आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा श्रीलंकाली पर्यटक धेरै, सडकले घटायो आन्तरिक पर्यटक

आइतबार, २० असोज २०८१, १८ : ००
आइतबार, २० असोज २०८१

बुटवल । लुम्बिनीमा सन् २०२४ को सेप्टेम्बरसम्म (८ महिना) ६ लाख १२ हजार ४७७  पर्यटकको आगमन भएको छ । 

लुम्बिनी विकास कोषका अनुसार सन् २०२४ को जनवरीदेखि अगस्टसम्म भारतका एक लाख ७१ हजार ६५१ पर्यटक लुम्बिनी आएका छन् । भारतबाहेक अन्य ९२ देशका ५९ हजार ६६१ पर्यटक आएका छन् । यस्तै यो अवधिमा तीन लाख ८१ हजार १६५ आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरे ।

राहदानीवाहक अर्थात् भारतबाहेक अन्य मुलुकमध्ये यो आठ महिनाको अवधिमा सबैभन्दा धेरै पर्यटक श्रीलङ्काबाट आएका छन् । दोस्रो नम्बरमा थाइल्यान्डका छन् । श्रीलङ्काका १३ हजार ८९६ जना आउँदा थाइल्यान्डका १२ हजार ५३६ जना आएको लुम्बिनी विकास कोषका जनसम्पर्क अधिकृत एवं सूचना अधिकारी डा. हरिध्वज राईले रातोपाटीलाई बताए ।

गत वर्ष आठ महिनामा एक लाख ५१ हजार भारतीय लुम्बिनी आएका थिए भने यस वर्षको सोही अवधिमा एक लाख ७१ हजार आए । यो १२ प्रतिशतभन्दा बढीको वृद्धि हो ।

उनका अनुसार तेस्रो मुलुकमध्ये लुम्बिनीमा धेरै पर्यटक आउनेमा चीन तेस्रो नम्बरमा छ । चीनका सात हजार ५७६ जना आएका छन् ।

गत वर्षको आठ महिनाको अवधि (सेप्टेम्बरसम्म)मा लुम्बिनीमा तेस्रो मुलुकका २८ हजार पर्यटक आएका थिए । अहिले  सोही अवधिमा ५९ हजार ६६१ पर्यटक आएका छन् । 

गत वर्ष आठ महिनामा एक लाख ५१ हजार भारतीय लुम्बिनी आएका थिए भने यस वर्षको सोही अवधिमा एक लाख ७१ हजार आए । यो १२ प्रतिशतभन्दा बढीको वृद्धि हो । 

  • आन्तरिक पर्यटक किन घटे ?

लुम्बिनी विकास कोषको रेकर्ड अनुसार, पछिल्ला आठ महिनामा अन्य मुलुकबाट आउने पर्यटकको संख्या वृद्धि भए पनि लुम्बिनी भ्रमण गर्ने आन्तरिक पर्यटक घटेका छन् ।

गत वर्षको आठ महिनामा तीन लाख ९७ हजार ६४२ आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेकामा यो वर्ष तीन लाख ८१ हजार १६५ लुम्बिनी भ्रमण गरेका छन् । जुन ४.१४ प्रतिशतले कम हो ।

लुम्बिनी अहिले आन्तरिक पर्यटक कम आउनु मुख्य कारण सडक रहेको धेरैको बुझाइ रहेको छ । बुटवल–नारायणगढ सडक निर्माणाधीन अवस्थामा छ । उक्त सडक हुँदै आउनका लागि निकै समय लाग्ने  भएकाले पोखरा, चितवन आएका आन्तरिक पर्यटक लुम्बिनी आउन अहिले अप्ठेरो मान्ने गरेको सूचना अधिकारी डा. राईको भनाइ छ ।

‘अधिकांश आन्तरिक पर्यटक गाडीमा आउने हुन् । बुटवल–नारायणगढ सडकखण्डको अवस्था लथालिङ्ग छ । जसले पर्यटक दुःख गरेर लुम्बिनी आउन रुचाउँदैनन्,’ राई भन्छन् ।

होटल व्यवसायी संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीका अनुसार, नेपालगन्ज, पाल्पा, प्युठान आएका पर्यटक लुम्बिनीसम्म आउने गर्थे तर चितवनबाट सडकमार्ग हुँदै आउन पछिल्लो समय असहज अवस्था छ ।

लुम्बिनी आर्थिक अनुसन्धान केन्द्रका संयोजक होमराज भुसाल पछिल्लो समय आर्थिक गतिविधि पनि कम भएकाले आन्तरिक पर्यटक घटेको हुन सक्ने बताउँछन् । ‘घुम्ने भनेको मानिससँग पैसा भएर हो, पैसा कम भएपछि घुम्नभन्दा अरू आवश्यकतातिर ध्यान जान्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप