शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

‘विजयबास’ पुगेर राजेन्द्र लिङ्देनविरुद्ध राप्रपा इतरपक्षको हारगुहार !

शनिबार, १९ असोज २०८१, १९ : २९
शनिबार, १९ असोज २०८१

काठमाडौँ । शुक्रबार राप्रपाका केही पदाधिकारीसहित दुई दर्जन हाराहारीका केन्द्रीय सदस्य महाराजगन्जस्थित पूर्वअध्यक्ष पशुपतिशमशेर राणाको निवास ‘विजयबास’मा भेला भए । दसैँको शुभकामना आदानप्रदानका लागि भेला भएको भनिएपनि त्यसको उद्देश्य अर्को पनि थियो । त्यो उद्देश्य भनेको अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध दबाब बढाउनू ।

असोज १७ गते अध्यक्ष लिङ्देनले महामन्त्री धवलशमशेर राणालाई संगठन विभाग प्रमुखबाट पदमुक्त बनेपछि असन्तुष्ट बनेको इतर समूहका नेताहरू पशुपतिशमशेर राणाको साथ खोज्दै पुगेका हुन् । सो क्रममा राजेन्द्रले ‘पेलेको’ भन्दै उनलाई सचेत गराइदिन सहभागीले राणासमक्ष आग्रह गरेका थिए ।

 यसरी बिजयबास पुग्ने नेताहरूमा महामन्त्री कुन्ती शाही, सहमहामन्त्री रवीन्द्र प्रताप शाह, कोषाध्यक्ष नीलकण्ठ काफ्ले, सहायक महामन्त्री शौरेन्द्र शाहसहित नेताहरू जनकराज पाठक, किशोर कार्की, धनसुर शाही, पूजा राणा, प्रवीण थोकर, निरञ्जन थापा, कर्णबहादुर शाही, राजु विष्ट, विक्रम थापालगायत दुई दर्जन थिए ।

 उनीहरूले धवलशमशेर बिरामी भएर उपचार गर्न भारत गएका बेला सामान्य मानवीय संवेदनासमेत ख्याल नगरी लिङ्देनले जिम्मेवारीबाट हटाएको भन्दै राणासमक्ष गुनासो पोखेका थिए ।  इतर समूहका नेताहरुले हारगुहार गरेपछि राणाले आफूले यस विषयमा लिङ्देनसँग कुरा गर्ने आश्वासन दिएका थिए । उनले निर्णय गर्दा छलफल भने हुनुपर्ने धारणाा समेत राखेका थिए । 

भेटमा सहभागी केन्द्रीय सदस्य धनसुर शाहीले पशुपति शमशेरले धवलशमशेरलाई जिम्मेवारीबाट हटाएको विषयलाई गम्भीर रूपमा लिएको दाबी गरे । ‘जुन प्रकारले उहाँ अहिले क्यान्सरको रोगसँग लडिरहेको बेला कुनै छलफल बहसै नगरिकन जिम्मेवारी हेरफेर गर्दा उहाँ (पशुपतिशमशेर) चिन्तित हुनुहुन्छ’, उनले भने, ‘उहाँले लिङ्देनसँग यस विषयमा छलफल गर्ने बताउनु भएको छ ।’ 

उनका अनुसार राजेन्द्रसँग छलफल गर्नकै लागि आफूहरुसँगको भेटपछि भारतको पशुपतिशमशेरको दिल्ली जाने कार्यक्रम आइतबारका लागि स्थगित भएको छ । लिङ्देन उपत्यका बाहिरबाट फर्किएसँगै राणाले धवललाई हटाएको विषयमा छलफल गर्ने बताइएको छ । 

आगामी महाधिवेशनलाई लक्षित गर्दै लिङ्देन समूह इतर समूहबीच राजनीतिक प्रतिस्पर्धा बढिरहेका बेला रणनीतिक चाल चाल्दै लिङ्देनले धवलको जिम्मेवारी खोसेर उपाध्यक्ष बुद्धिमान तामाङलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएका थिए । धवललाई इतर समूहबाट आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारको रूपमा हेरिएको छ । इतर पक्षलाई कमजोर बनाउने रणनीतिअनुसार नै लिङ्देनले पछिल्लो कदम चालेको बुझाइसका साथ इतर समूहले तीव्र विरोध गर्दै आएको छ । 

पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले समेत सामाजिक सञ्जालमार्फत अध्यक्षको निर्णय अस्वीकार गर्ने घोषणा गरेका थिए । राप्रपाका केन्द्रीय सदस्य निरञ्जन थापाले विजयबासमा समग्र पार्टीमा उत्पन्न आन्तरिक समस्याबारे छलफल भएको र राणाले गम्भीरतापूर्वक लिएकाले समस्याको समाधान हुने विश्वास व्यक्त गरे । 

राप्रपाको इतर समूहले लिङ्देनलाई ठुलो भरोसाका साथ अघिल्लो महाधिवेशनबाट नेतृत्वमा ल्याइएपनि अध्यक्ष भएपनि पार्टीभित्र समन्वय नगरेको आरोप लगाउँदै आएको छ । अहिले आएर केन्द्रीय समितिले गर्नुपर्ने निर्णय समेत अध्यक्षले विधानलाई आफूखुसी व्याख्या गर्ने गरेको उनीहरूको गुनासो छ । 

तर, प्रवक्ता मोहन श्रेष्ठ भने अध्यक्षले गरेको पछिल्लो निर्णय विधानसम्मत भएको दाबी गर्छन् । ‘हिजो पार्टीको अध्यक्ष भएर आएकाले पनि, भोलिका दिनमा पार्टी अध्यक्ष हुन्छु भन्नेहरूले पनि र पार्टी सदस्य सबैले बुझ्नुपर्ने कुरा के भने राप्रपाको विधानमा विभाग प्रमुखहरूको मनोनयन पार्टी अध्यक्षले गर्ने भन्ने स्पष्ट व्यवस्था छ । कुनै समितिको बैठकले गर्ने होइन’, श्रेष्ठले भने ।

अघिल्लोपटक अध्यक्षलाई विधानले दिएको त्यही अधिकार बमोजिम नेताहरू बुद्धिमान तामाङ राजनीतिक विभाग प्रमुख, ध्रुवबहादुर प्रधान प्रशिक्षण विभाग प्रमुख, डा धवलशमसेर राणा संगठन विभाग प्रमुख र अरु अन्य विभागहरूको प्रमुख मनोनयन भएको उनले तर्क गरे ।  अहिले पनि अध्यक्षले सोही विधान बमोजिम केही विभाग प्रमुख नेताहरूको जिम्मेवारी हेरफेर र केही विभाग प्रमुखहरूको नयाँ मनोनयन गरेको श्रेष्ठको जिकिर छ । 

२०८२ मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने राप्रपाभित्र पछिल्लो समय विवाद बढ्नुका साथै नेताहरुबीच गुटबन्दी समेत बढ्दै गएको पार्टीका नेताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप