आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
सेयर बजार

सेयर बजारमा नयाँ टीएमएस सञ्चालनमा, कारोबार प्रणालीमा नेप्सेको एकाधिकार हट्यो

एउटै लगइनबाट परिवारका सबै सदस्यको खाता सञ्चालन गर्न सकिने
आइतबार, २० असोज २०८१, १० : ३९
आइतबार, २० असोज २०८१

काठमाडौँ । सेयरको दोस्रो बजार कारोबारमा नयाँ कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सञ्चालनमा रहेको टीएमएसको विकल्पस्वरुप ब्रोकर कम्पनी आफैँले यो सिस्टम सञ्चालनमा ल्याएको हो । सेक्योर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३६) ले आजदेखि उक्त प्रणालीको सुरुवात गर्न लागेको हो । 

नयाँ कारोबार व्यवस्थापन प्रणाली सञ्चालन गर्न साउनमै स्वीकृति पाएको उक्त सेक्युरिटिजले प्राविधिक परीक्षण लगायतका सबै प्रक्रिया पूरा गरेपछि आइतबारदेखि नयाँ प्रणाली सञ्चालनमा ल्याउन लागेको नेपाल स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष समेत रहेका सेक्योर्ड सेक्युरिटिजका कार्यकारी अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए । उक्त कम्पनीमार्फत ब्रोकर खाता सञ्चालन गरी कारोबार गर्दै आएका लगानीकर्ताले आजदेखि नयाँ युजरनेम र पासवर्ड प्रयोग गरेर कारोबार गर्नसक्ने उनले जानकारी दिए । यसका लागि कुनै थप शुल्क नलाग्ने उनको भनाइ छ । 

नयाँ कारोबार प्रणालीका यी छन् विशेषता

यो कारोबार प्रणालीले नेप्सेले हाल दिँदै आएको सुविधा भन्दा केही ‘युनिक’ सुविधा दिएको अध्यक्ष मैनाली बताउँछन् । यसले ग्राहकलाई कारोबारमा थप सहजता हुने उनको भनाइ छ । 

नयाँ कारोबार प्रणाली डेक्सटप भर्सन, वेभ भर्सन र मोबाइल गरी तीनवटै भर्सनमा उपलब्ध हुनेछ । यो हुँदा लगानीकर्ताले विन्डोज एप्लिकेसन, मोबाइल एप्लिकेसन र वेभ ब्राउनर तीनवटै तरिकाबाट कारोबार गर्न सक्नेछन् । डेक्सटप भर्सन भने तत्काल तयार भइनसकेकाले केही समय लाग्नसक्ने मैनाली बताउँछन् । 

नयाँ प्रणालीले ग्राहकको धितोसम्बन्धी समस्यालाई समाधान गर्ने उनको भनाइ छ । कुनै ग्राहकले सेयर धितो कर्जा लिन चाहेको अवस्थामा सेयरको रोक्का, फुकुवासम्बन्धी व्यवस्थापनका लागि झन्झटिलो प्रक्रिया अन्त्य हुने बताइएको छ । 

त्यस्तै, अहिलेको प्रणालीले कारोबार भएका ग्राहक र ब्रोकर कम्पनीबिचको हिसाबकिताबमा समस्या देखिँदै आएको छ । यही समस्याका कारण सिप्ला सेक्युरिटिज र लगानीकर्ता दीपेन्द्र अग्रवालबिच पटक पटक विवाद हुँदै आएको थियो । यो केस सीआईबी, नेप्सेदेखि धितोपत्र बोर्डसम्म पुगे पनि समाधान हुन सकेको छैन । यस्तै अवस्था अरू ब्रोकर र लगानीकर्ताका हकमा समेत देखिन्छ । नयाँ टीएमएसमा सेयरको बिक्री र रकम भुक्तानीको आधारमा लेनदेनको हिसाबकिताब प्रस्ट रूपमा देखिने भएकोले यो विवाद अन्त्य हुने मैनाली बताउँछन् । 

त्यस्तै, नयाँ टीएमएसले सेयरको प्राविधिक विश्लेषणका लागि चार्ट समेत निःशुल्क उपलब्ध गराउनेछ । यसबाट तथ्यांककै लागि पैसा तिर्नुपर्ने अवस्था अन्त्य हुने अध्यक्ष मैनाली बताउँछन् । 

यो सिस्टमको सबैभन्दा महत्त्वपूर्ण विशेषता चाहिँ एउटै लगइन प्रयोग गरेर परिवारका सबै सदस्यको कारोबार गर्न पाउने व्यवस्था हो । अहिले परिवारका हरेक सदस्यको कारोबारका लागि छुट्टै युजरनेम र पासवर्ड प्रयोग गर्नुपर्ने र एउटा लगआउट गरेर मात्रै अर्को लगइन गर्नुपर्ने अवस्था रहेकोमा अब एउटै लगइनबाट पाँच जनासम्मको कारोबार गर्न सकिनेछ । त्यसरी कारोबार गर्नको लागि सम्बन्धित व्यक्ति परिवारको सदस्य भएको प्रमाणसहित निवेदन भने दिनुपर्ने मैनाली बताउँछन् । यसो गर्दा बढीमा ५ जनासम्मको कारोबार एउटै लगइनबाट गर्न सकिने उनको भनाइ छ । 

त्यस्तै, नयाँ खातामा पोर्टफोलियोको जानकारी समेत प्राप्त हुने व्यवस्था गरिएको छ । नेप्सेको सिस्टममा पनि पोर्टफोलियोबारे हेर्न सकिन्छ । नयाँ सिस्टममा थप सुविधा रहेको उनको भनाइ छ । 

अबगालबाट मुक्त हुँदै नेप्से अहिलेसम्म दोस्रो बजारमा हुने गरेका सबै कारोबारहरु नेपाल स्टक एक्सचेञ्जले सञ्चालन गर्दै आएको टीएमएसबाट हुने गरेको थियो । एउटा मात्रै सिस्टमको प्रयोगले कारोबार प्रणालीमा नेप्सेको एकाधिकार कायम थियो । यो अवस्थामा सिस्टटमा देखिने समस्याका कारण नेप्से र यसको नेतृत्वमाथि लगानीकर्ताहरुले विभिन्न लाञ्छना लगाउने गरेका थिए । बजार बढिरहेको अवस्थामा सिस्टममा समस्या आउँदा नेप्सेले नै यसमा छेडखानी गरेको आरोप लगानीकर्ता संघका नेताहरुले नै लगाउँदै आएका थिए । 

नयाँ ट्रेङिड सिस्टमसँगै नेप्से यो अबगालबाट मुक्त हुने देखिएको छ । यद्यपि नयाँ सिस्टममा पनि समस्या नै आउँदैन भन्ने ग्यारेन्टी नभएको मैनाली बताउँछन् । ‘हिजोसम्म नेप्सेलाई गाली आउँथ्यो, हाम्रो सिस्टम चलेन भने अव हामीलाई पनि आउँछ होला, प्राविधिक विषयमा समस्या नै आउँदैन भन्न त सकिँदैन, तर प्रतिस्पर्धा हुँदा सबैलाई चुनौती बढ्छ, यसले गर्दा सिस्टमलाई  राम्रो बनाउँदै जानुपर्ने दबाब बढ्छ,’ मैनाली भन्छन् । 

नेप्सेको कारोबार प्रणाली चलाउँदा ब्रोकरले नेप्सेलाई वार्षिक २५ हजार रुपैयाँ तिर्नुपर्थ्यो । अर्को सिस्टम चलाउँदा पनि १० हजार भने बुझाउनैपर्छ । यसबाट १५ हजार मात्रै बच्ने र नयाँ सिस्टम चलाउँदा भने त्योभन्दा बढी पैसा तिर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । यद्यपि नयाँ सिस्टमका लागि कति तिर्नुपर्छ भन्ने उनले खुलाएनन् । 

यो सिस्टमका लागि ब्रोकरले लगानी भने गरेको छैन । डीजी हब नामक कम्पनीले कारोबार व्यवस्थापन प्रणालीको निर्माण गरेको हो । सेक्योर्ड सेक्युरिटिजले त्यो सिस्टम प्रयोग गरेबापत रेन्टल चार्जमात्रै तिर्नुपर्छ । अरू सेक्युरिटिज कम्पनीले पनि नयाँ सिस्टममा जान सोही कम्पनीसँग सम्झौता गरेर सिस्टम किन्नुपर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप