आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
अनुगमन

झरी रोकिएपछि अनुगमनमा निस्किए मन्त्री, भौतिक मन्त्री सिंहदरबारमै

आइतबार, २० असोज २०८१, १२ : ३३
आइतबार, २० असोज २०८१

काठमाडौँ । गत असोज ११ र १२ गतेको बाढी पहिरोले बागमती प्रदेशका अधिकांश जिल्लामा व्यापक धनजनको क्षति भए पनि केन्द्रीय सरकार प्रभावित क्षेत्रमा नपुगेको गुनासो बढिरहेका बेला केही मन्त्रीले सक्रियता देखाएका छन् ।

झरी रोकिएर मौसमका केही सुधार भएपछि गृहमन्त्री रमेश लेखक आइतबार गोदावरी नगरपालिकाको टिका भैरव लगायतका क्षेत्रमा अनुगमनका लागि पुगेका छन् । यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल धुलिखेल अस्पतालमा बाढी पहिरोबाट घाइते भएकाहरूको अवस्था अवलोकनका लागि पुगेका छन् । 

मन्त्रालयले जनाएअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले बाढी पहिरो प्रभावित काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत बिरामीको निःशुल्क उपचार र सेवाको गुणस्तरबारे जानकारी लिएका छन् । पूर्ण निको नहुँदासम्म सरकारले उपचार गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । 

उनले विपद्का कारण स्वास्थ्य केन्द्र भत्किएर टेन्टमा उपचार सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीका समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।  बेथानचोक, धुलिखेल र पनौतीको प्रभावित क्षेत्र अवलोकनका क्रममा मन्त्री पौडेलले विपद्पछि सङ्क्रामक रोग फैलन नदिन मन्त्रालयबाट वितरित शुद्धीकरण तथा सरसफाइका सामग्री प्रभावकारी वितरण गर्न र स्वास्थ्य सचेतना फैलाउन आग्रह  गरेका छन् । 

आवश्यक थप सहयोग तत्काल उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको समेत उनले बताएका छन् । बाढी पहिरोका कारण राजमार्गदेखि स्थानीय सडक सञ्जालमा व्यापक क्षति भएको छ । सडक समेत हेर्ने जिम्मेवारी पाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल भने सिंहदरबार केन्द्रित रहेका छन् । 

मन्त्री दाहालका स्वकीय सचिव प्रकाश आर्चायले भने– ‘यतिखेर बाहिर जाने अनुकूल अवस्था छैन, मन्त्रीज्यू मन्त्रालयमै बसेर काम गरिरहनुभएको छ ।’  यता कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारी पनि सिंहदरबारमा केन्द्रित रहेका छन् । बाढी पहिरोबाट किसानको धानबालीसहित अन्य बालीनाली सखाप पारे पनि किसानको अवस्था बुझ्न किसानको घरसम्म पुग्न नसकेको गुनासो बढिरहेको छ । 

मन्त्री अधिकारीले सोमबार विभिन्न प्रदेशका कृषि मन्त्रीसँग जुम मिटिङ गर्न लागेको उनका स्वकीय सचिव नवराज तिमिल्सिनाले जानकारी दिए । अहिले बाढी पहिरोबाट किसानको अन्नबाली र पशुचौपायाको क्षतिको विवरण मागिरहेको र सो विवरण मन्त्रालयले प्राप्त गरेपछि राहतका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्ने तिमल्सिनाले बताए ।  

बाढी पहिरोमा परी हालसम्म २४४ जनाले ज्यान गुमाएका छन्, १९ जना बेपत्ता छन् भने १७९ जना घाइते भएका छन् । यो प्रकोपबाट २० अर्बभन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप