आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
विद्यालयमा विपत्तिको प्रभाव

बाढी–पहिरोले क्षति पुर्‍याएका विद्यालयमा कसरी पठनपाठन हुन्छ ?

आइतबार, २० असोज २०८१, १० : २२
आइतबार, २० असोज २०८१

काठमाडौँ । असोज ११ गते परेको भारी वर्षाका कारण देशभरका लगभग १६५ विद्यालयमा क्षति पुग्यो । भारी वर्षापछि आएको बाढी–पहिरो तथा डुबानका कारण धेरै विद्यालयका भवन भत्किएका छन् । केहीमा आंशिक क्षति पुगेको छ । कतिपयमा विद्यालयसम्म जाने बाटो बगाउँदा आवतजावत गर्न सकिने अवस्था छैन ।

बाढी–पहिरो तथा डुबानका कारण करिब २ लाख ५० हजारको हाराहारीमा विद्यार्थी प्रभावित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले क्षतिको यकिन विवरण सङ्कलन गरिरहेको छ । आजसम्म प्राप्त तथ्याङ्क हेर्दा १६५ विद्यालयमा क्षति पुगेको छ । त्यस्तै मधेस प्रदेशका ४२ विद्यालय डुबानमा परेका छन् । जसबाट करिब ११ हजार विद्यार्थी प्रभावित बनेको शिक्षा मन्त्रालयले जनाएको छ ।

बाढी–पहिरोमा परेर देशभरबाट २० जना विद्यार्थीले ज्यान गुमाएको मन्त्रालयको विवरणमा उल्लेख छ । मन्त्रालयले क्षति विवरण सङ्कलन गर्ने क्रम जारी रहेको जनाएको छ । जसले गर्दा यो सङ्ख्या अझ बढ्ने अनुमान छ । बाढी पहिरोपछि सरकारले तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहहरूलाई अपिल गरेको थियो ।

सरकारको अपिल स्वीकार गर्दै अधिकांश विद्यालय बन्द भएका थिए । तर, यतिबेला दसैँको बिदा भइसकेको छ । विद्यालयमा दसैँ बिदा हुँदा यतिबेला पठनपाठन बन्द छ । दसैँ–तिहार बिदा सकिएसँगै विद्यार्थीको पठनपाठन सुरू हुन्छ । त्यतिबेलासम्म भत्किएका विद्यालयको पुनर्निर्माण हुन्छ कि हुँदैन भन्ने चिन्ता छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराई क्षतिको यकिन विवरण सङ्कलन जारी रहेको र त्यो सकिएपछि पुनर्निर्माणबारे निर्णय गरिने बताउँछन् ।

‘पूरै विवरण सङ्कलन गर्ने क्रम जारी छ । प्रत्येक दिनको अपडेट निकालिरहेका छौँ । सबै विवरण आएपछि विश्लेषण गर्छौं,’ प्रवक्ता भट्टराईले भने, ‘स्थानीय तहले सक्ने काम उसैले गरिहाल्छ । त्यो बाहेक ठुलो क्षतिका लागि हामीले प्रत्येक प्रदेशमा २ करोडका दरले बजेट पठाएका छौँ ।’

उक्त बजेटले समेत सम्बोधन हुन नसक्ने काम विपद् व्यवस्थापन कोषबाट अगाडि बढाइने भट्टराईको भनाइ छ । दसैँ–तिहार बिदापछि विद्यालय खुल्ने बेलासम्म पठनपाठन हुनेगरी काम गरिने उनले बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपद् व्यवस्थापन अन्तर्गत सातै प्रदेशमा २२ करोडका दरले अनुदान भनेर बजेट छुट्ट्याएको हो । विद्यार्थीको सिकाइ निरन्तरताका लागि रियल प्लान कार्यान्वयन अन्तर्गत उक्त बजेटको व्यवस्था गरिएको हो । त्यसका साथै ७५३ वटै पालिकामा ४ देखि १० लाख रूपैयाँसम्म बजेट व्यवस्था गरिएको छ । तत्काल परेको क्षतिलाई सम्बोधन गर्न नसक्ने अवस्था नभएको खण्मा केन्द्रले थप बजेटको व्यवस्था गर्ने केन्द्रका निर्देशक अर्जुन ढकालले बताए ।

कुनै पनि बहानामा बालबालिकाको शिक्षा अवरुद्ध हुनु हुँदैन भन्ने बाल अधिकार महासन्धिको मान्यता अनुसार सरकारले पठनपाठन अवरुद्ध नहुनेगरी तयारी गरेको हो । राइट अफ एजुकेशनलाई कार्यान्वयन गर्न विश्वभर यो मान्यता अघि सारिएको छ । सोही आधारमा नेपालमा पनि विपद्मा शिक्षा (इमर्जेन्सी इन एजुकेशन) का क्षेत्रमा काम हुँदै आएको छ । त्यसका लागि एजुकेशन क्लस्टर (शिक्षा समूह) निर्माण गरेर युनिसेफ र सेफ द चिल्ड्रेनले सहयोग गर्दै आएका छन् ।

प्रदेशका मन्त्रीहरूसँग शिक्षामन्त्रीको छलफल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सातै प्रदेशका शिक्षा हेर्ने सामाजिक विकासमन्त्रीहरूसँग छलफल गर्ने भएकी छन् । बाढी–पहिरोका कारण विद्यालय क्षेत्रमा पुर्‍याएको क्षतिबारे मन्त्री भट्टराईले सातै प्रदेशका मन्त्रीहरूसँग छलफल गर्न लागेकी हुन् ।

असोज २२ गते सामाजिक विकासमन्त्रीहरूसँग छलफल गर्न लागिएको प्रवक्ता भट्टराईले बताए । प्रदेशका मन्त्रीहरूसँग छलफल गरेपछि पुनर्निर्माणको काम कसरी अगाडि बढाउने भन्ने विषयमा मन्त्रालयले निर्णय लिने मन्त्रालयका प्रवक्ता भट्टराईले बताए ।

मन्त्री भट्टराईले प्रदेशमन्त्रीहरूसँग अन्य सरोकारवाला निकायसँग समेत छलफल गर्न लागेकी हुन् । शिक्षा क्षेत्र सरोकार राख्ने निकायहरूसँग क्षतिबारे जानकारी लिनुका साथै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा उनले छलफल थालेकी हुन् ।

१६५ भन्दा बढी विद्यालयमा क्षति

बाढीले काभ्रेको रोशी गाउँपालिकास्थित देवीश्वरी मावि किर्दासमा पूरै विद्यालय बगाएको छ । वर्षाका धेरै क्षति पुर्‍याएको रोशी गाउँपालिकाका अन्य विद्यालयमा समेत क्षति भएको छ ।

विद्या विकास प्राविको ५ कक्षाकोठासहित विद्यालय परिसर नै पहिरोले पुरिएको शिक्षा मन्त्रालयले जनाएको छ । बाढी तथा पहिरोका कारण मधेसका सप्तरी, सिराहा, सर्लाही, पर्सामा १० हजारभन्दा बढी विद्यार्थी प्रभावित बनेका छन् ।

कोशी प्रदेशका पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, खोटाङ लगायतका जिल्लाका विद्यालयमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै बागमती प्रदेशका सिन्धुली, रसुवा, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, चितवनका विद्यालयहरूमा क्षति पुर्‍याएको छ ।

गण्डकी प्रदेशका नवलपरासी पश्चिम, तनहुँ, कास्की, म्याग्दी, बाग्लुङ लगायतका जिल्लामा क्षति पुर्‍याएको छ । लुम्बिनी प्रदेशका गुल्मी, रूपन्देही, दाङ, नवलपरासी पश्चिम, कर्णाली प्रदेशका हुम्ला, जाजरकोट, सुर्खेतका विद्यालयहरूमा क्षति पुर्‍याएको छ । सुदूरपश्चिमका अछाम र बझाङमा सामान्य क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिकाको रोशी र कोशी नदीको बाढीमा कुशेश्वर मन्दिरको महादेव गुरूकुलका शिक्षक र विद्यार्थी गरी ३३ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

२० जना विद्यार्थीको मृत्यु

बाढी–पहिरोमा परेर हालसम्म २० जना विद्यार्थीको मृत्यु भएको मन्त्रालयले जनाएको छ । दोलखामा एक विद्यार्थीको निधन भएको थियो । दोलखाको भीमेश्वर नगरपालिकास्थित अल्पाइन स्कूलका एक विद्याथी आफ्नो घर भत्किँदा पुरिएर मृत्यु भएको हो ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित गोडभन्ज्याङ माविमा अध्ययनरत २ जना विद्यार्थीको पनि बाढी–पहिरोका कारण मृत्यु भएको छ । काभ्रेपलाञ्चोकमा ९ जना विद्यार्थीको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तेमाल गाउँपालिकास्थित कुशेश्वर माविमा अध्ययनरत १ जना विद्यार्थी र उनका परिवारका सबै सदस्यको पहिरोमा परेर मृत्यु भएको छ । सर्वोद्वार माविका २ जना विद्यार्थीको समेत पहिरोमा परी परिवारसहित निधन भएको छ ।

पनौती नगरपालिकास्थित श्रीराम माविमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीको पहिरोमा पुरिएको निधन भएको छ । त्यस्तै सामुदायिक बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको घर भत्किँदा पुरिएर निधन भएको थियो । काभ्रे इबो स्कुलमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीको समेत पहिरोमा परी निधन भएको मन्त्रालयले जनाएको छ ।

बनेपा नगरपालिकास्थित आशापुरेश्वर आधारभूत विद्यालयका एक विद्यार्थीको पहिरोमा पुरिएर निधन भएको छ । काभ्रेकै रोशी गाउँपालिकास्थित ज्वालादेवी प्राविका २ जना विद्यार्थीको परिवारसहित निधन भएको छ ।

मकवानपुरमा ६ जना विद्यार्थीको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिकास्थित वत्सलादेवी माविका ६ जना विद्यार्थीको पहिरोमा पुरिएर निधन भएको हो ।

त्यस्तै रुपन्देहीमा समेत २ जना विद्यार्थीको मृत्यु भएको छ । रूपन्देहीको बुटवल उपमहानरगपालिकास्थित कालिका मानविज्ञान माविमा कक्षा १० मा अध्ययनरत २ जना विद्यार्थीको धादिङको झ्याप्लेखोला पहिरोमा परी निधन भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप