शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

दसैँ र तिहार लगत्तै व्यवस्था र सरकार दुवै फाल्नुपर्छ : ज्ञानेन्द्र शाही

शनिबार, १९ असोज २०८१, १७ : १६
शनिबार, १९ असोज २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दसैँ र तिहार सकिए लगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने आवश्यकता औँल्याएका छन् ।  शनिबार काठमाडौँमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारको उपस्थिति नागरिक विपत्तिमा परेर सयौँको सङ्ख्यामा ज्यान गुमाउँदा पनि नदेखिएपछि यो सरकारलाई पाल्नुपर्ने कुनै कारण नै नभएको टिप्पणी गरे । 

उनले अहिले सरकार र सत्ता पक्षका नेताहरू जनताको घरदैलोमा जान त परै जाओस् सार्वजनिक कार्यक्रममा समेत भाग लिन डराउन थालेको आरोप लगाए । उनले भने, ‘सरकार पक्षका मान्छे जनताकहाँ जान डराउँथे, तर अब त सार्वजनिक कार्यक्रममा पनि आउन डराए । यिनीहरू अहिले पत्रकारदेखि भाग्न थाले । जनतादेखि भाग्ने, देशको प्रधानमन्त्री अमेरिकामा जाँदा कार्यक्रम स्थगन गर्ने, वास्तवमा यिनीहरूको पालो अब भाग्ने नै हो । यो सरकारको अब दिनगन्ती सुरु भइसक्यो । गतिलो काम गरेको भए यसरी भाग्नुपर्दैन थियो ।’

शाहीले धादिङको झ्याप्ले खोलाको पहिरोले ३५ जना नागरिकले ज्यान गुमाउनुमा राज्य जिम्मेवार रहेको आरोप लगाए ।  उनले भने, ‘मौसम पूर्वानुमान महाशाखाले तीन दिनअघि नै अलर्ट गराएको थियो । तर, राज्यको उपस्थिति देखिएन । नेपालको भएको यो घटना यदि युरोप, अमेरिका वा अरबमा घटेको भए के हुन्थ्यो ? आज ती जिल्लाका सिडिओ, एसपीहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा चल्दथ्यो । फाँसी दिने देशमा त तिनीहरूलाई फाँसी दिइन्थ्यो ।’

ललितपुरको नख्खुमा नागरिकले घण्टौँदेखि ज्यान बचाउनको लागि याचना गर्दा पनि सरकारको उपस्थिति नदेखिएकोमा पनि उनले सरकारको असफलतासँग जोडे । उनले भने, ‘नख्खुबाट सिंहदरबार धेरै टाढा छैन । जनताले घण्टौँ चिच्याउँदा पनि उद्धार भएन । यो अवस्था भोलि अरू नागरिकलाई नआउला भन्न सकिएला । हामीले आखिरमा सरकारबाट के पायौँ त ? ज्यान बचाउनको लागि याचना गर्दा पनि सरकार देखिएन । कर के को लागि तिरेका छौँ ? कर्मचारीलाई तलब खुवाउनको लागि मात्रै हो ? आज विपत्ति पर्दा सरकार कहाँ गयो ?म भन्छु अहिलेको राज्य संयन्त्र फेल भइसक्यो । देशमा गृहमन्त्रीको आदेश कसैले मान्दैन । त्यसैले अब जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जाऊँ । यही व्यवस्था रह्यो भने भोलि म नै प्रधानमन्त्री भएँ पनि केही गर्न सक्दिनँ ।’

उनले आफूले सर्वदलीय बैठकमा समेत हवाई भाडामा भएको मूल्यवृद्धिको विषय उठाएको स्मरण गराए । तर, विभागीय मन्त्री पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेले भने भाडा घट्ने भनेर आश्वासन दिएको भए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताए । 

उनले अहिले सरकार जनतामा जान नसक्नुको कारण जनताले कालो मोसो दलेर पठाउने नै मुख्य कारण भएको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप