आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल

आइतबार, २० असोज २०८१, १० : २६
आइतबार, २० असोज २०८१

दाङ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ   २१ जना बेसहारले अभिभावकको स्नेहमात्र होइन  पठनपाठनको सुअवसर पनि पाएका छन् । 

कार्यालयको काम पूरा हुनासाथ दिदीघर आउने उपप्रमुख चौधरीले ती बालबालिकाप्रति हार्दिकताका साथ ममतापूर्ण व्यवहार गर्छिन् । सन्तानविहीन उनी बालबालिकालाई आफ्नै छोराछोरी मानेर माया गर्छिन् । उनीहरूको पालनपोषण तथा शिक्षादीक्षामा समर्पित उनको दिनचर्याले उनको ममता छचल्किन्छ । 

आफ्नो फुर्सदको समय तिनै बालबालिकाको हेरचाहमा बित्ने गरेको उनले बताइन् । “पहिले म बालबालिकासँगै धेरै रमाउँथे”, उनले भनिन्, “उपप्रमुख भएपछि दिनभरि जनताको सेवामा लाग्नुपर्छ, साँझबिहान बालबच्चासँग बिताउने गरेकी छु ।”

तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँमा र तुलसीपुर–१३ बखरियामा गरी हाल २१ जना बालबालिकालाई शिक्षादीक्षा दिइरहेको उपप्रमुख चौधरीले बताइान् । सुरुमा आफैँले लगानी गरेर सञ्चालन गरेको उक्त संस्थामा अहिले विभिन्न सङ्घसंस्थाले सहयोग गरेका छन् । “मेरा छोराछोरी छैनन्”, उनले भनिन्, “तर मलाई छोराछोरीको कुनै अभावको महसुस उनीहरूले गर्न दिएका छैनन्, उनीहरूलाई नै छोराछोरी जसरी पालेकी छु ।” उनीहरूलाई पढाउन दिदी घरमै शिक्षक  राखेको उनले बताइन् ।

गरिब विद्यार्थीलाई आर्थिक सहयोग गर्दै आएकी उनले प्रत्येक वर्ष त्यस्ता विद्यार्थीलाई शैक्षिक सामग्री पनि प्रदान गर्दै आएकी छिन् । उनकै आर्थिक सहयोगमा पढेका केही विद्यार्थीले स्नातकोत्तर गरिसके भने केही लोकसेवा पार गरेर सरकारी सेवामा छन् ।

स्यानीका सङ्घर्ष
थारू समुदायकी डिग्री पास गरेकी एउटी महिला हुनुहन्छ, स्यानी ।  पढाइ जीवनका उनका सङ्घर्ष पनि कम छैनन् । उनको घर पहिले तुलसीपुर–१३ फूलबारी हो । तत्कालीन अवस्थामा त्यहाँ विद्यालय थिएन । त्यसैले उनी पढ्नका लागि तुलसीपुर–११ उरहरी आउनुपथ्र्यो । उरहरी आउँदा वर्षात्को बबईको भेल तर्नुपथ्र्यो । कहिलेकाहीँ डुङ्गा पाइन्थ्यो । यदि डुङ्गा नभएको अवस्थामा उनीआफैँले पौडी खेलेर वारपार गर्थिन् ।

त्यसमा पनि छोरी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यता थियो । त्यस्तो समाजबाट पनि उनले त्यतिबेला कक्षा लिन । “केटी मान्छेले पढ्नु हुँदैन भन्ने मन्यता थियो, त्यसपछि म आफैँ केटाको भेषमा आएपछि मात्रै विद्यालय प्रवेश गर्न पाउँथे”, उनले भनिन्।

थारू समुदायमा व्याप्त कमैया, कम्लरीप्रथा थियो । ती कुसंस्कारलाई कम गर्न स्यानीले निकै योग्दान गरिन्। पिछडिएको थारू समुदायमा जन्मिएकी छोरीलाई घरायसी काममा मात्र सीमित राख्ने र अर्काको घरमा जाने जात भन्दै पढ्न वञ्चित भएको थारू महिलाहरूका लागि पनि हौसला, उत्साह, जोशजाँगर दिने काम गर्दै आएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप