आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

भारत भ्रमणमा आउँदैछन् माल्दिभ्सका राष्ट्रपति

आइतबार, २० असोज २०८१, १० : ५६
आइतबार, २० असोज २०८१

नयाँ दिल्ली । माल्दिभ्सका राष्ट्रपति मोहम्द मुइज्जु भारतको भ्रमणमा आउने भएका छन् । ऋणको सावा र ब्याज तिर्न नसकेर मालदिभ्स डिफल्टमा जाने भय बढिरहेकै समयमा सोमबार मुईज्जु भारत आउन लागेका हुन् ।

वित्तीय उद्धारको खोजीमा उनी भारत आउन लागेको बताइएको छ । गएको वर्ष सत्तामा आएयता यो मुइज्जुको पहिलो भारत भ्रमण हुनेछ । आफ्नो चुनावी अभियानमा मुइज्जुले दिल्लीको प्रभाव कम गर्ने वाचा गरेका थिए भने ‘भारत बहिष्कार’ को नीति अपनाएका थिए ।

त्यसयता दुवै देशबिचको सम्बन्ध तिक्त बनेको छ । तर उनको यस आसन्न भ्रमणले माल्दिभ्सले आफ्नो शक्तिशाली छिमेकीलाई बेवास्ता गर्ने जोखिम मोल्न नसक्ने सङ्केत गरेको विज्ञहरूले भनिरहेका छन् । सेप्टेम्बरमा माल्दिभ्सको विदेशी मुद्रा सञ्चिति ४४ करोड डलर मात्रै थियो । यो भनेको साढे एक महिनाको आयात मात्रै धान्न पुग्ने हो ।

गएको महिना बहुराष्ट्रिय कर्जा रेटिङ एजेन्सी मूडिजले डिफल्टमा जाने जोखिम ह्वात्तै बढेको भन्दै माल्दिभ्सको कर्जाको साख घटाएको थियो । भारत आउनु अघि मुइज्जु टर्की र चीनको भ्रमणमा जानेछन् ।

भ्रमणमा के के वित्तीय प्याकेजलाई एजेन्डामा राखिएको छ भनेर भारत र मालदिभ्स दुवैले औपचारिक रूपमा केही बताएका छैनन् । तर यो पनि छलफलको हिस्सा हुन सक्ने विज्ञहरू ठान्छन् । कर्जा भुक्तानीको पुनः संरचना र अनुदान सहायताका रूपमा वित्तीय हेल्पलाइन हासिल गर्नु मुइज्जुको भ्रमणको प्राथमिकता हुन सक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप