आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
सहकारी प्रकरण

आफ्नै मतदाताबाट लखेटिएका हुन् रवि लामिछाने ?

रास्वपा भन्छ– सहकारी पीडितको आवरणमा कांग्रेस–एमालेको प्रतिशोध
आइतबार, २० असोज २०८१, १५ : ४३
आइतबार, २० असोज २०८१

काठमाडौँ । सार्वजनिक सुनुवाइ तथा मतदाता र कार्यकर्ता भेट्न चितवन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेविरुद्ध नाराबाजी भएको छ । लामिछाने शुक्रबार चितवन पुगेका थिए । शनिबारसम्म चितवन बसेर कार्यक्रममा सहभागी उनीविरूद्ध नाराबाजी भयो । उनको कार्यक्रम बिथोल्ने प्रयास भए ।

सहकारी बचत अपचलनमा संलग्न भएको भन्दै सहकारी पीडितहरूबाट उनीविरूद्ध नाराबाजी भएको दाबी गरिएको छ । लामिछानेविरूद्ध शुक्रबार र शनिबार दुवै दिन चितवनमा प्रदर्शन भएको थियो । शुक्रबार मुग्लिन बजारमा सहकारी पीडितहरूले रवि लामिछानेविरुद्ध नाराबाजी गरेका थिए । शनिबार भने नारायणी कला मन्दिरको कार्यक्रममा सहकारी पीडितहरूले लामिछानेलाई भेट्न खोजेपछि तनावपूर्ण स्थिति सिर्जना भएको हो ।

रविको शनिबारको कार्यक्रममा ढुङ्गा हानाहानको स्थिति सिर्जना भयो । भिड तितरबितर पार्न प्रहरीले लाठीचार्ज नै गर्नुप¥यो । प्रहरीले लाठी प्रहार गर्दा आफ्नो गुनासो राख्न पुगेका सहकारी पीडितहरू घाइते भए । सहकारी पीडित र युवाहरू कार्यक्रमस्थलमा प्रवेश गर्न खोज्दा गेटभित्रबाट ढुङ्गा प्रहार भएको थियो ।

सहकारी पीडितहरूसँगै नेपाली कांग्रेस र नेकपा एमाले निकटका केही युवा पनि कार्यक्रम स्थलमा छिर्न खोजेपछि ढुङ्गा हानाहानको वातावरण बनेको थियो ।

पटक–पटक भेटेर गुनासो राख्दासमेत रविले बेवास्ता गरेको आरोप चितवनका सहकारी पीडितको छ । रविकै पार्टीमा जोडिएकाहरू पनि सहकारी पीडित छन् । उनीहरू संसदीय छानबिन समितिको प्रतिवेदन आएपछि पार्टी छोड्न थालेका छन् ।

भरतपुर महानगरपालिका–१० का पार्टी सचिव थिए शालिकराम दुवाडी । सहारा सहकारी पीडित समितिका संयोजक रहेका उनले हाल रास्वपा परित्याग गरिसकेका छन् ।

Capture

सभापति लामिछाने चितवन २ नम्बर क्षेत्रबाट निर्वाचित सांसद हुन् । उनले २०७९ को आमनिर्वाचन र २०८१ मा भएको उपनिर्वाचन यही क्षेत्रबाट जितेका हुन् । दोस्रो पटक ऐतिहासिक मतसहित निर्वाचित भएका उनीप्रति पछिल्लो समय भने जनतामा आक्रोश बढ्न थालेको छ । कारणचाहिँ सहकारी बचत अपचलनै रहेको छ ।

सूर्य थापा नेतृत्वको सहकारी छानबिन विशेष संसदीय समितिले रवि प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा ६५ करोडभन्दा बढी रकम विभिन्न सहकारीबाट गएको निष्कर्ष निकालेको छ । लामिछाने सहकारीबाट पैसा लान संलग्न नदेखिए पनि सहकारीबाट गएको पैसा खर्च गर्नमा संलग्न देखिएकाले कारबाही गर्न समितिले सरकारलाई निर्देशन दिएको छ । त्यसैले पनि चितवनमा रविप्रतिको आक्रोश झिल्को बनेर उदाएको छ ।

गोरखा मिडिया नेटवर्कमा सहारा सहकारीबाट ४७ करोड रुपैयाँ हाराहारीमा पैसा गएको छ । यो सहकारी रविको निर्वाचन क्षेत्र चितवन २ मै पर्छ । त्यसैले समितिको प्रतिवेदन आएपछि चितवनमा रविमाथि प्रहार हुन थालेको उनकै दलका एक नेता बताउँछन् । सहारा सहकारीका ४४६ बचतकर्ताले प्रहरीमा उजुरी दिएर आफ्नो बचत फिर्ता गराइदिन माग गरेका छन् ।

रास्वपा उपसभापति अर्याल भन्छन्– कांग्रेस–एमालेले प्रतिशोध साधे

शुक्रबार र शनिबारको घटनालाई रास्वपाले राजनीतिक प्रतिशोधको रूपमा लिएको छ । कांग्रेस र एमालेले संसदीय समितिको प्रतिवेदनमै दोषी देखाएर रविको राजनीति सिद्ध्याउन नसकेपछि भौतिक आक्रमणमा उत्रिएको बुझाइ रास्वपाको छ ।

पार्टी उपसभापति डोल प्रसाद (डीपी) अर्याल कांग्रेस–एमालेले राजनीतिक प्रतिशोध साधेको बताउँछन् ।

‘समितिबाट ठाउँ पनि नपाएपछि सहकारी पीडितको आवरणमा उहाँहरू (कांग्रेस–एमाले) भौतिक आक्रमण उत्रिएको देखियो,’ अर्यालले भने ।

रास्वपाको बुझाइमा सहकारी पीडितको आन्दोलन नभइ कांग्रेस–एमाले कार्यकर्ताले ढुङ्गामुढा गरेका हुन् । जसको प्रतिकार रास्वपा कार्यकर्ताले पनि गरेको उनको भनाइ छ ।

उपसभापति अर्यालका अनुसार सभापति लामिछाने जाने कार्यक्रममा अवरोध हुने सूचना (अपुष्ट) थियो । सोही बमोजिम गृहमन्त्री, गृह सचिवलाई पार्टीले जानकारी गराएको थियो । यति जानकारी गराउँदा गराउँदै पनि सभापति लामिछानेमाथि भएको आक्रमण निन्दनीय भएको अर्याल बताउँछन् ।

‘उहाँहरूले सिकेर आएको राजनीति त्यही हो । त्यसैलाई निरन्तरता दिन खोज्नुभयो । हामीले हुलदङ्गा र ढुङ्गामुढाको राजनीति गर्नुहुँदैन भन्यौँ,’ अर्यालले थपे, ‘हामीले आक्रमण गर्न लगाएको हो भनेर उहाँहरू (कांग्रेस–एमाले नेता)को भनाइ पनि हाम्रो साथीहरूसँग सुरक्षित छ । आक्रमण निन्दनीय छ ।’

यस आक्रमणका सम्बन्धमा पार्टीले आधिकारिक धारणा बनाइनसकेको तर, गम्भीर छलफलको विषय भएको उनले बताए ।

आफ्नै मतदाताबाट लखेटिनुपर्ने अवस्था आएको हो भन्ने प्रश्नमा उनले भने, ‘लखेट्ने वा लखेटिने कुरै हैन । उहाँहरूले बिथोल्ने प्रयास गर्नुभयो । हामीले हाम्रो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेर आइसकेका छौँ । त्यसमा कसैले लखेट्यो भन्ने प्रश्नै रहँदैन ।’   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप