आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अक्सन

नेपाल प्रिमियर लिग क्रिकेट : आकाश चन्द पोखरा र अविनाश बोहरा सुदूरपश्चिममा

आइतबार, २० असोज २०८१, १७ : ३८
आइतबार, २० असोज २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)मा आकाश चन्दले पोखरा एभेन्जर्सबाट र अविनाश बोहराले सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

एनपीएलका लागि आइतबार काठमाडौँमा आयोजित खेलाडी अक्सन (खरिद–बिक्री) प्रक्रियामा आकाश चन्दलाई पोखरा एभेन्जर्सले आफ्नो टोलीमा भित्राएको छ । अक्सनमा उनलाई पोखरा एभेन्जर्सले ११ लाख ५० हजार रुपैयाँमा खरिद गरेको हो । उनी क्याटेगोरी ‘ए’ मा रहेका थिए । उनको न्यूनतम मूल्य १० लाख रुपैयाँ ताकिएको थियो ।

यसैगरी, प्रभावशाली खेलाडी अविनाश बोहरालाई सुदूरपश्चिम रोयल्सले किनेको छ । अक्सनमा उनका लागि सुदूरपश्चिम रोयल्सले १२ लाख रुपैयाँ खर्चिएको हो । ‘ए’ क्याटेगोरीमा रहेका अविनाशको न्यूनतम मूल्य १० लाख रुपैयाँ निर्धारण गरिएको थियो ।

यसैगरी, शुभ कंसाकारले जनकपुर बोल्ट्सबाट आगामी एनपीएल खेल्ने भएका छन् । अक्सनमा उनलाई जनकपुर बोल्ट्सले पाँच लाख रुपैयाँमा खरिद गरेको हो । उनको न्यूनतम मूल्य दुई लाख रुपैयाँ ताकिएको थियो ।  

यसैगरी, तिलकराज भण्डारीलाई लुम्बिनी लायन्सले आफ्नो टोलीमा आबद्ध गरेको छ । अक्सनमा लुम्बिनी लायन्सले तिलकका लागि १० लाख रुपैयाँ खर्चियो । ‘बी’ क्याटेगोरीमा रहेका तिलकको न्यूनतम मूल्य पाँच लाख रुपैयाँ तोकिएको थियो ।

यसैगरी, दीपेश श्रेष्ठले चितवन राइनोजबाट आगामी एनपीएल खेल्ने भएका छन् । अक्सनमा उनलाई चितवन राइनोजले पाँच लाख रुपैयाँमा खरिद गरेको हो । क्याटेगोरी ‘बी’ मा रहेका उनको न्यूनतम मूल्य पाँच लाख नै तोकिएको थियो ।

अक्सनमा एक सय ४२ जना खेलाडी सहभागी छन् । एनपीएल क्रिकेट आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । एनपीएलमा आठ टोली सहभागी छन् ।

सहभागी टोली विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप