आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

लेबनानबाट २१५ चिनियाँ नागरिकको उद्धार

आइतबार, २० असोज २०८१, ०० : ३३
आइतबार, २० असोज २०८१

बेइजिङ । इजरायलले गत महिनादेखि लेबनानमा तीव्र गोलाबारी गरेपछि चीनले आफ्ना २१५ जना नागरिकलाई उद्धार गरेको छ ।

लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा शनिबारसम्ममा एक हजार १०० भन्दा बढीको मृत्यु भएको छ ।

यसै साता इजरायलले इरान समर्थित हिजबुल्लाहको पकड रहेको दक्षिणी लेबनानको केही भागमा आफ्नो सेनाले ‘स्थलगत आक्रमण’ गरेको बताएको थियो ।

इजरायलले हालै लेबनानसँगको आफ्नो उत्तरी सीमाको सुरक्षामा आफ्नो ध्यान केन्द्रित गरेको छ । यहाँ हिजबुल्लाहले आफ्नो प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा आक्रमण सुरु गरेयता दैनिकजसो भिडन्त हुने गरेको छ। 

रूस, फ्रान्स, स्पेन, जर्मनी र बेलायतलगायतका विभिन्न देशले पनि लेबनानबाट आफ्ना नागरिकलाई हटाउने अभियान सुरु गरेका छन् ।

बेइजिङको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीन सरकारको संगठन र व्यवस्थाअन्तर्गत लेबनानबाट हालसम्म दुई समूहमा २१५ जना चिनियाँ नागरिकलाई सकुशल उद्धार गरिएको छ ।”

“लेबनानस्थित चिनियाँ दूतावासले लेबनानमा आफ्नो उद्धार अभियान जारी राखेको छ र त्यहाँ रहेका चिनियाँ नागरिकलाई सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ,” विज्ञप्तिमा भनिएको छ।

उद्धार गरिएका चिनियाँ नागरिकलाई कहाँ लगिएको हो भन्ने बारे मन्त्रालयले केही बताएको छैन ।

लेबनानी अधिकारीहरूका अनुसार सेप्टेम्बर २३ मा इजरायली बमबारीमा वृद्धि भएयता लेबनानमा एक हजार ११० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने १० लाखभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेपछि चीनले बुधबार विश्वशक्ति राष्ट्रहरूसँग द्वन्द्वलाई थप अगाडि बढ्न नदिन पहल गर्न आग्रह गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप