आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
कलाकार

‘हिरो हुने मेरो क्षमता छैन’

सबैले कमेडी भूमिका दिन्छन्, म के गरौँ ? ः केदार घिमिरे
आइतबार, २० असोज २०८१, १० : १५
आइतबार, २० असोज २०८१

काठमाडौँ । फिल्म ‘छक्का पञ्जा–५’को प्रचार सामग्रीमा यो पटक केदार घिमिरे मुख्य कलाकार दीपकराज गिरीसँगै प्राथमिकतामा छन् । प्रचारका लागि बनाइएको पोस्टरमा समेत उनी यसअघिका सिक्वेलभन्दा भिन्न देखिने गरी सुटबुटमा सजिएका छन् ।

पोस्टर हेर्दा घिमिरे पनि मुख्य भूमिकामै छन् कि भन्ने कौतुहलता दर्शकमा जाग्ने गरेको छ । तर फिल्ममा आफू सह-कलाकारकै भूमिकामा रहेको घिमिरे बताउँछन् ।

‘विगतमा भन्दा यो पटक मलाई झिल्के पारामा देख्न सकिन्छ’, घिमिरेले भने, ‘फिल्ममा पहिले झैँ कमेडी खालकै भूमिकामा छु ।’ फिल्मको मुख्य पात्र दीपकराज गिरीसँग आफू धेरै पटक जोडिएर आउने उनले सुनाए ।

घिमिरेका अनुसार फिल्ममा उनी ‘काका’ पात्रको भूमिकामा  छन् । ‘त्यस्तो काका, जो सबैलाई अप्ठ्यारो पर्दा सहयोग गर्छ । म जुन ठाउँमा बस्छु, त्यो ठाउँको पपुलर काका हो’, उनले भने, ‘समाजसेवीको रूपमा चिनिएको पनि छु ।’

काकाको भूमिकामार्फत आफूले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने उनको भनाइ छ ।

‘छक्का पञ्जा–५’ दीपकराज गिरी र दीपाश्री निरौला टिमको फिल्म हो । यो टिममा घिमिरे विगतदेखि नै सह-कलाकारको रूपमा देखिँदै आएका छन् । फिल्म टिमवर्क भएकाले जुन भूमिका सहज हुन्छ, त्यो गर्नुपर्ने घिमिरेको तर्क छ ।

फिल्ममा दीपकराज गिरी र वर्षा शिवाकोटीको मुख्य भूमिका छ । घिमिरे सह-कलाकारको भूमिकामा भए पनि प्रचारप्रसारमा भने जोडतोडले लागिपरेका छन् । विगतमा भन्दा यो पटक फिल्म चौतर्फी घेराबन्दीमा परेकाले दौडधुप बढी गर्नुपरेको उनले बताए ।

हुन त घिमिरेका सहपाठी सीताराम कट्टेल ‘धुर्मुस’ हिरो (मुख्यपात्र) रहेको एउटा फिल्म रिलिज भइसक्यो । अर्को फिल्म ‘लाजशरणम’ छायाङ्कन भइरहेको छ । तर आफूलाई अहिलेसम्म हिरो हुन मन नलागेको घिमिरे बताउँछन् ।

‘हास्य कलाकारको राम्रो स्थान भनेको सह-कलाकार नै हो । मलाई फिल्ममा अफरहरू पनि यस्तै भूमिकामा आयो’, उनले भने, ‘रुचि पनि यस्तैमा भएकाले निरन्तरता दिइरहेको छु ।’

अन्य हास्य कलाकारलाई पनि उनी हिरोभन्दा सह-कलाकारमा जोड दिन सुझाउँछन् । यसैमा राम्रो हुने उनको बुझाइ छ । आफ्नो क्षमता हिरो हुने नरहेको समेत उनले प्रस्ट पारे ।

436517717_7355853491129370_8357277363191968174_n

घिमिरे हालै अनमोल केसी मुख्य भूमिकामा रहने फिल्म ‘जेरी अन टप’मा अनुबन्धित भएका छन् । यसमा पनि उनी अन्य फिल्मको जस्तै हँसाउने सह-कलाकारको भूमिकामा देखिने छन् ।

‘सबै फिल्ममा एकै खालको भूमिका गर्दा वाक्क हुँदैन ?’ जवाफमा घिमिरेले भने, ‘सबैले यस्तै भूमिका दिन्छन् । म के गरौँ ?’

केहीमा फरक गरौँ भनेर आफूले प्रस्ताव गरे पनि यस्तै भूमिका ठिक हुन्छ भनेर सुझाव दिने गरेको उनको भनाइ छ ।

‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको फिल्म हो । फिल्मको विगतका सिरिज हेर्ने हो भने हल्काफुल्का मनोरञ्जनमै केन्द्रित थियो । यो पटक पनि फिल्म मनोरञ्जनात्मक नै भएको घिमिरे बताउँछन् । उनले भने, ‘फिल्मले दर्शकलाई मनोरञ्जन गराउँदै अन्त्यमा सन्देश दिन्छ ।’

केही दिन अगाडिको अविरल वर्षाले देशमा ठुलो धनजनको क्षति भएको छ । कयौँ मानिस घरबारविहीन भएका छन् । यस्तो अवस्थामा पनि केदार घिमिरे फिल्म ‘छक्का पञ्जा– ५’ भन्दै हिँडेका छन् । यसको अन्तर्य खुलाउँदै घिमिरेले भने, ‘हास्य व्यङ्ग्य कलाकार पीडामै आउने हो । शोकलाई लिएर गाईजात्रा बन्यो । भूकम्पको समय पनि गाउँगाउँ गएर हँसाएका थियौँ ।’

  • अभिनयकै दिन पैसा

केदार घिमिरे सानो पर्दाको टेलीशृङ्खला ‘मेरी बास्सै’बाट उदाएका कलाकार हुन् । उनी ‘माग्नेबुढा’ को उपनामबाट चिनिएको पनि सानो पर्दाबाटै हो । लामो समयदेखि उनी ठुलो पर्दामा रमाइरहेका छन् । ठुलो पर्दाको अभिनयले गर्दा सानो पर्दाको अभिनय छुटेको उनी बताउँछन् । दुवैतिर एकसाथ काम गर्न नभ्याइने उनको भनाइ छ ।

‘म लेखक पनि हो । ठुलो पर्दामा धेरै समय दिनुपर्छ’, घिमिरेले भने । चर्चा र पैसाको हिसाबले ठुलो पर्दाभन्दा सानो पर्दा नै उचित देखेका छन् उनले । कारण खोले, ‘सानो पर्दामा जुन दिन अभिनय गर्‍यो, त्यही दिन पैसा आउँछ । ठुलो पर्दामा कुर्नुपर्छ ।’

magne-buda

  • परिवार नै अभिनयमा

केदार घिमिरेको परिवार नै अभिनयमा छन् । उनकी श्रीमती सीतादेवी तिमल्सिना पनि सानो पर्दा र ठुलो पर्दामा नियमित अभिनय गरिरहेकी छन् । सीतादेवीको अभिनय रहेको फिल्म ‘सानो संसार’ गत शुक्रबार प्रदर्शनमा आएको थियो ।

देशमा अविरल वर्षा र त्यसबाट निम्तिएको भयानक परिस्थितिका कारण फिल्मको प्रदर्शन रोकेर कार्त्तिकका लागि सारिएको छ । सीतादेवी हास्य शृङ्खला ‘सक्कीगोनी’मा देखिँदै आएकी छन् ।

घिमिरेका छोरा आशिष घिमिरे अहिले फिल्म ‘होस्टल ३’मा अभिनयरत छन् । परिवारै कलाकारितामा हुँदा चर्चा बढी मिल्ने उनी बताउँछन् ।

‘श्रीमती त पहिलेदेखि नै कलाकारितामा थिइन् । छोरालाई मेरीबास्सैमा अर्काको सानो छोरा खेलाउँदा सिन नराम्रो भएकाले अभिनय गराएका थियौँ’, केदारले भने, ‘अहिले मेरो उद्देश्य नै कलाकारिता हो भन्छ ।’

छोरोले कलाकारितालाई नै उद्देश्य बनाएपछि गुरुकुलमा अभिनय र अन्य विभिन्न प्रशिक्षणसमेत दिलाएको घिमिरेले बताए । परिवारमा सबै कलाकार भएपछि घर सुनसान र खाली उनले पाएका छन् । उनले भने, ‘केही दिन अगाडि एक कार्यक्रम सकेर अमेरिकाबाट फर्किएर घर गएको । आउनु भयो भन्ने कोही भएन ।’   

  • निर्देशनमा आउँछु

फिल्म अभिनय मात्र होइन, केदारको निर्देशन गर्ने सोच पनि छ । केही अगाडि नै निर्देशनमा आउने सोचका साथ उनले लेखन पनि थालेका थिए । तर अभिनयका लागि बाहिरको फिल्मको निरन्तर अफर भएकाले उनको निर्देशन यात्रा अगाडि बढ्न नसकेको हो । ‘अभिनय अफर पाउन्जेल यो त छोड्नु भएन,’ उनले भने ।

निर्देशन उनको रहर मात्र भने होइन । केही गर्ने सोच पनि हो । ‘बाहिरको फिल्म अभिनय गरिरहँदा असन्तुष्टि हुँदो रहेछ’, घिमिरे थप्छन्, ‘म भए यस्तो गर्थेँ । यस्तो फिल्म गर्न पाए हुन्थ्यो भन्ने हुँदोरहेछ ।’

आफूले निर्देशन गर्ने फिल्म कमेडी र पारिवारिक विषयको हुने घिमिरेले खुलाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप