तयारी गरिएको हो । पहिरोले क्षतविक्षत भएका उक्त सडकहरू मर्मत गरेर सञ्चालनमा ल्याउने अन्तिम तयारी भएको यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार सबै सडकहरुमा मर्मत भइसकेको र केही व्यवस्थापनको काम गरेर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । आधिकारिक रूपमा सडक सञ्चालनको जानकारी भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रेस रिलिज गरेर दिने उनले बताए ।

उनका अनुसार कुलेखानी ड्यामको तल सिमखोला पुलमा डाइभर्सन निर्माण गरिएको छ । उक्त डाइभर्सन निर्माण पश्चात् एकै पटक ४ सडकलाई जोड्ने काम गरेको उनले बताए । सिमखोला डाइभर्सन निर्माण पश्चात् फाखेल तर्फका ३ र सिस्नेरी दक्षिणकाली सडकको समेत पहुँच पुगेको उनको भनाई छ ।

simkhola2

सिमखोलाको पुलमा कुलेखानी ड्यामको पानीले क्षति पुगेपछि बन्द भएको सडक डाइभर्सन निर्माण गरी सञ्चालनको अन्तिम तयारी रहेको निमित्त निर्देशक पोखरेलले बताए । सिमखोला डाइभर्सनको स्लोप मिलाउने काम भइरहेकाले साँझसम्ममा सडक सञ्चालनमा ल्याइने उनले बताए ।

सो डाइभर्सन निर्माण पश्चात् फाखेल तर्फका ३ सडकमा सहजै यात्रा गर्न सकिने छ । हेटौँडा फाखेल काठमाडौँ, हेटौँडा कुलेखानी चखेल मातातीर्थ, हेटौँडा कुलेखानी मार्खु चित्लाङ चन्द्रागिरि सडकमा यात्रा गर्न सकिने उनले बताए ।

सिस्नेरी दक्षिणकाली सडक भने केही दिनमा खुलाइने उनले बताए । सो सडकमा ३ किलोमिटर बाटो नै कुलेखानीको बाढीले बगाएकाले त्यसलाई मर्मत गर्ने कार्य भइरहेको उनले बताए । परीक्षणका रूपमा सो सडकमा खोलाको किनारबाट सामान्य ट्र्याक बनाएर सवारी पास गराइएको भए पनि पूर्ण रूपमा काम भइनसकेको उनले बताए ।

simkhola3

७ दिनपछि खुलाइयो सडक

हेटौँडा फाखेल काठमाडौँ सो सडक मार्ग दसैँ लक्षित गरेर सञ्चालनमा ल्याइएको छ । पहिरोले अवरुद्ध भएको उक्त सडक मर्मत गरी अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो । प्रदेश सरकारको प्रादेशिक सडक गुरुयोजना अन्तर्गत प्रदेश मार्गको रूपमा रहेको उक्त सडकहरू पहिरोले बन्द भएको ७ दिन पछि खुलेको हो । गत असोज १२ मा भएको वर्षाका कारण कुलेखानीमा सिमखोला पुलको पहुँच सडक बगाएको थियो भने फाखेल तर्फको महालक्ष्मी खोला पुल र आसपासका सडक बगाएको थियो ।

कुलोनी सिमखोला पुलमा करिब १०० मिटर र महालक्ष्मी खोला वारीपारी गरेर करिब ७०० मिटर सडक बगाएको थियो । मुख्य गरी २ स्थानमा क्षति भएको फाखेल तर्फको सडकमा डाइभर्सन र ट्र्याक निर्माण गरिएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयको नेतृत्वमा उक्त सडकहरू सञ्चालनका लागि काम सुरु गरेको थियो । निर्देशनालयको कमान्डमा फाखेल र सिस्नेरी सडकमा एकै पटक काम सुरु गरेको थियो ।

दुई तर्फबाट सडक सञ्चालनका लागि निर्देशनालयले ३ खण्डमा काम गर्दै आएको थियो । फाखेल सडक सञ्चालन गर्ने योजनाअनुसार निर्देशनालयले हेटौँडा, काठमाडौँ र हुमानेबाट एकैपटक मसिन प्रयोग गरेर सडक मर्मतको काम थालेका थिए । असोज १२ र १३ मा काठमाडौँबाट प्रवेश गरेको जेसीवीले हुमान हुँदै महालक्ष्मी खोलासम्म सडक मर्मत गरेको थियो ।

simkhola5

महालक्ष्मी खोलाबाट १२ गतेदेखि नै काम सुरु गरेको २ वटा जेसीवीले कुलेखानी सम्मको पहुँच पुर्‍याउने गरी काम गरेको थियो । करिब ७०० मिटर सडकको ट्र्याक निर्माण गर्न ४ दिनसम्म २ जेसीवी, स्काभेटर, रोलर र टिपरको प्रयोग भएको थियो ।

काठमाडौँबाट आएको जेसीवी र चखेल खण्डमा सडक निर्माण गरिरहेको मेसिनले मातातीर्थ सडकको ठुला साना पहिरोहरू पन्छाएका थिए । हेटौँडा तर्फबाट २ जेसीवीले भैँसे भिमफेदी हुँदै कुलेखानी प्रवेश गर्ने गरी काम गरिरहेका थिए । १३ गते नै कुलेखानी पुगेका २ जेसीवी भीमफेदीमा पहिरो खसेपछि फर्किएका थिए । भीमफेदीका पहिरो हटाएर १४ असोजमा सो जेसीवी कुलेखानी गएको थिए ।

उक्त जेसीवीले एक स्काभेटर र टिपरको प्रयोग गरी सिमखोलाको पुल निर्माणको काम गरेका थिए । तत्काल पुल निर्माण गर्ने अवस्था नरहेपछि सडक डाइभर्सनको तयारी निर्देशनालयले ग¥यो । सिमखेला पुल नपुग्दै ५०० मिटर अगाडीबाट नयाँ ट्र्याक निर्माण गरी सडक सञ्चालनमा गर्ने उद्देश्यअनुसार १५ असोजमा २ जेसीवी खोलामा झारियो । जेसीवीले निर्माण गरेको अस्थायी ट्र्याकमा स्काभेटर र टिपरको प्रयोग गरेर बाटोमा माटो भर्ने काम गरिएको थियो । खोलामा ४ वटा ह्युमपाइपको प्रयोग गरेर खोलालाई सडकबाट डाइभर्ट गरिएको थियो । उक्त डाइभर्सनले कुलेखानीको पुललाई बाइपास गरेर हेवी जोड्ने काम गरेको छ ।

simkhola4

काठमाडौँबाट आएका जेसीवी र टिपरले महालक्ष्मी खोलालाई पुलतर्फ फर्काउने काम गरेका थिए । पुलको माथिल्लो भागमा १५० मिटर उकालो सडक बगाएको थियो । जहाँ खोलामा भएका ग्राभेल तानेर सडकको ट्र्याक बनाइएको छ । पुलको पारी तर्फको करिब ५०० मिटर सडकमा बगिरहेको महालक्ष्मी खोलालाई पुरानै अवस्थामा फर्काउने काम गरिएको थियो । ट्र्याक समेत नभएको उक्त सडकमा अस्थायी ट्र्याक कायम गरी तत्कालका लागि बाटो सञ्चालनमा ल्याइएको थियो ।

यता सिस्नेरीतर्फ ज्यामिरेदेखि सडकको ट्र्याक खोलाको कब्जामा परेको थियो । निर्देशनालयले खोलाको बगरमा नै अस्थायी ट्र्याक निर्माण गरेको छ । ३ किलोमिटर दुरीमा रहेको सिस्नेरी बजारसम्म नै खोलाको बगरबाट ट्र्याक बनाइएको छ । सिस्नेरीको टेकर बजार प्रवेश नै नगराई बगरबाटै सवारी साधनहरू सिस्नेरी पुर्याइएको छ ।

सिस्नेरीबाट काठमाडौँ तर्फको खण्डमा रहेका ४० वटा पहिरो पन्छाएर निर्देशनालयले सडकमा यातायात सञ्चालन गरेको छ । दक्षिणकालीमा २०० मिटर लम्बाइको सडकको ट्र्याक बगाएको छ । सो स्थानमा सडक खुलाउन व्यक्तिगत जग्गाबाट डाइभर्सन बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप