आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

टी–२० महिला विश्वकपमा आज : चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने–सामने

आइतबार, २० असोज २०८१, १० : ५४
आइतबार, २० असोज २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा आइतबार दुई खेल खेलिने भएको छ । आइतबारको पहिलो खेल दुई चिर प्रतिद्वन्द्वी टोली भारत र पाकिस्तानबिच खेलिने छ ।

भारत र पाकिस्तानबिचको खेल नेपाली समय अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ । पहिलो संस्करणदेखि नै महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आए पनि हालसम्म उपाधि चुम्न नसकेको भारत यसपटक हरमनप्रित कौरको कप्तानीमा रहेको छ ।

३५ वर्षीय कौर टोलीकी अलराउन्डर खेलाडी हुन् । उनले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेकी छन् । उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा त शतक पनि बनाएकी छन् । उनी टोलीकी प्रभावशाली बलर पनि हुन् ।

स्मृति मन्धना भारतीय टोलीकी उपकप्तान हुन् । भारत हालसम्म एकपटक मात्र महिला टी–२० विश्वकपको फाइनलमा पुग्न सकेको छ । सन् २०२० मा भएको महिला टी–२० विश्वकपको फाइनलमा भारतलाई अस्ट्रेलियाले ८५ रनले हराएको थियो ।

यसैगरी, पाकिस्तानले पनि महिला टी–२० विश्वकपमा पहिलो संस्करणदेखि सहभागिता जनाउँदै आएको छ । तर, पाकिस्तानी टोली हालसम्म फाइनलमा पनि पुग्न सकेको छैन । यसपटक पाकिस्तानी टोली फातिमा सानाको कप्तानीमा विश्वकप यात्रामा होमिएको छ ।

आइतबारको खेल

  • भारतविरुद्ध पाकिस्तान : दिउँसो १५ः४५ बजे ।
  • स्कटल्यान्डविरुद्ध वेस्ट इन्डिज : राति १९ः४५ बजे ।

२३औँ वर्ष प्रवेशको सँघारमा रहेकी फातिमा सानाले पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छन् । उनले हालसम्म टेस्ट क्रिकेटमा भने ‘डेब्यू’ गरेकी छैनन् । उनी टोलीकी अलराउन्डर खेलाडी हुन् ।

जारी महिला टी–२० विश्वकपमा पाकिस्तान र भारत दुवैले एक–एक खेल खेलिसकेका छन् । आफ्नो पहिलो खेलमा पाकिस्तानी टोली विजयी भएको थियो । पाकिस्तानले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३१ रनले हराएको थियो ।

भारतीय टोली भने आफ्नो पहिलो खेलमा पराजित भएको थियो । भारतलाई न्युजिल्यान्डले ५८ रनको फराकिलो अन्तरले हराएको थियो । समूह ‘ए’ तालिकामा श्रीलंकाले दुई र अन्य टोलीले एक–एक खेल खेलेका छन् । दुई अंकसहित न्युजिल्यान्ड पहिलो, समान अंक जोडेको अस्ट्रेलिया दोस्रो र समान अंक बटुलेको पाकिस्तान तेस्रो स्थानमा छन् । चौथो स्थानको श्रीलंका र पाँचौँ स्थानमा आसिन भारतले भने अंक जोड्न सकेका छैनन् ।

यसैगरी, आइतबारको दोस्रो खेलमा स्कटल्यान्डले बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजको सामना गर्नेछ । उक्त खेल नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । वेस्ट इन्डिजले एकपटक महिला टी–२० विश्वकपको उपाधि जितिसकेको छ ।

स्कटल्यान्डको भने टी–२० महिला विश्वकपमा यो पहिलो सहभागिता हो । वेस्ट इन्डिजले सन् २०१६ मा सम्पन्न महिला विश्वकपको फाइनलमा अस्ट्रेलियालाई आठ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।

जारी महिला विश्वकपमा वेस्ट इन्डिज र स्कटल्यान्ड समूह ‘बी’ मा छन् । यी दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन् । आफ्नो पहिलो खेलमा यी दुवै टोली पराजित भएका थिए । वेस्ट इन्डिजको टोली दक्षिण अफ्रिकासँग १० विकेटले पराजित भएको थियो ।

स्कटल्यान्डलाई भने पहिलो खेलमा बङ्गलादेशले १६ रनले हराएको थियो । बङ्गलादेशले दुई र अन्य टोलीले एक–एक खेल खेलेका छन् । दुई–दुई अंक बटुलेका इङ्गल्यान्ड, दक्षिण अफ्रिका र बङ्गलादेश क्रमशः पहिलोदेखि तेस्रो स्थानमा छन् ।

स्कटल्यान्डको टोली क्याथरिन ब्राइसको कप्तानीमा छ । २७औँ वर्ष प्रवेशको सँघारमा रहेकी क्याथरिन टोलीकी अलराउन्डर खेलाडी हुन् । प्रभावशाली ब्याटर क्याथरिनले टोलीका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । सराह ब्रायस टोलीकी उपकप्तान हुन् ।

यसैगरी, वेस्ट इन्डिज यसपटक हायली म्याथ्यूजको कप्तानीमा रहेको छ । २६ वर्षीय म्याथ्यूज टोलीकी अलराउन्डर खेलाडी हुन् । उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । उनले टेस्ट क्रिकेटमा भने ‘डेब्यू’ गरेकी छैनन् । आफूले खेलेको दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनले उत्कृष्ट शतक बनाएकी छन् । उनले दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट पनि लिएकी छन् ।

महिला टी–२० विश्वकपको यो नवौँ संस्करण हो । प्रतियोगिता अक्टोबर २० तारिखसम्म सञ्चालन हुनेछ । समूहगत चरणको खेल अक्टोबर १५ तारिखसम्म चल्नेछ । त्यसपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल अक्टोबर १७ र दोस्रो सेमिफाइनल खेल अक्टोबर १८ तारिखमा खेलिने छ । सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनलमा विजयी दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि अक्टोबर २० तारिखमा फाइनल खेल खेलिने छ । महिला टी–२० विश्वकपमा अस्ट्रेलियाले एकछत्र राज गर्दै आएको छ । अस्ट्रेलियाले हालसम्म ६ पटक टी–२० महिला विश्वकपको उपाधि उचालिसकेको छ । अस्ट्रेलिया महिला विश्वकपको साबिक विजेता पनि हो ।

यसका अतिरिक्त इङ्गल्यान्ड र वेस्ट इन्डिजले पनि एक–एकपटक टी–२० महिला विश्वकपको उपाधि जितेका छन् । इङ्गल्यान्डले सन् २००९ मा आफ्नै भूमिमा आयोजित पहिलो संस्करणको फाइनलमा न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो ।

वेस्ट इन्डिजले भने सन् २०१६ मा भारतमा आयोजित पाँचौँ संस्करणको उपाधि चुमेको थियो । त्यो विश्वकपको फाइनलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई आठ विकेटले हराउँदै पहिलो पटक उपाधिमाथि कब्जा जमाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप