शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र र समाजमा पर्यटनको ‘चेन इफेक्ट’

आइतबार, २० असोज २०८१, १८ : ००
आइतबार, २० असोज २०८१

पर्यटन प्रवर्द्धन गर्ने जिम्मा लिएको संस्था नेपाल पर्यटन बोर्ड हो । यसको परिकल्पना प्राइभेट–पब्लिक पार्टनरसिप (पीपीपी)का आधारमा गरिएको हो । व्यवसाय प्रवर्द्धनका लागि बनाइएको यो उत्कृष्ट नमुना हो, तर यसले पछिल्लो समय निकै बाटो बिराएको छ । राजनीतिक हस्तक्षेप लगायत विविध कारणले यसले गर्नुपर्ने काम गर्न सकेको छैन । यसको विकल्प छैन तर सुधार चाहिँ आवश्यक छ । 

पर्यटन क्षेत्रको विकासका लागि एउटा मात्रै क्षेत्र सक्रिय भएर हुँदैन । यसमा बहुआयामिक पक्ष जोडिन्छन् । पर्यटन क्षेत्रसँग प्रत्यक्ष जोडिएका क्षेत्रको जति भूमिका छ, नजोडिएका क्षेत्रको भूमिका पनि उत्तिकै छ । पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सिंगो समाज नै एकजुट हुन आवश्यक छ । 

नियमन छैन, कुन क्षेत्र र कति पूर्वाधार भएका होटलले कति शुल्क लिने मापदण्ड छैन । सरसफाइको कुनै मतलब छैन ।

पहिलो कुरा पर्यटकलाई नेपाल सुरक्षित त भन्ने आभास दिलाउनुपर्छ । यसमा हवाई तथा सडक सुरक्षाको मात्रै सवाल होइन । सबै क्षेत्रबाट पर्यटकका लागि नेपाल सुरक्षित भएको महसुस दिलाउन सक्नुपर्छ । हाम्रो हवाई र सडक सुरक्षामा बारम्बार प्रश्न उठिरहेका छन् । त्यसो त घटनाहरू अरू देशमा पनि हुन्छन् तर तुलनात्मक रूपमा नेपालमा बढी क्षति भएको पाइन्छ । त्यस कारण नेपालले आफूले आफूलाई सुरक्षित छु भनेर विश्वमा देखाउनै सकेको छैन । । यसमा झन् हाम्रो हवाई क्षेत्र दशकभन्दा बढी समयदेखि लगातार ईयूको कालोसूचीमा छ । 

अर्को कुरा, हाम्रो देशमा हिमालयन ट्राभल रुटहरूमा सरकारी क्षेत्रको उपस्थिति हुनै सकेको छैन । हिमाली क्षेत्रहरूको सुविधा केही पनि नभएको ठाउँमा असाध्यै चर्को शुल्क छ । तातोपानीदेखि मोबाइल चार्जिङको पैसा लिने ठाउँमा कसरी पर्यटक जान्छन् ? यसमा त विशेष गरी स्थानीय सरकारले ध्यान पुर्‍याउनुपर्ने हो । 

नियमन छैन, कुन क्षेत्र र कति पूर्वाधार भएका होटलले कति शुल्क लिने मापदण्ड छैन । सरसफाइको कुनै मतलब छैन । सस्तो र महँगो रोज्ने पनि हुन्छन् । सस्तो खाने होस् वा महँगो खाने होस्, दुवैले गुणस्तरीय र स्वस्थवर्द्धक खान पाउनुपर्‍यो । यो त हरेक नागरिक र पर्यटकको आधारभूत अधिकार हो । राज्यको अनुगमन चाडबाडका बेला सहरी इलाकामै सीमित छ । यसको दायरा प्रत्येक ट्रेकिङ रुट र ग्रामीण बस्तीसम्म पुर्‍याउनुपर्‍यो । पर्यटक विकास हुनलाई यी सबै विषय मिलेको हुनुपर्छ । 

अहिलेको जमानामा पनि ‘डिजिटल प्रिजेन्स’ नेपालको शून्य छ । हाम्रा प्राकृतिक गन्तव्यको प्रचार विदेशमा शून्य बराबर छ । पहिलेजस्तो हिमाल आरोहणका लागि, ट्रेकिङका लागि नेपालै आउनुपर्ने अवस्था अब छैन । विश्वका थुप्रै देशले यस्तै खालका पर्यटन गतिविधिको सुरुवात गरिसकेका छन् । त्यसकारण नेपाल सधैँ सबै खालका पर्यटन गतिविधिका लागि हो भनेर चिनिनुपर्छ । त्यसको प्रचार विदेशमा पुग्नुपर्छ । 

नेपालमा पर्यटनसम्बन्धी चेतना पनि पुगेको छैन । पर्यटक आएर होटलको मात्रै व्यापार हुने होइन । यसको अर्थतन्त्र र समाजमा ‘चेन इफेक्ट’ पर्छ । यसबाट राज्यका सबै निकाय र सर्वसाधारणलाई लाभ नै हुने हो । नेपालको आर्थिक, सामाजिक रूपान्तरणका लागि पर्यटन क्षेत्रको विकास अत्यावश्यक छ । सरकारले पनि पर्यटनलाई बुझेको भनेर योजना बनाउँछ, भाषण गर्छ तर सो अनुसारको बजेट विनियोजन हुन सकेको छैन । 

थाइल्यान्डले ‘फुड डिप्लोमेसी’ कै कारण पर्यटन क्षेत्रमा फड्को मारिरहेको छ । हाम्रो यस्तो बहुआयामिक सांस्कृतिक चाड र खाना छन् । यसको व्यावसायीकरण गर्न सक्ने प्रशस्त ठाउँ छन् ।

विविध कारणले हामीले पर्यटकका लागि न्यूनतम मापदण्डका पूर्वाधार बनाउन सकेका छैनौँ । विकासको अवधारणा पनि हाम्रो राज्य संयन्त्रले बुझेको छैन । जता पनि कंक्रिट थुपार्नु नै विकास हो भन्ने भावना हुँदासम्म मुलुकको कुनै पनि क्षेत्रले प्रगति गर्न सक्दैन । खासमा प्रकृतिलाई जस्तो छ, त्यस्तै रहन दिएर गतिविधि सञ्चालन गर्न सक्नु पो विकास हो । बचेका ग्रामीण भेग पनि यही गतिमा बिग्रिँदै जालान् भन्ने डर छ । 

विश्वव्यापी रूपमा अहिले ‘नेचर इज दी न्यु लक्जरी’ भन्ने अवधारणाको विकास भइसकेको छ । ‘लोकल एपिरियन्स’ (रैथाने) स्वाद र संस्कारमा रमाउने पर्यटकको संख्या दिनहुँ बढ्दो छ । त्यसकारण पाँचतारे होटलले मात्रै पर्यटनको विकास हुँदैन । प्रकृति जस्तो छ, त्यसमा रमाउने व्यवस्था गर्नुपर्छ । हुम्ला, बझाङ, भोजपुर वा सोलु पुग्ने पर्यटकलाई पिज्जा होइन, स्थानीय रैथाने खानपान र संस्कृति बेच्न सक्नुपर्छ । जुन कुरा संसारको कुनै ठाउँमा पाइँदैन । पिज्जा, मःम र स्विट रुम त संसारभर पाइन्छ । त्यही उपभोग गर्नलाई कोही पर्यटक यहाँसम्म किन आउने ?

थाइल्यान्डले ‘फुड डिप्लोमेसी’ कै कारण पर्यटन क्षेत्रमा फड्को मारिरहेको छ । हाम्रो यस्तो बहुआयामिक सांस्कृतिक चाड र खाना छन् । यसको व्यावसायीकरण गर्न सक्ने प्रशस्त ठाउँ छन् । त्यसकारण पर्यटन क्षेत्रको विकासका लागि मौलिक, रैथाने स्वाद र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ । सबै तहका सरकार यसमा लाग्नुपर्छ । स्थानीय बासिन्दा र पर्यटन व्यवसायीले यस्ता कुरामा ख्याल गर्नुपर्छ । 

(पर्यटनविज्ञ एवं पर्यटन तथा हस्पिटालिटी क्षेत्रको जनशक्ति उत्पादन गर्ने कलेज सञ्चालन गरिरहेका लकाईसँगको कुराकानीमा आधारित ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम लकाई
खेम लकाई
लेखकबाट थप