शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

विपद् प्रभावितहरूको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन

शनिबार, १९ असोज २०८१, १७ : ००
शनिबार, १९ असोज २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् प्रभावितहरूको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिएका छन् । शनिबार मन्त्रालयमा ३० दिनदेखि अनसनरत दीपक सिलवालको माग सम्बोधन गर्दै आमरण अनसन तोडिसकेपछि बोल्दै गृहमन्त्री लेखकले स्थानीय तहले विपद् प्रभावितहरूको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउने बताएका हुन् । 

उनले त्यसको लागि स्थानीय तहले चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरेर संघ सरकारलाई नाम पठाउनुपर्ने बताए । उनले अविरल वर्षाका कारणले देशभर बाढी र पहिरोका कारणले ठुलो जनधनको क्षति भएको उल्लेख गर्दै सरकार गम्भीर भएर काममा लागेको जिकिर गरे । उनले विपद्बाट मृत्यु भएका मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लाहरूमा पैसा पठाइसकेको बताए । 

उनले भने, ‘हामी अहिले विपद्को अवस्थामा छौँ, धेरै पीडा छ । अविरल वर्षाका कारणले देशभर बाढी र पहिरोका कारणले ठुलो जनधनको क्षति भएको छ । अहिले जुन जनधनको क्षति भएको छ, त्यसमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हामीले मृतकका परिवारलाई क्षतिपूर्ति भन्न त मिल्दैन । किनभने मृत्युको क्षतिपूर्ति हुँदै हुँदैन । म सबै मृतकप्रति हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु, परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । हामीले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लाहरूमा पैसा पठाइसकेका छौँ । चाँडो भन्दा चाँडो घरमै गएर पीडित परिवारलाई राहत दिने निर्णय भएको छ । तदनुरूप राहत दिने काम भइरहेको छ । घाइतेको स्वास्थ्य लाभको लागि अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेका छौँ । ज्यादा नोक्सानी भएका ठाउँहरूमा विपद्बाट भएका नोक्सानीको सङ्कटग्रस्त क्षेत्र भनेर तोकेका छौँ । त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गर्नेछ । उद्धार, राहत, पुनर्निर्माण, पुनर्स्थापनाको सवालमा जस्तो पूर्णरुपले क्षति भएका घरको लागि तत्काल अस्थायी आवास बनाउन रकम निकासा गर्ने कुरा अघि बढेको छ । म सबै स्थानीय तहलाई के आग्रह गर्न चाहन्छु भने चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरेर पठाइदियो भने पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउन सक्छौँ ।’

प्रसव पीडामा परेको महिला र ज्यान जोखिममा परेका ग्रामीण भेगका नागरिकको स्वास्थ्य उपचारका लागि आपत्कालीन हेली उद्धारको माग राखी भदौ २१ गतेदेखि सिलवाल आमरण अनसन बसेका थिए । गर्भवती एवं सुत्केरी महिलाहरू विपद् एवं आकस्मिक घटनाका कारण घाइते भई सघन उपचार आवश्यक भएका तत्कालीन सडक मार्गबाट उद्धार असम्भव वा सडक मार्गबाट उद्धार गर्दा समय धेरै लागि ज्यान जान सक्ने अवस्था रहेकाहरूको आपत्कालीन हवाई उद्धार गर्ने विषयमा सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप