आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

थुरमको ह्याट्रिकमा इन्टर मिलानको रोमाञ्चक जित

आइतबार, २० असोज २०८१, १० : १७
आइतबार, २० असोज २०८१

काठमाडौँ । इटालियन सिरिए फुटबलको आफ्नो पछिल्लो खेलमा इन्टर मिलानले प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । घरेलु मैदानमा खेलिएको उक्त खेलमा इन्टर मियानले प्रतिद्वन्द्वी टोरिनोमाथि ३–२ गोलको रोमाञ्चक जित हासिल गरेको हो ।

खेलको प्रारम्भमै टोरिनो १० खेलाडीमा समेटिएको थियो । निर्धारित समयको २०औँ मिनेटमा भ्रमणकारी टोली टोरिनोका गुइलेर्मो मरिपान गम्भीर फाउल खेलेका कारण सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

तर, १० खेलाडीमा समेटिएर पनि टोरिनोले बलियो इन्टर मिलानलाई चर्को दबाब दिएको थियो । तर, आफ्ना प्रभावशाली खेलाडी मार्कुस थुरम नायक बनेपछि इन्टर मिलानले खेल जित्यो । इन्टर मिलानका लागि तीनवटै गोल थुरमले नै गरेका थिए ।

खेल सुरु भएको २५औँ मिनेटमा इन्टर मिलानका लागि थुरमले पहिलो गोल गरेका थिए । ३५औँ मिनेटमा उनले नै इन्टर मिलानको अग्रता दोब्बर बनाएका थिए । निर्धारित समयको ३६औँ मिनेटमा टोरिनोका लागि डुभान जापाटाले जवाफी गोल गरेका थिए ।

यसैगरी, निर्धारित समयको ६०औँ मिनेटमा थुरमले आफ्नो ह्याट्रिक पुरा गरेका थिए । ८६औँ मिनेटमा निकोलाले पेनाल्टीमार्फत टोरिनोका लागि दोस्रो गोल गरेका थिए । जितसँगै इन्टर मिलान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

इन्टर मिलानले सात खेलबाट १४ अंक बटुलेको छ । इन्टर मिलानले हालसम्म चार जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ । समान खेल खेलेको नापोली १६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । टोरिनो भने सात खेलबाट ११ अंक बटुल्दै तालिकाको छैटौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप