आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

‘बेहुली फ्रम मेघौली’ ले कस्तो पाइरहेको छ दर्शक ?

आइतबार, २० असोज २०८१, १४ : ०५
आइतबार, २० असोज २०८१

काठमाडौंँ । घटस्थापनाको अवसर पारेर गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ ले बक्स अफिसमा सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । बिहीबार र शुक्रवार सुरुवातको व्यवसाय उत्साहजनक गरेको फिल्मले शनिबार भने देशभर राम्रो व्यवसाय गर्न सफल भएको छ । 

फिल्मको शनिबार देशभरको हलमा राम्रो व्यवसाय गरेको डीसीएन वितरण प्रमुख दीपक दंगालले बताए । पहिलो दिन र दोस्रो दिनमा दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथको कारण शनिबार दर्शक बढेको उनको दंगालको भनाई छ । 

शनिबार फिल्मको निर्माण टिम कलाकारसहित विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया समेत लिएको छ । सो अवसरमा दर्शकले फिल्मप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । हलमा आफ्नो अगाडि अभिनेत्री स्वस्तिमा खड्कालाई देख्दा केहीले अंगालो हालेर रोएका थिए ।

अभिनेता तथा निर्माता निश्चल बस्नेतले दर्शकको साथले निकै खुसी लागेको बताए । उनले फिल्म हेर्ने दर्शकलाई धन्यवाद समेत दिए । दसैँको माहोल भएकाले परिवार सहित ‘बेहुली फ्रम मेघौली’ हेरेर सेलिब्रेसन गर्न उनले आग्रह समेत गरेका थिए ।

‘फिल्मलाई दर्शकको अत्यन्तै राम्रो साथ मिलेको छ’, निश्चलले भने– ‘आगामी दिनमा पनि यस्तै रमाइला र सन्देशमूलक फिल्म निर्माण गर्छु ।’

फिल्मको काठमाडौँ उपत्यकामा मात्रै नभई देशभरका ठुला सहर नारायणगढ, बुटवल, नेपालगन्ज, इटहरी, धरान, विराटनगर, दमक, बिर्तामोड र पोखरा लगायतका ठाउँमा पनि राम्रो दर्शक रहेको वितरक डिसिएनको भनाई छ । 

फिल्ममा निश्चल बस्नेत, स्वस्तिमा खड्का, वसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।

सुजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको फिल्म स्वस्तिमा र निश्चलले मिलेर बनाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप