पूर्वराजालाई भुटानमा रेड कार्पेट : भ्रमणको राजनीतिक सन्देश के ?
काठमाडौँ । आइतबार बिहान ड्रुक एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा समर्थकमाझ हँसमुख देखिएका पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै प्रतिक्रिया दिएनन् । तर उनको भुटान भम्रणले राजनीतिक वृत्तमा चासो बढाएको छ । पूर्वराजाको भ्रमणबारे यतिबेला राजनीतिक र कूटनीतिक महत्त्वका साथै अनेक कोणबाट चर्चा–परिचर्चा सुरु भएको छ ।
रातोपाटीको सम्पर्कमा आएको निर्मल निवासको विश्वस्त एउटा स्रोतले पूर्वराजाको भ्रमण निकै प्रेसरका कारण भएको दाबी गर्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमणलगत्तै पूर्वराजालाई भुटान भ्रमणको निम्ता आएको र धेरै प्रेसर भएपछि मात्रै भ्रमण गरेको उक्त स्रोतको दाबी थियो ।
‘धेरै प्रेसरपछि पूर्वराजा भुटान भ्रमणमा जानुभएको हो । निम्तो आएको धेरै भइसकेको थियो । मोदी भुटान भ्रमणमा गएलगत्तै यता निम्ता आएको थियो,’ स्रोतले भन्यो, ‘उहाँले उपयुक्त समय नभएको भन्दै ढिलाइ गर्दै आउनु भएको थियो । साधारणतया दसैँको नौरथामा नहिँड्ने मान्छे अहिले धेरै प्रेसर परेपछि मात्र जानु भएको हो ।’
पूर्वराजा निकटका औपचारिक स्रोत भ्रमणबारे खुलेर बोल्न चाहँदैनन् । पूर्वराजाका संवाद सचिव फणि पाठकसँग यसबारे बुझ्दा उनी खुल्न चाहेनन् । उनले यतिमात्रै भने, ‘भुटानबाट आज फर्कनु भएको छ । त्यहाँको स्वागत सत्कार सबै देख्नुभयो होला नि !’
पूर्वराजाको भ्रमणलाई भुटानले दिएको महत्त्वबाट निर्मल निवास उत्साहित देखिएको पाठकको भनाइबाट प्रस्ट हुन्छ ।
बिहीबार पूर्वराजा शाह ड्रुक एयरलाइन्सकै जहाजमार्फत दिउँसो थिम्पुस्थित पारो विमानस्थलमा अवतरण गरेका थिए । शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरू शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना थिम्पु पुग्दा भुटानी राजकुमारी पेमा ल्हादेन वाङचुकले स्वागत गरेकी थिइन् । पूर्वराजा निकटहरूबाट प्रकाशमा आएअनुसार विमानस्थलबाट सरकारी गाडीमा उनलाई राजकीय अतिथिगृह पुर्याइएको थियो । अतिथिगृहमा शाही धर्मगुरूबाट अभिषेक र आशीर्वचन प्रदान गरिएको थियो ।
यस्तै पूर्वराजाले भुटानका निवर्तमान राजा जिग्मे सिग्मे वाङचुकसँग डेचेन छोलिङ राजप्रसादमा भेटवार्ता गरे भने राजा जिग्मे केशर नामग्याल वाङचुकसँग पनि भेटवार्ता भयो । जिग्मे सिग्मे पूर्वराजा ज्ञानेन्द्र शाहका सहपाठीसमेत हुन् । उनीहरू दार्जीलिङको सेन्ट जोसेफ कलेजका एलुम्नाई र सहपाठी समेत हुन् ।
यस्तै पूर्वराजा शाह भुटानको राजधानी थिम्पुस्थित पाञ्चायान मन्दिरमा पूजा अर्चनामा सहभागी हुनुका साथै घुमफिर पनि गरे । सो क्रममा केही अर्थपूर्ण संवाद पनि भएको दाबी गरिएको छ । नेपालमा राजतन्त्र फर्काउने विषयमा केन्द्रित रहेर संवाद भएको दाबी गरिए पनि यसका अन्य पक्षलाई गोप्य राखिएको छ ।
उसो त भुटानले पूर्वराजाको भ्रमणलाई सामान्य रूपमा नलिएको सार्वजनिक तस्बिरहरूले पनि देखाएको छ । पूर्वराजा शाहको बिदाइमा भुटानले रेडकार्पेट नै बिछ्यायो भने बिदाइमा त्यहाँको राजाले निकै हार्दिकता दर्शाउँदै पूर्वराजासँग अङ्कमाल गरेका थिए । शाही अतिथिगृह थिम्पुमा बिदाइ भेटमा भुटानी राजाले नेपालका पूर्वराजालाई न्यानो अङ्कमालसहित स्वागत गरेका थिए । यस्तै फर्किने बेला जहाजसम्म रेड कार्पेट बिछ्याएर भुटानमार्फत अर्थपूर्ण सन्देश छाडिएको टिप्पणी हुन थालेको छ ।
पूर्वराजाले भुटानअघि थाइल्याण्डको भ्रमण गरेका थिए । उक्त भ्रमणबारे खासै चर्चा नभए पनि भुटानको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । भुटानमा भारतीय संस्थापन हाबी भएको बताइन्छ भने मोदीकै भ्रमणपछि पूर्वराजा शाहलाई निम्ता आएको भनिएकाले पनि बढी चासो भएको हो ।
उसो त पूर्वराजाले आफ्नो गतिविधि ज्योतिषलाई हेराएर गर्ने गरेका छन् । यतिसम्म कि संवाद सचिवालयमार्फत जारी गरिने विज्ञप्तिसमेत ‘ब्रह्म मुहूर्त’मा जारी गर्न लगाउन थालेका छन् । सोहीअनुसार संवाद सचिव पाठकले पछिल्ला दुई विज्ञप्ति बिहानै जारी गरेका थिए । पूर्वराजालाई ज्योतिषीहरूले ब्रह्म मुहूर्तमा गतिविधि गर्न सुझाव दिएको निर्मल निवास स्रोतको भनाइ छ ।
शास्त्रअनुसार २४ घण्टामा ३० मुहूर्त हुने ज्योतिष दुर्गा प्रसाद भण्डारी बताउँछन् । यी मुहूर्तमध्ये सूर्योदय अघिका दुई मुहूर्त विशेष हुन्छन् । यीमध्ये एकलाई विष्णु मुहूर्त र अर्कोलाई ब्रह्म मुहूर्त भनिन्छ । सामान्य भाषामा भन्ने हो भने बिहान सूर्योदय हुने समयभन्दा अगाडिको ४८ मिनेटको अवधि वा समयलाई ब्रह्म मुहूर्त भनिन्छ । ज्योतिषशास्त्रअनुसार उक्त समय शक्तिशाली मानिन्छ ।
२०६५ जेठ २९ राति विधिवत रूपमा नारायणहिटी छाडेसँगै नागार्जुन र निर्मल निवासमा सीमित भए पनि पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न माध्यममार्फत आफ्नो गतिविधिलाई जारी राख्दै आएका छन् । पूर्वराजा जबजब सक्रिय देखिन्छन्, त्यतिबेला राजावादी शक्तिहरू उत्साहित देखिँदा गणतन्त्रवादी शक्तिचाहिँ आक्रामक बन्ने गरेको देखिन्छ ।
बेलाबेलामा पूर्वराजाले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै जनता जाग्ने बेला भएको बताउँदै आएका छन् । राजतन्त्र ढलेसँगै सुरुका वर्षहरूमा मौन रहँदै आए पनि पछिला वर्षमा पूर्वराजाले सम्बोधन र विशेष अवसरमा जारी गर्ने व्यक्तव्यमार्फत राजनीतिक दलहरूको गतिविधिमाथि असअन्तुष्टि पोख्दै आएका हुन् ।
यसको एक उदाहरण नयाँ वर्ष (२०८१)को अवसरमा पूर्वराजाले दिएको अभिव्यक्ति पनि हो । शाहले आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्थाप्रति ध्यान केन्द्रित हुनुपर्छ भन्ने जनमत रहेको दाबी शुभकामना सन्देशमा गरेका थिए । त्यसका लागि देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर समझदारी बनाउनुपर्ने उनको भनाइ थियो ।
‘आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्थाका प्रति हाम्रो ध्यान केन्द्रित हुनु पर्दछ भन्ने धारणा पनि नेपाली जनमतमा बढ्दै गएको हाम्रो अनुभव छ,’ उनले शुभकामना सन्देशमा भनेका थिए, ‘देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर यो सोच र समझदारी बनाउनका निम्ति हामीलाई नयाँ वर्षले प्रेरणा प्रदान गरोस् ।’
नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेको उनको दाबी थियो । उनका यस्ता अभिव्यक्ति बेलाबखत आइरहँदा नेपालका हिन्दुवादी र राजावादीहरूलाई उकास्दै आएको आरोपसमेत उनीमाथि लाग्ने गरेको छ । उनले आफू अगाडि नदेखिने तर राजावादी राप्रपादेखि दुर्गा प्रसाईं नेतृत्वको अभियानलाई समेत ‘ब्याक सपोर्ट’ गरेको आरोप लाग्ने गरेको छ । यस्तो आरोप लाग्दा न पूर्वराजाले खण्डन गरेका छन्, न त राजावादीहरूले आफ्नो गतिविधिलाई नै छाडेका छन् ।
एकातिर पछिल्लो समय राजनीतिक दलहरूको गतिविधिप्रति सर्वसाधारण सन्तुष्ट हुन नसक्नु र अर्कोतिर राजावादीहरूको सक्रियता पनि बढ्नुले बहस हुनु स्वाभाविक नै हो । त्यसमाथि अहिले भुटानमा पूर्वराजालाई दिइएको महत्त्व र स्वयं निर्मल निवास स्रोतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमणपछि पूर्वराजालाई निम्ता आएको भन्नुले स्वाभाविक रूपमा चासो बढाएको जानकार बताउँछन् ।
मोदीले गत चैत ८ र ९ गते भुटानको भ्रमण गरेका थिए । मोदीकै भ्रमण भएपछि पूर्वराजालाई निम्ता आउनु, अहिलेसम्म नजानु र निकै प्रेसरमा भ्रमण गरेको भनिनुले भ्रमणका क्रममा अर्थपूर्ण संवाद भएको हुनसक्ने कतिपयको आकलन छ ।
पूर्वमन्त्री जेपी गुप्ता पूर्वराजाको भुटान भ्रमण सन्देहपूर्ण रहेको तर्क गर्छन् । अहिलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रभाव पार्नका लागि पूर्वराजाले भुटानको यात्रा गरेको हुनसक्ने उनको विश्लेषण छ ।
‘भारत र भुटानको राम्रो सम्बन्ध छ । मेरो अध्ययन र विश्लेषणले भुटानमार्फत मोदीलाई कन्भिन्स गर्नका लागि अहिलेको भ्रमण भएको जस्तो लाग्छ’, उनले भने ।
तर सत्तारुढ र प्रतिपक्षी दलका नेताहरू भने पूर्वराजाको भ्रमणको औचित्य नभएको दाबी गर्छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा पूर्वराजा ज्ञानेन्द्र शाहलाई खासै छटपटी नभए पनि राजावादी भन्नेहरूलाई बढी छटपटी, उकुसमुकुस र असह््य भएको बताउँछन् ।
‘नेपाली राजनीतिमा देखिएको केही बेथिति, विसङ्गति र राजनीतिक अस्थिरताको मौका छोपेर केही गर्न सकिन्छ कि भन्ने झिनो आसा त्यस्ता तत्वहरूमा जाग्नु स्वाभाविक हो’, विश्वकर्माले रातोपाटीसँग भने, ‘तर व्यवस्था परिवर्तन भनेको जनताले गर्ने हो । जनताहरू बहुदलीय संसदीय पद्धतिसहित नागरिक स्वतन्त्रताका पक्षमा सदैव उभिएका छन् । त्यो संस्कार नै भइसकेको छ ।’
विश्वकर्माले अहिले राजा फर्कन्छन् भनेर भन्नु आत्मरतिमात्र भएको बताए । राजतन्त्रको पक्षमा अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग नहुने उनले बताए ।
‘केही शुभकामना र भेटघाटका सन्दर्भलाई लिएर फेरि राजतन्त्र फर्कन्छ भनेर कल्पना गर्न सकिँदैन’, विश्वकर्माले भने, ‘राजा फर्काउने योजनामा अन्तर्राष्ट्रिय शक्तिले पनि साथ दिन्छ भन्नेमा म विश्वस्त छैन ।’
नेता विश्वकर्माले क्रसचेक गरेर बुझ्दा अन्तर्राष्ट्रिय जगतले निरंकुशता ल्याऊ, राजतन्त्र फर्काऊ, राजा फर्क भनेर नभनेको बताए । ‘किनभने हिजो नेपाली जनताको आन्दोलनमा अन्तर्राष्ट्रिय जगतको समेत समर्थन थियो । सोही कारण नेपाली जनता स्वतन्त्र हुँदै नेपालमा लोकतन्त्र आएको हो,’ उनले भने ।
त्यसकारण संस्थागत रुपमा नेपालमा कुनै विदेशी शक्तिले राजतन्त्र फर्काउन प्रयास गरेको छ भनेर भन्नु पनि हल्लामात्र रहेको विश्वकर्माको तर्क छ । ‘तर नेपालभित्रै रहेका केही दल र राजवादीहरूले राजा फर्कन्छन् भनेर अलिअलि हल्ला गरेको अवश्य हो’, उनले भने ।
नेकपा एमालेका नेता राजेन्द्र गौतम नेपालमा राजा फर्कन्छन् र राजतन्त्र फर्कन्छ भनेर प्रचारबाजी गर्नुलाई अस्थिरता र अराजकताको पराकाष्टाको संज्ञा दिन्छन् ।
‘पूर्वराजा शाहलाई उपयोग गरेर अस्थिरताको विन्दु भेट्न सकिन्छ कि भनेर राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरूले प्रयोग गर्ने प्रयास गरेका हुन सक्छन्’, उनले पूर्वराजा शाहको भुटान भ्रमणलाई लिएर आएका क्रिया–प्रतिक्रियाबारे भने, ‘त्यो प्रयोग अहिले गर्न खोजिएको हुनसक्छ । तर त्यस्तो कुनै सम्भावना म देख्दिनँ ।’
एमाले प्रचार विभाग प्रमुख समेत रहेका गौतमले अहिलेको युगमा पूर्वराजालाई अगाडि सारेर समाजमा कुनै स्पेश बनाउन सकिन्छ कि भन्नेहरू नै ठुलो भ्रममा रहेको बताए ।
यद्यपि जनताले अपेक्षा गरेअनुसार परिवर्तनको अनुभूति गर्न नसकेको गौतमले स्वीकार गरे । उनले कुनै व्यक्तिको कार्यशैलीलाई जनताले आलोचना गर्दैमा व्यवस्था नै परिवर्तन भइहाल्छ भनेर बुझ्न नहुने बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढ, व्यवस्थित र अग्रगमनका निम्ति जति प्रयासहरू जनताले जुन शक्ति, तागत र परिमाणमा अपेक्षा गरेका थिए, त्यो नभएपछि व्यक्तिको कार्यशैलीको आलोचना जनताबाट भएका छन्’, गौतमले भने, ‘अब त्यो आलोचनालाई व्यवस्था विरोधी नै भयो, संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा कुनैखाले राजतन्त्र या राजासहितको व्यवस्थाको परिकल्पना गरे भनेर ठुलो भ्रम केही मानिसहरूमा देखिन्छ ।’
गौतमले यस्तो अवस्थामा राजनीतिक दल र नेताहरूबाट भएका कमी–कमजोरी सच्च्याएर आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । ‘जनता जहिले पनि अग्रगमन र रुपान्तरणको एजेण्डामै आश्वस्त हुन्छन् । जनताको अपेक्षा र राज्यको सामर्थ्यकाबिचमा रहेको लुप्सहोल पहिल्याउनु पर्छ’, गौतमले रातोपाटीसँग भने, ‘धमिलो पानीमा माछा मार्ने योजनाअनुसार पूर्वराजा र उनी पक्षधरलाई प्रयोग गर्न खोजिँदैछ ।’
गौतमले परिवर्तनकारी शक्तिहरू जो जहाँ भए पनि यस्तो अराजकता र अस्थिरतालाई नियन्त्रणमा लिन एक ठाउँमा आउने विश्वास व्यक्त गर्दै राजतन्त्र पक्षधरहरूको प्रयास असफल पार्ने दाबीसमेत गरे ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल पूर्वराजाका केही समर्थकहरू पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणपछि हौसिए पनि नेपालमा फेरि राजा र राजतन्त्र फर्कने कुनै सम्भावना नभएको बताउँछन् ।
‘पूर्वराजाका दुईचार जना समर्थकले राजतन्त्र फर्कन्छन् भन्न सक्लान् तर नेपालमा अब राजनीतिक दलको विकल्प राजनीतिक दल नै हो,’ पौडेलले भने, ‘किनभने नेपालमा लोकतन्त्र आइसकेको छ । लोकतन्त्रबाट राजतन्त्रमा फर्कने कुनै कतै सम्भावना छैन ।’
माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि राजतन्त्र फर्कने सम्भावना देख्दैनन् । बरु गुरुङले कांग्रेस–एमालेले असार १७ गते मध्यरातमा गरेको सम्झौता मुलुकलाई पश्चगमनमा फर्काउन गरिएको टिप्पणी गरे ।
‘असार १७ मध्यरात कांग्रेस–एमालेबिच जे सम्झौता भयो, त्यसले शान्ति प्रक्रियापछिका उपलब्धिहरूलाई उल्ट्याउने बाटोबाट निर्णय भएका छन् । त्यो सम्झौता कार्यान्वयनमा गयो भने त प्रतिक्रान्ति वा परिवर्तन हुन पनि सक्छ,’ गुरुङले रातोपाटीसँग भने, ‘किनभने २०४७ को संविधान कार्यान्वयन गर्ने उनीहरूको तयारी हो ।’
राजावादी पार्टी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ पूर्वराजालाई भुटानको राजा वा राजपरिवारले दिएको सम्मान अर्थपूर्ण रहेको बताउँछन् । उनले राजनीतिक व्यवस्था ठिक हुन राजतन्त्र फर्किनै पर्ने जिकिर गर्दै २०६२÷०६३ सालको राजनीतिक परिवर्तनपछि देशमा जुन राजनीतिक अवस्था देखा परेको छ, त्यो राष्ट्रको हितमा नरहेको तर्क गरे ।
‘राष्ट्रियता कमजोर भएर गएको छ । भ्रष्टाचार बढेको छ । देशको सार्वभौमिकताकै विषयमै बेलाबेलामा आशङ्का पैदा भइराखेको अवस्थामा देशको दीर्घकालीन हितका लागि राजसंस्थाको पुनर्स्थापना अपरिहार्य भइसकेको छ’, श्रेष्ठले भने ।
राजसंस्था पुनर्स्थापनाको मुद्दालाई राप्रपाले निरन्तर उठाउँदै आएको भन्दै उनले आम जनता र अरु राजनीतिक दलको पनि राजसंस्था पुनर्स्थापनाको एजेण्डा साझा बन्नुपर्ने धारणा राखे । त्यसैका लागि पार्टीले नवीन समझदारीको अवधारणा अघि सारेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प