आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

बाढीमा परी मृत्यु भएकाका परिवारलाई राहत रकम प्रदान

आइतबार, २० असोज २०८१, १६ : २२
आइतबार, २० असोज २०८१

बरहथवा । बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका दुई परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले राहत रकम पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् । प्रजिअ अधिकारीले मृत्यु भएका दुई परिवारलाई जनही दुई लाख बराबरको चेक हस्तान्तरण गरिएको जानकारी दिए ।

गत असोज १२ गते बागमती नदीमा आएको बाढी बाँध फुटाएर गाउँ पस्दा जिल्लाको दक्षिण पश्चिम बलरा नगरपालिका–३, लक्ष्मीपुरका १३ वर्षीय अङ्कित ठाकुर र वडा नम्बर(१, हथियौलका २७ वर्षीय पवन गिरीको मृत्यु भएको थियो ।  उनीहरु दुवै जनाको शव खोजीको क्रममा तेस्रो र चौथो दिन फेला परेको थियो । दुवै जनाका परिवारलाई घरमै पुगेर राहत स्वरुप सङ्घीय सरकारले निर्णय गरेको रकम प्रदान गरिएको हो ।

त्यसैगरी पालिकाका दुई पीडित परिवारलाई बलरा नगरपालिकाले पनि जनही एक–एक लाख राहत रकम प्रदान गर्ने निर्णय गरेको बलरा नगरपालिका प्रमुख रामाशङ्कर प्रसाद कुशवाहाले जानकारी दिए । विपन्न पीडित परिवारलाई सोही राहत रकमबाट मिलान गर्ने गरी तत्काललाई काजकिरियाको लागि शुक्रबार मात्र जनही रु २५ हजार रकम उपलब्ध गराएको उनको भनाइ थियो ।

यस्तै अविरल वर्षापछि सोती खोलामा आएको बाढीले बगाएर सर्लाहीको बागमती नगरपालिका–९, सक्रौल टोलका १४ वर्षीय मुकेश महतोको पनि मृत्यु भएको थियो । महतो परिवारलाई पनि राहत स्वरुप रु दुई लाख प्रदान गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप