‘पर्यटन पूर्वाधारका लागि कति भन्यौ भन्यौ, हाम्रो कुरा कसले मान्ने ?’
‘अपर जीएचटी’ अन्तर्गत आरोहण खुला भएका सबै हिमालको बेस क्याम्पसम्म रुट व्यवस्थापन गर्ने र उत्तर–दक्षिण ‘एडभेन्चर रुट’को विस्तार गर्ने काम भइरहेका छन् । ‘लोअर जीएसटी’मा चाहिँ ‘कल्चरल रुट’को अवधारणमा देशभरि काम भइरहेका छन् ।
०००
पर्यटन विभाग, योजना पूर्वाधार तथा अनुगमन शाखा प्रमुख सचिन्द्रकुमार यादवलाई हामीले सोध्यौँ— पर्यटन क्षेत्रको विकास र विस्तारका लागि विभागले के गरिरहेको छ ?
प्रस्तुत छ, यसै प्रश्नमा आधारित उनीसँगको संवादको सम्पादित अंश :
- पर्यटन क्षेत्रको विकास र विस्तारका लागि विभागले के गरिरहेको छ ?
पर्यटन क्षेत्रको विकासमा हामी एक्लैले मात्रै गर्ने भन्ने हुँदैन । यसमा सबै सरोकारवाला निकाय र क्षेत्रको उत्तिकै भूमिका हुन्छ । हामीले हाम्रो कार्यक्षेत्रभित्र रहेका ‘ग्रेट हिमालयन ट्रेल’ र हरेक प्रदेशमा एक–एकवटा पर्यटकीय गन्तव्य तथा हिल स्टेसन बनाउने काम गरिरहेका छौँ ।
ग्रेट हिमालयन ट्रेललाई पनि ‘लोअर जीएचटी’ र ‘अपर जीएचटी’ मा विभाजन गरेर काम अगाडि बढाएका छौँ । ‘अपर जीएचटी’ अन्तर्गत आरोहण खुला भएका सबै हिमालको बेस क्याम्पसम्म रुट व्यवस्थापन गर्ने र उत्तर–दक्षिण ‘एडभेन्चर रुट’को विस्तार गर्ने काम भइरहेका छन् ।
‘लोअर जीएचटी’मा चाहिँ ‘कल्चरल रुट’को अवधारणमा देशभरि काम भइरहेका छन् । उपत्यका वरिपरि डेढ सय किलोमिटर रुट तयार भएको छ । कोशीको माईपोखरीदेखि सुदूरपश्चिमको घोडाघोडी तालसम्म प्रत्येक प्रदेशमा एक–दुई स्थान छनोट गरेर काम गरिरहेका छौँ । ती क्षेत्रको व्यवस्थापन गर्ने, सौन्दर्यीकरण गर्ने, वरिपरि साइकल ट्रेक बनाउने काम भइरहेको छ । यी क्षेत्र आन्तरिक र बाह्य दुवै पर्यटकलाई लक्षित हुन् ।
- ग्रेट हिमालयन ट्रेल अन्तर्गत कोही पर्यटक अहिले पूर्व वा पश्चिम कुनै बिन्दुबाट यात्रा सुरु गर्यो भने कहाँसम्म पुग्न सक्छ ?
ट्रेल छ तर त्यो विभिन्न प्राकृतिक तथा अन्य कारणले सधैँ खुला राख्न सम्भव भइरहेको छैन । त्यसकारण हरेक वर्ष खोल्ने, बन्द गर्ने गरिरहेका छौँ । हाम्रो अहिलेको सोच के हो भने उत्तर–दक्षिण रुटमा हरेक दुई घण्टामा पोर्टर सेन्टर, रेस्क्यु सेल्टर, हेलिप्याड र हरेक खोँचमा झोलुङ्गे पुल बनाउने हो । ट्रेलका लागि यी अत्यावश्यक हुन् ।
माथिल्लो क्षेत्रमा बाटो बनाउने भन्ने हुँदैन । किनभने हरेक वर्ष हिउँ पर्छ । धेरै बाक्लो हिउँ परेर बाटो नदेखिँदा बाटो बिराएर पर्यटक हराउने समस्या पनि छ । त्यहाँ हामीले पर्यटकलाई सुरक्षित तरिकाले हिँड्ने व्यवस्था गर्दै छौँ । एड्भेन्चर नै गर्न जाने भएकाले मान्छे नहराउनका लागि ठुला पिल्लर गाडेर संकेत चिह्न दिने, एउटा पिल्लरबाट अर्को पिल्लरमा पुग्ने सजिलो व्यवस्था गर्दै छौँ । यसका लागि बजेटको खोजीमा छौँ । यो हिमालयन रुट त लगभग दक्षिण एसियामै फैलिएको छ । नेपाल, भारत, बंगलादेश, अफगानिस्थान, पाकिस्तान, भुटानसम्म छ ।
- कतिपय प्राकृतिक रुटमै सजिलो रुटमा पनि सिँढीहरू प्रयोग गरिएका छने । सिँढीमा पनि ढुङ्गा, माटो नभएर सिमेन्ट नै छ, यो आवश्यक हो ?
यो कुनै कुनै रुटमा आवश्यक पनि छ । हाई अल्टिच्युडका रुटमा यस्तो बनाइएको छैन । मध्यपहाडका क्षेत्रमा चाहिँ कहीँकहीँ प्रयोग भएको छ । ठाडो उकालो, भीर लगायतमा त सुरक्षाको लागि पनि बनाउनुपर्छ । तर विभागले बनाएको क्षेत्रमा कंक्रिटको प्रयोग निकै कम भएको छ । बनाएका केही स्थानमा पनि हामीले ‘फ्ल्याग स्टोन’ जुन प्राकृतिक हो, त्यही प्रयोग गरेका छौँ । तर पछिल्लो समय अन्य सरकारहरूले हामीसँग समन्वय नगरीकन मनलाग्दी तरिकाले काम पनि गरिरहेका छन् । आफैँ सरकार भएको कारणले र अधिकार भएका कारण हामीसँग सल्लाह गर्न आवश्यक पनि रहेन हुन त । तैपनि प्रकृतिलाई बिगार्ने खालको संरचना नबनाइदिए हुन्थ्यो भन्ने हामीलाई पनि लाग्छ ।
- पर्यटकको बसाइँ लम्ब्याउन विभागले के गरिरहेको छ ?
विभागले अलि ठुला परियोजनामा काम गर्छ । विशेष गरी विदेशी पर्यटक लक्षित हाम्रा योजना हुन्छन् । त्यस कारण विभागसँगै निजी क्षेत्र, अन्य सरकारी निकाय सबै जिम्मेवार भएर काम गरे पर्यटकको बसाइँ बढाउन सकिन्छ ।
अहिले हामी धार्मिक पर्यटकको सुरक्षा र सहजतामा बढी केन्द्रित छौँ । तलबाट जाने पर्यटकलाई लेक लाग्ने समस्या भएका कारण मुस्ताङमा रेस्क्यु सेन्टर बनाएका छौँ । पाथीभरमा पनि भर्खरै बनाएका छौँ । यी सेन्टर स्थानीय तहलाई हस्तान्तरण गर्न चाहिँ बाँकी छ । स्वास्थ्यकर्मी र आवश्यक आधारभूत औषधि स्थानीय तहले व्यवस्थापन गरून् भन्ने हाम्रो बुझाइ हो । यी सेन्टरमा प्राथमिक उपचार हुन्छ । केही समय आराम गर्न मिल्छ । पर्यटकलाई सबै हिसाबले सुरक्षित महसुस गराउन सकियो भने बसाइँ स्वतः बढ्छ ।
- विभागको कार्यक्षेत्र त होइन तर सडक तथा हवाई पूर्वाधार लगायतको अवस्था बिजोग छ । यी क्षेत्र अलि सुधार्नुपर्यो भनेर अर्को निकायसँग छलफल गर्नुहुन्छ कि हुँदैन ?
पर्यटनको आगमन र बसाइ लगायतमा यस्ता थुप्रै कुराले प्रभाव पारिरहेका छन् । हामीले ठुला योजना र कार्यक्रम बनाउँदै गर्दा पर्यटकलाई भने दैनिक आधारभूत कुराले समस्या पारेको हुन्छ ।
सडक पूर्वाधारको विकास, सार्वजनिक शौचालय, राजमार्गका होटल लगायतमा सुधार आवश्यक छ लगायत पर्यटन पूर्वाधारका लागि कति भन्यौँ, भन्यौँ । हामीले त सहरी फुटपाथ र ‘वाक वे’ हामी बनाउँछौँ भनेर प्रस्ताव गरेका थियौँ । रोड फर्निचरभित्र पर्ने यस्ता कुराको विकासले पर्यटकको आवतजावतमा सहजता ल्याउँथ्यो, तर हाम्रो कुरा कसले मान्ने ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमरश्मि भलिबलमा न्युटन च्याम्पियन
-
भिल्लासँगको हारपछि थप संकटमा सिटी
-
सामाजिक सञ्जालमा जथाभाबी लेख्न राप्रपाको अङ्कुश, केन्द्रीय समिति बैठक आह्वान
-
राप्रपा बैठकको १० बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)
-
उपनिर्वाचनमा लज्जास्पद पराजय भोग्नुको कारण खोज्न राप्रपाले बनायो समिति
-
भियतनामी क्रान्ति : साम्राज्यवादका विरुद्ध जनताले लडेको गौरवशाली युद्ध