आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

ललितपुरमा आइपुग्यो दक्षिणकालीको खानेपानी

आइतबार, २० असोज २०८१, ०० : २५
आइतबार, २० असोज २०८१

काठमाडौँ । दक्षिणकाली नगरपालिकाले ललितपुरका लागि पानी पठाएको छ । खानेपानी मन्त्री प्रदीप यादवले शनिबार दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल पानी आपूर्तिमा सहयोग गरिदिन आग्रह गरेका थिए ।

मन्त्री यादव आफैँले आग्रह गरेपछि दक्षिकालीको पानी शनिबार साँझदेखि भैँसेपाटीको ट्यांकीमा झरेको छ । काठमाडौँ उपत्यका खोनेपानी लिमिटेड (केयुकेएल) भैँसीपाटीले शनिबार साँझबाट पानी आउन थालेको जनाएको छ ।

दक्षिणकाली नगरपालिका र स्थानीयसँग गरिएका कतिपय प्रतिबद्धता भने पूरा गर्न बाँकी रहेकाले दशैँलगत्तै पूरा गर्नुपर्ने सहमति भएको केयुकेएलले जनाएको छ ।

अहिले पानी केयुकेएल भैँसीपाटीको खानेपानी टयांकीमा अइपुगेको खानेपानी मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलदेवी शाक्य बज्रचार्यले जानकारी दिए ।

उनले भने, 'तत्काल दसैँसम्मलाई दक्षिणकाली नगरपालिकाले त्यहाँबाट पानी छोडिदिने तथा पूर्णिमाको पर्सिपल्ट पुनः बैठक बसेर सम्पूर्ण क्षतिको लागत अनुमान तयारी गरी ललिपुर महानगरपालिका, दक्षिणकाली नगरपालिका र केयुकेल बसेर के–के काम गर्न सकिन्छ सो विषयमा सम्झौतापत्र तयार गरी हस्ताक्षर गर्ने सहमति भएपछि पानी आएको हो ।'

ललितपुरमा रहेको केयुकेएलको खानेपानी ट्यांकीमा पानी आइपुगेकाले अब चाँडै यहाँका नागरिकलाई पानी वितरण सुरु गरिने केयुकेएलका कार्यकारी निर्देशक अशोक पौडेलले बताए । 

खानेपानीमन्त्री यादव शनिबार दक्षिणकाली नगरपालिका पुगेर आफू राज्यको प्रतिनिधि भएकाले दक्षिणकालीमा बाढीपहिरोलगायत विपद्‌बाट नागरिकले भोग्नुपरेका पीडा तथा खानेपानीका समस्या समाधान गर्न प्रयास गर्ने बताएका थिए । 

मन्त्री यादवले बाढीपहिरोले दक्षिणकालीका खानेपानीका मुहानमा भएका क्षतिको मर्मतसम्भार गर्न तत्काल योजनाबद्ध रुपमा काम थाल्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेको बताए। बाढीले भत्काएका र बिगारेका खानेपानीका मुहान मर्मत यथाशीघ्र गरिने उनले प्रतिबद्धता जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप