शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सका क्याबिन क्रु काममा फर्किए, उमेर हद ५० वर्ष पुर्‍याउने सहमति

शनिबार, १९ असोज २०८१, १७ : ०८
शनिबार, १९ असोज २०८१

काठमाडौँ । दसैँको मुखमा ४५ वर्ष उमेर हदको विषयलाई लिएर आन्दोलन गर्दै आएका नेपाल एयरलाइन्सका क्याबिन क्रुहरु काममा फर्किएका छन् । शनिवार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा उमेर हद ५० वर्ष पुर्‍याउन मन्त्रालय सहमत भएपछि  उनीहरू आन्दोलन स्थगित गरेका हुन् ।  

नेपाल एयरलाइन्सको नियमावलीमा विमानको परिचारिकाका लागि ४५ वर्षको उमेर हद रहने व्यवस्था छ । उक्त उमेर बढाउन उनीहरूले माग गर्दै आएका थिए ।

आजको छलफलमा उक्त नियमावली परिवर्तन गर्ने प्रक्रिया सुरु गर्न मन्त्रालय सहमत भएको छ । यद्यपि यसबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र  अन्तरिम आदेश समेत भएकोले महान्यायाधिवक्तासँग परामर्श गरेर अघि बढ्ने मन्त्री बद्री पाण्डेले बताए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले क्याबिन क्रु मेम्बरहरुले आफूहरूमाथि भेदभाव भएको, आफूहरूलाई विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, आफूहरूको सुनुवाइ नभएको विषय राखेकोमा सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताए । उनले अदालतमा रहेको मुद्दाका बारेमा महान्यायाधिवक्ता कार्यालयसँग राय लिएर अघि बढ्ने निष्कर्ष बैठकले निकालेको बताए ।

उनले नेपालका सन्दर्भमा अहिले औसत आयु बढेको र विभिन्न अनुभव र तालिममा गरिएको लगानीलाई हेर्दा पनि उमेर हद ५० वर्ष पुर्‍याउँदा फाइदा हुने बताए । मन्त्रालयसँगको सहमतिसँगै छलफलमा सहभागी विमान परिचारक/परिचारिकाहरू आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्किने प्रतिबद्धतासहित फर्किनुभएको मन्त्री पाण्डेको भनाई थियो । 

निगममा कार्यरत परिचारिकाहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकाशमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी गत पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त मुद्दा अहिले विचाराधीन छ । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेको भन्दै बुधबारदेखि उनीहरू आन्दोलनमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप