सौराहाको पर्यटनमा पर्यो बस र हेलिकप्टर दुर्घटनाको असर
केही समयपहिले पर्यटकको आगमनले सधैँ गुल्जार हुने सौराहा अहिले सुनसानजस्तै छ । पहिले वार्षिक दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने सौराहामा अहिले मुस्किलले क्षमताभन्दा ८० प्रतिशत कम पर्यटक आउने गरेका छन् । स्थानीय होटल व्यवसायीका अनुसार सौराहामा सात हजारभन्दा बढी पर्यटकको क्षमता भए पनि पाँच–सात सय मात्र पर्यटक आउने गरेका छन् ।
सन् १९७३ मा स्थापित चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेश क्षेत्र हो, सौराहा । राप्ती किनारबाट सुरु हुने सौराहाको यात्रा चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरासम्म पुग्छ । सौराहा र कसरा बिचको दूरी ३६ किलोमिटर रहेको छ भने उक्त दूरीको यात्रा करिब ५ घण्टामा पार गर्न सकिन्छ ।
सौराहा वन्यजन्तु अवलोकन, पदयात्रा, जंगल वाक तथा साहसिक पर्यटनका लागि परिचित छ । हात्ती प्रजनन केन्द्र, गैँडा प्रजनन केन्द्र, हात्ती सफारी, जिप सफारी सौराहा पर्यटनको प्रमुख आकर्षण हुन् ।
थारु संस्कृति सौराहा पर्यटनको अर्को आकर्षणको केन्द्र हो । चितवन राष्ट्रिय निकुञ्जका भेटिने वन्यजन्तुसँगै एकसिङे गैँडा र पाटे बाघ पनि पर्यटक आकर्षणका केन्द्र हुन् । यस्तै, रामसार क्षेत्र, बिसहजारी ताल सौराहामा पर्यटकको नजर पुग्ने क्षेत्र हो ।
क्षेत्रीय रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहाका अध्यक्ष ध्रुव गिरीका अनुसार अचेल सौराहामा सोचेझैँ पर्यटकको चहलपहल हुन सकेको छैन । मौसमको प्रतिकूलतासँगै विभिन्न कारण सौराहाको पर्यटकीय चहलपहल अत्यन्त न्यून रहेको उनले बताए । ‘पर्यटकको बसाइ अवधि बढाउन सकिएको छैन । राष्ट्रिय निकुञ्ज प्रवेश अनुमति एक दिनको मात्र हुँदा पर्यटकहरूको बसाइ अवधि कम भइरहेको छ,’ उनले भने, ‘सौराहामा विद्युत् प्रवाहको समस्या पनि छ । विद्युत् भोल्टेज निकै कम छ । जसले गर्दा बेलाबेला फ्रिज र एसी चल्दैन । यसले गर्दा आएका स्वदेशी, विदेशी पर्यटक पनि एक–दुई रातभन्दा बढी बस्ने गरेका छैनन् ।’
उनका अनुसार, पार्क इन्ट्रान्स पनि न्यूनतम तीन–चार दिनको गराउनुपर्ने देखिन्छ । त्यसले सरकारको राजस्व समेत बढ्ने र विदेशी पर्यटकको बसाइ अवधि समेत बढ्ने उनको भनाइ छ ।
पर्यटकको बसाइ अवधि बढाउन सकिएको छैन । राष्ट्रिय निकुञ्ज प्रवेश अनुमति एक दिनको मात्र हुँदा पर्यटकहरूको बसाइ अवधि कम भइरहेको छ ।
सौराहाको पर्यटनमा पछिल्लो समय दुर्घटनाले पनि प्रभाव पारेको उनको बुझाइ छ । उनका अनुसार, नेपालमा भएका बस र हेलिकप्टर दुर्घटनाका कारण पनि विदेशी पर्यटक कम आएका छन् । ‘स्वदेशी पर्यटकहरू पनि सडकका कारण आउन नचाहेको देखिन्छ,’ अध्यक्ष गिरीले भने ।
काठमाडौँदेखि चितवनसम्मको बाटोको अवस्था निकै दयनीय छ । यस विषयमा सरकारले गम्भीर भएर सोच्नुपर्ने उनी बताउँछन् । उनका अनुसार, बाटोका कारण काठमाडौँदेखि चितवन पुग्न एक दिनभरि यात्रा गर्नुपर्ने अवस्था छ । नेपालमा आउने अधिकांश पर्यटक ट्रेकिङका लागि आउँछन् । उनीहरूको गन्तव्य पोखरा, हिमाली क्षेत्र हुन्छ ।
‘मार्केटिङको अभावले पनि सौराहामा पर्यटक भित्र्याउन सकिएको छैन । वाइल्ड लाइफ टुरिजम, नेसनल पार्क, वन्यजन्तुका विषयमा पर्यटकलाई जानकारी गराउन सकिएन,’ उनी भन्छन्, ‘राष्ट्रिय निकुञ्जको प्रचार हुन सकेको छैन भने सुरक्षित यात्राका लागि सडक पूर्वाधार कमजोर छ ।’
उनका अनुसार हवाई टिकटको विषयले पनि सौराहाको पर्यटनलाई प्रभावित बनाएको छ । नेपाली र विदेशी पर्यटकको टिकट दरमा निकै फरक छ । नेपालीले चार हजार ५०० रुपैयाँमा हवाई सेवा प्रयोग गर्दा विदेशीले १२० डलर खर्च गर्नुपर्ने अवस्था छ ।
क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष गंगा गिरीका अनुसार, सौराहामा एक दिनमा ६ हजार ४०० पर्यटकको व्यवस्थापन गर्न सकिन्छ । सौराहा आसपासको क्षेत्रलाई समेत हेर्दा एक दिनमै सात हजार २०० भन्दा बढी पर्यटकलाई व्यवस्थापन गर्न सकिने उनी बताउँछन् ।
२०८०/८१ को तुलनामा चालु आर्थिक वर्षमा सौराहा आउने पर्यटकहरू घटेको उनले बताए । ‘विशेष गरी सडक पूर्वाधार स्तरीय नहुँदा पर्यटक सौराहा आउन चाहँदैनन् । अहिले राष्ट्रिय निकुञ्जभित्रको पर्यटकीय गतिविधि बन्द छ । सामुदायिक वन क्षेत्रमा भने सफारी तथा कावाहरू गर्न सकिन्छ । राष्ट्रिय निकुञ्जभित्रको सफारी लगायत कार्यक्रम केही दिनमै खुल्छन्,’ गंगा भन्छन्, ‘प्रतिव्यक्ति दुई हजार रुपैयाँको टिकटले एक दिन मात्र पार्क घुम्न पाइन्छ । पार्क प्रवेश अनुमति एक साताको बनाउन सकेको खण्डमा सौराहा ट्रान्जिट प्वाइन्ट बन्ने र सौराहाको बसाइ लम्बिएर आसपासको गाउँ तथा पर्यटकीय क्षेत्रको अवलोकन गराउन सकिने थियो ।’
यसो गर्दा चितवनको माडी, चेपाङ डाँडा, शक्तिखोर, मेघौली लगायत क्षेत्रमा पर्यटक पुग्ने उनको भनाइ छ ।
सौराहाको पर्यटन विकासमा रत्ननगर नगरपालिका, माडी नगरपालिका, भरतपुर महानगरपालिका, कालिका नगरपालिकाका र स्थानीय जनप्रतिनिधिको भूमिका बढी रहने अध्यक्ष गंगा गिरी बताउँछन् । सौराहामा आउने वार्षिक दुई लाख पर्यटकलाई माडी, भरतपुर, रत्ननगर, कालिका लगायत क्षेत्रमा पुर्याउन सके पर्यटन विकासमा थप सहयोग हुने उनको भनाइ छ ।
‘स्थानीय तहका प्रमुखको भूमिका रहनुपर्छ । हालसम्म त्यस विषयमा चासो पुग्न सकेको देखिँदैन,’ उनी भन्छन्, ‘चितवनको प्रचारका लागि मार्केटिङ पोलिसी नै बन्न सकेन । प्रचार–प्रसारको रणनीति र योजना नै बन्न सकेन । कुनै जाति विशेषको कुल पूजा गर्न पर्यटन विकास बोर्डले लाखौँ रुपैयाँ बजेट व्यवस्था गर्छ, पर्यटन प्रवर्द्धनको प्रचार–प्रसारमा भने बजेट हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गर्यो : महासचिव पोखरेल
-
१० बजे १० समाचार : प्रमको चीन भ्रमणको चर्चादेखि उपनिर्वाचनको हलचलसम्म
-
टिकटकले नेपालमा हटायो ६ हजार ७८ भिडियो
-
नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त वक्तव्यमा के छ ?
-
कर्णाली याक्सबाट एनपीएल खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा
-
सूर्यदर्शन सहकारीको ऋण उठाउन समिति गठन