आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

कच्चा तेलको भाउ अरु २० डलरले बढ्न सक्छ: गोल्डम्यान श्याख्स

आइतबार, २० असोज २०८१, १२ : ३३
आइतबार, २० असोज २०८१

वाशिङ्टन । विश्व बजारमा कच्चा तेलको भाउ अरु २० डलर बढ्न सक्ने बताइएको छ । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक तथा वित्तीय सेवा प्रदायक कम्पनी गोल्डम्यान श्याख्सले यस्तो बताएको हो । 

बिहिबार एकै दिन अमेरिकामा क्रुड आयल फयूचर्सको भाउ झन्डै ५ प्रतिशतले बढेको थियो । गएको हप्ताको सुरुमा इरानले गरेको मिसाइल आक्रमणको जवाफमा इजरायलले इरानी तेल उद्योगलाई निशाना बनाउन सक्ने भयबीच शुक्रबार पनि कच्चा तेलको भाउ उकालो लागेको थियो ।

शुक्रबार बजार बन्द हुँदा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा कारोबार बन्द हुँदा अमेरिकी बेञ्चमार्क यूएस क्रुडको भाउ प्रतिब्यारेल १ दशमलव शून्य ३ प्रतिशतलेब बढेर ७४ डलर ३९ सेन्टमा पुगेको थियो । लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ पनि शून्य दशमलव २६ प्रतिशतले ढबेर ७८ डलर शून्य ५ सेन्टमा उक्लिएको थियो ।

दुई देशबीच जारी लडाईमा इजरायलले इरानको तेल उद्योगलाई निशाना बनायो भने इरानी तेल उत्पादन दैनिक १० लाख ब्यारेलले घट्नेछ । यस्तो भयो भने कच्चा तेलको भाउ प्रतिब्यारेल अरु २० डलरले बढ्ने गोल्डम्यान श्याख्सका ग्लोबल कमोडिटिज रिसर्चका को–हेड डान स्त्रुइभेनले शुक्रबार सीएनबीसीको ‘स्क्वाक बक्स एशिया’मा भनेका थिए । 

इरानको कच्चा तेल उत्पादन प्रभावित भएको स्थितिमा मुख्य तेल उत्पादक देशहरूले उत्पादन बढाउने अनुरोधलाई वेवास्ता गर्ने ठानेर यो अनुमान गरिएको स्त्रुइभेनले भनेका छन् ।

साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता ओपेकका सदस्य र समूह बाहिरका अन्य प्रमुख तेल उत्पादकहरूले इरानी उत्पादनमा आएको कमीको केही भपाई गरे भने पछि कत्ता तेलको भाउ प्रतिब्यारेल १० डलरभन्दा कमले बढ्नेमा उनले जोड दिएका छन् । गएको वर्ष अक्टोबर ७ मा इजरायल–हमासबीच सशस्त्र युद्ध छेडिएयता तेल बजारमा सीमित मात्रै अवरोध आएको छ ।

अमेरिकाको बढ्दो उत्पादन र चीनको सुस्त मागका कारण तेलको मूल्य दबाबमा रहँदै आएको छ । तर यो हप्ता तेल बजारप्रतिको मनोबल फेरिन पनि सक्छ । इरानले इजरायलमाथि मिसाइल हानेपछि लगातार तेस्रो दिन पनि यूएस क्रुडको भाउ बढेको देखिएको छ । इरान पेट्रोलियम निर्यातकर्ता देशहरूको समूह ओपेकको मुख्य सदस्य हो । हरेक दिन यसले ४० लाख ब्यारेल तेल उत्पादन गर्ने गरेको छ । यो भनेको विश्वको कूल आपूर्तिको ४ प्रतिशत हाराहारी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप