आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
दसैँ

दसैँले खासै बढाएन बजार, महँगी भने बढ्यो

आइतबार, २० असोज २०८१, १५ : ४३
आइतबार, २० असोज २०८१

काठमाडौँ । दसैँ सुरु भएसँगै आवश्यक सरसामानको किनमेल सुरु भएको छ । यतिबेला उपभोक्ताहरू दसैँका लागि आवश्यक सामग्रीको जोहोमा लागेका छन् ।

हिजो (शनिबार) राजधानी काठमाडौँका मुख्य व्यापारिक क्षेत्रहरूमा उपभोक्ताको भीड देखिन्थ्यो । दसैँमा खाद्यान्न, लत्ताकपडा, माछामासुदेखि मोबाइल, टिभी लगायत इलेक्ट्रोनिक्स सामग्रीको माग उच्च हुन्छ । फूलपाती सुरु हुन अब तीन दिन मात्रै बाँकी छ । फूलपातीको दिनदेखि किनमेल गर्नेहरू लगभग हुँदैनन् । उक्त दिन मोटरसाइकल, गाडी लगायतको व्यापार भने उच्च हुन्छ । व्यवसायीहरू भने दसैँको किनमेल गर्ने दिन लगभग सकिनै लाग्दा पनि व्यापार अपेक्षित नभएको बताउँछन् । 

नेपाल तयारी पोसाक संघका उपाध्यक्ष भूपेन्द्रकुमार बस्नेत दसैँ सुरु भइसक्दा पनि चहलपहल अपेक्षित नभएको बताउँछन् । जबकि दसैँमा लुगाकपडा सबैभन्दा बढी माग हुने वस्तुमा पर्छ । ‘अरू सामान्य बेलासँग तुलना गर्दा व्यापार २०० प्रतिशत बढेको छ, तर आजको दिनसम्म गएको दसैँमा भएको व्यापारको आधा पनि छैन,’ बस्नेतले भने, ‘अब दुई तीन दिन पनि छैन । तर पनि बजारको माग गत वर्षको आधा जति मात्रै छ ।’ 

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको उद्योग समितिका सभापति राजेशकुमार अग्रवालले थोक व्यवसायीहरूले गत वर्षजस्तो माग नगरेको बताए । ‘अघिल्ला दसैँहरूमा दसैँका लागि एक महिनाअघि नै थोक अर्डर आउँथ्यो । अहिले त्यसको ५० प्रतिशत पनि पुगेको छैन,’ उनले भने, ‘अघिल्ला एक, दुई वर्षभन्दा यो पटक बढ्छ कि भन्ने थियो । तर सोचेजस्तो हुन सकेन ।’ काठमाडौँबाट उपत्यका बाहिर जाने थोक सामान गत वर्षजति नगएको उनको भनाइ छ । 

खुद्रा व्यवसायीहरू पनि गत वर्षको जस्तो व्यापार नभएको बताउँछन् । नेपाल खुद्रा व्यापार संघका सदस्य धुब्रप्रसाद अधिकारी महँगी, बाढीपहिरो लगायत कारणले गत वर्षजस्तो व्यापार नभएको हुन सक्ने बताउँछन् । ‘हरेक सामान बढेर आएको छ । हामीलाई बेच्नै समस्या छ,’ उनले भने, ‘गत वर्षको भन्दा एउटै सामानको मूल्य १० देखि १५ प्रतिशत बढेपछि कसरी बेच्नु ?’ अधिकारीले थोक बजारबाटै हरेक सामान कम्तीमा १० प्रतिशत बढेर आएको बताए ।  

चाडबाडको समयमा पनि अपेक्षित माग नबढ्नुमा थुप्रै कारण रहेको व्यवसायीहरूको भनाइ छ । व्यापारीका अनुसार युवाको पलायन, काठमाडौँबाट देशका ठुला सहर जोड्ने बाटोको बिजोग जस्ता अवस्थाले लगायतले व्यापार अपेक्षित नभएको बताउँछन् । विगतमा एक दिनमै पुग्ने ठाउँमा समेत बाटोले गर्दा दुई–तीन दिन लाग्न थालेको छ । बाढीपहिरो र बाटोले गर्दा सबैलाई आआफ्नो घरसम्म कसरी पुगौँ भन्ने छ । यसले गर्दा सामान लिएर जाने अवस्था धेरेको छैन । अधिकारी भन्छन्, ‘घर जानै सकस भएपछि किनमेल नगरेको हुन सक्छन् । आम्दानी नबढ्ने तर महँगी हरेक वर्ष बढ्दा पनि उपभोक्तालाई समस्या परेको हुनसक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप