आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

अमृत के हो, कहाँ र कसरी पाइन्छ ?

शनिबार, १९ असोज २०८१, १८ : ०२
शनिबार, १९ असोज २०८१

अमृत भन्ने शब्द सुन्ने र देख्नेबित्तिकै हामीलाई सत्य युगमा देवता र दानव सहभागी भएर समुद्र मन्थन गरी घडामा निकालेको झोल पदार्थ भन्ने सम्झिहाल्छौँ । 

हामीले सुनेको अर्को कुरा पनि छ— यो खाएपछि देवता वा मान्छे बलशाली र अजर वा अमर बन्छ । हामीले हाम्रा बाजे–बराजुले भनेको कथाका रूपमा होस् वा विभिन्न पुराण पढेर होस्, प्रायः हामी सबै वयस्कलाई यो कथा थाहा छ ।

हाम्रा पुराणले समुद्र मन्थन गरेर मात्र अमृत पाइन्छ भनेको पक्कै होइन होला । अमृत कहाँ छ ? कसरी पाइन्छ ? अमृत खोज्दा विष पनि आउन सक्छ भन्ने ज्ञानका लागि प्रतीकात्मक रूपमा बताएर हामीलाई सजग हुन संकेत गरेको भने पक्कै हुन सक्छ । 

वास्तवमा अमृत खोज्न समुद्रमै जानुपर्छ होला र ? समुद्र मन्थन गरेर निकालेको मात्र अमृत हो भने देवताले बाहेक आजसम्म कसैले सेवन गर्न पाएको छ कि छैन ? अर्थात् हामीले हालसम्म अमृत सेवन गर्न पाएका छौँ कि छैनौँ होला त ? 

आउनुहोस्, हामीले अमृत कहाँबाट, कसरी र कति पाइरहेका छौँ ? यसको थोरै चर्चा गरौँ । 

वास्तवमा हामीले याद गरे पनि नगरे पनि अमृत हाम्रो शरीरमा रहिरहेको छ र बाहिरबाट पनि पाइरहेका छौँ । शरीरमा अमृत बनाउन सक्ने विषयलाई हामीले खाने मात्र नभई देख्ने, सुन्ने, छाम्ने र सँुघ्ने गरिरहेका छौँ । यसो भनिरहँदा हामीमध्ये कोही कसैलाई अलमल पनि हुन सक्छ ।

समुद्र भनेको मन हो र मन्थन भनेको मनमा चल्ने विचारहरूको द्वन्द्व हो । विचार गरिने विषयहरू हामी बाहिर भए पनि मन्थन गर्न भने मनमै छिर्नुपर्छ । सकारात्मक विषयमा मन चल्छ भने अमृत उत्पादन हुने भयो ।

हालसम्म हामीले अमृत सेवन गर्न नपाएको भए न हामी जन्मने थियौँ, न त बाँच्ने थियौँ । हरक्षण श्वास नलिए हामी रहँदैनौँ । सामान्यतः तीन मिनेट श्वास लिन नपाए मान्छे मर्छ । यही होइन र सबैभन्दा ठुलो अमृत ? पृथ्वीमा दुईतिहाइ पानी छ । हामी त्यही पानी पिउँछौँ । त्यही पानी, माटो, हावा, प्रकाश र माटोले गर्दा नै दैनिक जीवन धान्न अन्न फलहरू प्राप्त गर्छौं । जुनसुकै रूपमा भए पनि हामी आगोमा पकाएर खान्छौँ । शरीरमा पनि अग्नि तत्त्व छ र त हामी जीवित छौँ । यसैगरी आकाश नभएको भए हाम्रो अस्तित्व नै हुने थिएन । हामी मात्र होइन, आकाश नभए एउटा तृण पनि कहाँ बस्थ्यो ? सूर्यको प्रकाशविना जीवन छैन । आँखा भएर मात्र बाहिरका वस्तु देखिएको होइन । त्यो वस्तु प्रकाशित भएकाले मात्र हामी देख्न सकेका छौँ । हाम्रा लागि माटो, पानी, हावा, प्रकाशभन्दा महत्त्वपूर्ण अमृत अरू के होला ? 

योभन्दा अझै सामान्य उदाहरणका पनि कुरा गरौँ । हाम्रो आँखाले यस जगत्मा रहेका हरेक दृश्य देख्छौँ । कुनै दृश्यले मन गद्गद् बन्छ, फराकिलो भएजस्तो बनाइदिन्छ भने कुनै दृश्यले मन खल्लो वा खुम्चिएको भान हुन्छ । यसरी बाहिर देखिने सुन्दर दृश्यले हाम्रो भित्री भावमा सकारात्मक र नकारात्मक प्रभाव पार्छ । यस अवस्थामा शरीरको प्रणालीले अमृत वा विष तत्त्व उत्पादन गरिरहन्छ । अमृत र विष उत्पादन गर्ने कारखाना हामीभित्रै छ । बाहिरबाट जे खाए पनि वा देखे पनि सुने पनि वा सुँघे पनि अमृत वा विष उत्पादन हुने भनेको हामीभित्रै हो । 

यसलाई अझै स्पष्ट रूपमा भन्नुपर्दा अमृत तत्त्व बाहिर पनि छन् र उत्पादन गर्न सघाउने विषय वा कच्चा पदार्थ हामीभित्रै छन् । जान्नेहरू अर्थात् शास्त्रीय शब्द र सन्दर्भलाई हाम्रो जीवनमा व्याख्या गर्नेहरू भन्छन्— समुद्र भनेको मन हो र मन्थन भनेको मनमा चल्ने विचारहरूको द्वन्द्व हो । विचार गरिने विषयहरू हामी बाहिर भए पनि मन्थन गर्न भने मनमै छिर्नुपर्छ । सकारात्मक विषयमा मन चल्छ भने अमृत उत्पादन हुने भयो । यसैगरी नकारात्मक विषयहरू चले भने विष बनेर भित्रै बस्ला वा बाहिर निस्कला ।

बिहान सूर्योदय हुनुअघि र सूर्योदय हुनेबित्तिकैको समयलाई अमृतबेला भनिन्छ । रातभर मस्त निद्रामा रहेर पूरा ताजापनका साथ बिहानको अमृत समय अर्थात् ब्रह्म मुहूर्तमा उठ । यतिबेला सोचेको कुरा, गरेको कामको पूर्ण सकारात्मक प्रभाव पर्छ भन्ने कुरा हामीले हाम्रा मातापिताकै मुखबाट सुन्दै आएका छौँ । यस मानेमा यहाँ समय अमृत भयो ।

बाह्य परिस्थितिलाई आफ्नो मनस्थितिले सम्हाल्ने मान्छे हरक्षण सुखी र खुसी रहन सक्छ, तर स–सानो कुरामा पनि चिन्ता र तनाव लिने व्यक्ति दुःखी देखिन्छ । यस्ता कुराको नतिजा हामीले आफ्नै अनुभव र अनुभूतिबाट थाहा पाइरहेका छौँ । अरू व्यक्तिको हकमा अमृत उत्पादन भयो कि विष भनेर मापन गर्न अर्काको मनभित्रको प्रणालीमा छिरेर हेर्न सकिँदैन । तैपनि कोही व्यक्तिमा अमृत हाबी छ वा विष भन्ने कुरा उसको चेहरा वा व्यवहारबाट सोझै अनुमान लगाउन सकिन्छ । 

हामीलाई चाहिने अमृत सबै एकै प्रकारका पक्कै छैनन् । त्यसमाथि हामीले खाएका कुराले मात्र अमृत उत्पादन गर्छ भन्ने पनि होइन । वस्तुलाई बाहिर देख्न र भित्र सूचना पठाइदिने काम आँखाले गर्छ भने कानले सुनेर, छालाले स्पर्श गरेर, नाकले सुँघेर, जिब्रोले स्वाद लिएर सूचना संकलन गर्ने कामको जिम्मा पाएका छन् । यही सूचना शरीरभित्रको पाँचै इन्द्रियको मुख्य केन्द्रमा पुगेपछि त्यहाँ भएको शक्तिले पहिचान गर्ने, चिन्ने, बुझ्ने र क्रिया–प्रतिक्रिया गर्ने ऊर्जा अमृत नै हो । हाम्रा सबै अङ्ग–प्रत्यङ्गले अमृत पाएरै आ–आफ्नो काम गर्न सकिरहेका छन् । त्यसैले त हामी जीवित छौँ । 

यस्तै, बिहान सूर्योदय हुनुअघि र सूर्योदय हुनेबित्तिकैको समयलाई अमृतबेला भनिन्छ । रातभर मस्त निद्रामा रहेर पूरा ताजापनका साथ बिहानको अमृत समय अर्थात् ब्रह्म मुहूर्तमा उठ । यतिबेला सोचेको कुरा, गरेको कामको पूर्ण सकारात्मक प्रभाव पर्छ भन्ने कुरा हामीले हाम्रा मातापिताकै मुखबाट सुन्दै आएका छौँ । यस मानेमा यहाँ समय अमृत भयो ।

यसै गरी एउटा व्यक्तिलाई अमृत भएको कुरा वा वस्तु अर्को व्यक्तिलाई नहुन सक्छ । जस्तो ः शरीरमा चिनीको मात्रा कम भएर नकारात्मक असर परेकालाई गुलियो अमृत हुन सक्छ भने न्यून रक्तचापकालाई नुनिलो अमृत हुने भयो । यस्तै कुनै वस्तु छुट्टाछुट्टै खाँदा अमृत हुन्छ भने मिसिएमा विष पनि बन्न सक्छ । जस्तो ः कागती, दुध, दही आदि छुट्टाछुट्टै खाँदा अमृत होला । तिनवटै कुरा अमृत हुन् भनेर मिसाएर खान सकिँदैन । यस्तै घिउले कसैलाई बेफाइदा गर्ला भने कसैलाई चिल्लो नखाए खाना नपच्ला, शरीरमा सुक्खापन होला । हाम्रो व्यावहारिक जीवनमा यस्ता अनगिन्ती उदाहरण हुन सक्छन् । त्यसैले सबैलाई र सबै समय अनि एउटै खाना अमृत वा विष हुने होइन । 

कसैको बोली, सत्संग, प्रवचनलाई अमृत वचन भनिन्छ । कोही व्यक्ति, नातागोता, साथीभाइसँग सम्बन्ध राम्रो, सहयोगी र सुमधुर भए त्यो सम्बन्ध अमृत भयो, तर हर समय चिडचिडाहट निकाल्ने, सदा अड्को मात्र थाप्ने गरम व्यवहार भए त्यस्तो सम्बन्ध अमृतमय बन्न सक्दैन । यसमा अझ हेर्नुपर्ने कुरा अर्को छ, बाहिरका विषयवस्तु वा परिस्थितिले राम्रो वा नराम्रो भएर सोझै अमृत वा विष निस्कने होइन । व्यक्तिले कुनै विषय वा घटनालाई तत्काल शरीरको प्रणालीले जसरी आत्मसात गर्छ, सोही अनुसार अमृत वा विष उत्पादन गरिदिने रहेछ । 

अन्त्यमा, जति लामो डोरी बाटे पनि गाँठो एउटै भनेझैँ अमृतका सम्बन्धमा दुई–तीनवटा पाटामा रहेर हेर्न सकिने भयो । पहिलो छ— हामीलाई बाँच्न, बलवान हुन, निदाउन, खुसी हुन, सुमधुर सम्बन्ध कायम गर्न, प्रगति गर्न जे जे कुराले मद्दत पुर्‍याउँछन्, ती सबै अमृत रहेछन् । जे कुराले हामीलाई बेखुसी, निस्तेज वा मलिन बनाउँछन्, त्यस्ता सबै विषय विष रहेछन् ।

दोस्रो कुरा, वस्तु वा परिस्थिति आफैँमा न अमृत हो न त विष । व्यक्तिले कुनै परिस्थिति, विषय वा पदार्थलाई कसरी ग्रहण गर्छ, त्यही भावले मनरूपी समुद्रमा मन्थन गरेर आफूभित्र अमृत वा विष उत्पादन हुने रहेछ । तेस्रो कुरा, आफूले आफ्नोे वा अरूका लागि पनि अमृत वा विष के उत्पादन गर्ने वा गराउने भन्ने व्यक्तिको आ–आफ्नै भावमा अन्तर्निहित हुने पनि रहेछ । हाम्रो जीवनमा पञ्चमहाभूत (जल, वायु, तेज, आकाश, पृथ्वी) लगायत समय अमृत, वचन अमृत, खाना अमृत, सम्बन्ध अमृतजस्ता विभिन्न रूपमा यहाँ जताततै अमृतै अमृत रहेछन् । के कति र कसरी लिएका छौँ र लिने भन्ने आफ्नै सुझबुझको मात्राले निर्धारण गर्ने देखियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यवदना घिमिरे पण्डित
सूर्यवदना घिमिरे पण्डित
लेखकबाट थप