आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सिटी र आर्सनलको पुनरागमन जित

शनिबार, १९ असोज २०८१, २२ : १७
शनिबार, १९ असोज २०८१

लण्डन । इंग्लिस प्रिमियर लिगमा साबिक विजेता म्यानचेस्टर सिटी र आर्सनल दुवैले पुनरागमन जित हासिल गरेका छन् । शनिबार भएको खेलमा सिटीले फुलहम तथा आर्सनलले साउथ ह्याम्पटनलाई हराएको हो ।

आफ्नो घरेलु मैदानमा सिटी खेलको २६ औँ मिनेटमा अप्रत्याशित रूपमा पछि परेको थियो । आन्द्रेयास परेराले फुलहमका लागि गोल गर्दै घरेलु टोलीलाई स्तब्ध बनाएका थिए । तर, माटेयो कोभाचिचले ३२ औँ मिनेटमा नै बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुवातमा उनले अर्को गोल थप्दै टोलीलाई अग्रता दिलाए । ८२ औँ मिनेटमा जेरेमी डोकुले टोलीको अग्रता फराकिलो बनाए ।

८८ औँ मिनेटमा रोड्रिगो मुनिएजले फुलहमका लागि दोस्रो गोल गरे पनि टोलीले बराबरी गोल भने फर्काउन सकेन । खेल ३(२ ले सिटीले आफ्नो पक्षमा पार्न सफल भयो । योसँगै सिटी सबै प्रतियोगिताका ५० खेलमा अपराजित रहेको छ । 

उता, आर्सनलले गोलले पछि परेको स्थिति उल्टाउँदै साउथह्याम्पटनलाई ३–१ गोलले हरायो । आर्सनल पनि घरेलु मैदानमै ५५ औँ मिनेटमा एक गोलले पछि परेको थियो । साउथह्याम्पटका लागि क्यामरुन आर्चरले पहिलो गोल गरे ।

तर, लगत्तै काई हाभर्टजले आर्सनलका लागि बराबरी गोल फर्काए । ६८ औँ मिनेटमा ग्याब्रियल मार्टिनेलीले दोस्रो गोल गरे भने ८८ औँ मिनेटमा बुकायो साकाले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । जितपछि सिटीको ७ खेलबाट १७ अङ्क रहेको छ । आर्सनलको समान खेलबाट समान अङ्क छ । गोलअन्तरको आधारमा सिटी दोस्रो र आर्सनल तेस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप