शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

मधेस प्रदेशमा १७ प्रकारका चुनौती, ६ हजार ३९४ जना प्रहरी खटाइने

आवश्यकता अनुसार ड्रोनबाट निगरानी
शनिबार, १९ असोज २०८१, १६ : ४९
शनिबार, १९ असोज २०८१

वीरगन्ज । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । प्रदेश प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै सुरक्षा योजना सार्वजनिक गरेको हो । 

प्रदेशलाई भयरहित चाडपर्व मनाउन प्रदेशका हरेक जिल्लामा साढे १४ सय भन्दा बढी प्रहरी टोली खटाइएको छ ।  चाडपर्वमा हुन सक्ने विभिन्न अपराधलाई वर्गीकरण गरेर सुरक्षा योजना तयार पारिएको मधेस प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले प्रदेशमा हुनसक्ने सम्भावित अपराधहरूमा चोरी तस्करी, मठ मन्दिरमा पूजाआजा भिडभाड, सवारीसाधनको बढी चाप, कालो बजारी, जुवा तास, मूर्ति विसर्जनको सुरक्षा, पकेटमारी/चेन स्न्याचिङ लगायत घटना, मेलाहरूमा सुरक्षा, सांस्कृतिक सुरक्षा, सरकारी कार्यालयको सुरक्षा, बैंक तथा वित्तीय संस्थाहरूमा भिड, चोरी बढ्न सक्ने, पटका तथा आतिशबाजीको प्रयोग, मादक पदार्थ तथा लागु औषधको सेवन गरी सवारी चलाउनेलाई सम्भावित अपराधको शीर्षकमा राखेको छ ।  

यसै गरी लागु औषध कारोबार, धार्मिक सद्भाव, यात्रुहरू ठगिने समस्याहरूलाई प्रदेश प्रहरीले सुरक्षा चुनौतीको शीर्षकमा राखेको छ । 

मधेस प्रदेश प्रहरीको चाडपर्व लक्षित गर्दै तयार पारेको सुरक्षा योजना १५ असोजदेखि २५ कार्तिकसम्म लागू रहनेछ । प्रहरीले प्रदेशमा खास गरी १७ प्रकारका चुनौतीहरू रहेका विवरण सार्वजनिक गरेको छ । 

प्रदेशका ८वटै जिल्लामा उस्तै प्रवृत्तिको चुनौतीहरू रहेको पाइएको मधेस प्रहरी प्रमुख लालमणि आचार्यले बताए । 

खुल्ला सीमा भएका कारण प्रदेशका जिल्लाहरूमा चोरी र तस्करी प्रमुख चुनौती देखिएको प्रदेश प्रहरीले जनाएको छ । 

  • कति प्रहरी परिचालित ?

यी सम्भावित अपराधलाई प्रहरी रोक्न प्रहरीले प्रदेशभरि व्यापक सङ्ख्यामा प्रहरी परिचालन गर्ने योजना सार्वजनिक गरेको छ । प्रदेश प्रहरीले शान्तिपूर्ण चाडपर्व मनाउनका लागि प्रदेशभरि ६ हजार भन्दा बढी प्रहरी परिचालन गर्ने रणनीति तयार पारेको छ ।   

दसैँ तिहारको मौका छोपी हुन सक्ने चोरी डकैती तथा लुटपाटका घटनालाई न्यूनीकरण गर्न ६ हजार ३९४ जना प्रहरी खटाइने योजना बनाइएको मधेस प्रदेश प्रहरीका डीआईजी लालमणि आचार्यले बताए । 

चाडपर्वको समयमा आपराधिक क्रियाकलापहरू हुन नदिई शान्ति सुरक्षा कायम राख्न प्रदेशभर व्यापक प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।  

यस्तै चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा विक्री वितरण, आगजनी, विस्फोटन, तस्करी, चोरी निकासी, ट्राफिक दुर्घटनालाई नियन्त्रण गर्न सुरक्षा योजना अनुरूप जनशक्ति खटिने जनाइएको छ । 

यसको अलावा व्यापारिक केन्द्र, वित्तीय संस्था, बैंक लगायत बढी भिडभाड हुने स्थलहरूमा उच्च निगरानी राखिने प्रहरीको सुरक्षा योजना छ ।

यसै गरी सवारी साधनको ‘गति’ नियन्त्रणका लागि विभिन्न स्थानमा आकस्मिक चेकजाँच तथा ‘राडार गन’ को प्रयोग तथा मेकानिकल चेकजाँच तथा मोटरसाइकल गस्ती लगायतका सुरक्षा जाँच गरिनेछ । त्यस्तै विस्फोटक पदार्थ एवम् लागु औषध चेकजाँचका लागि कुकुर परिचालन गरिने मधेस प्रदेश प्रहरीको योजना छ ।

डीआईजी आचार्यले समयानुकूल सुरक्षा योजना परिमार्जन गर्दै कार्यान्वयन गर्ने बताए । उनका अनुसार सुरक्षाकर्मीको भाषा शिष्ट, सरल र स्पष्ट हुनुका साथै सबै प्रहरी कर्मचारीहरूले आ–आफ्नो जिम्मेवारी बोध गरी सर्वसाधारणको सुरक्षालाई प्राथमिकता राख्न निर्देशन दिइएको छ । 

  • २३ प्रकारका ड्युटी तालिकामा के–के छन् ?  

प्रहरीले सुरक्षा योजनालाई सफल बनाउन प्रदेशका हरेक जिल्लामा २३ प्रकारको ‘ड्युटी’ को कार्यतालिका तयार पारेको छ । 

भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि प्रहरीले बेग्लाबेग्लै शीर्षकमा ड्युटीको सूचि तयार पारेको छ ।  

त्यस अनुसार प्रहरीले चेकिङ तथा प्रदेश अनुगमन, कमान्ड पोस्ट, रिजर्भ टोली, क्यूआरटी टोली, स्ट्राइकिङ, ट्राफिक सहितको चेकिङ, मोबाइल पेट्रोल, फुट पेट्रोल, पिकेट ड्युटी, एम्बस, हाइवे स्कटिङ, यात्रु सहायता कक्ष, तस्करी नियन्त्रणमा सीमा नाकामा, झै–झगडा चोरी लुटपाट जुवा तास नियन्त्रणका लागि ड्युटी टोली खटाउने योजना लिएको छ । 

यसै गरी धार्मिक तथा पर्यटक स्थलहरुको सुरक्षा, आर्थिक कारोबार हुने स्थानको सुरक्षा, बजार अनुगमन, सादा पोसाक/सूचना सङ्कलन, कर्डन एन्ड सर्च, सभा धर्ना तथा जुलुस लगायत कार्यक्रमको आकस्मिक सुरक्षा, मापासे चेकिङ, लामो दुरीको सवारी साधनमा चेकिङ तथा अन्य ४७ वटा टोली खटाउने योजनाहरू प्रदेश प्रहरीले तय गरेको छ । 

  • कुन ड्युटीमा कति प्रहरी खटिने ?

प्रहरीले प्रदेशमा आवश्यकता अनुसार ‘डग स्निफिङ’ र ‘ड्रोन’ क्यामराको मद्दतबाट समेत सुरक्षा दिने योजना बनाइएको प्रदेश प्रहरीले जनाएको छ ।   

प्रहरीले सबैभन्दा बढी पिकेटतर्फ प्रहरी टोली खटाएको छ, जसमा ३२५ ठाउँमा प्रहरी परिचालन हुनेछन् । 

त्यसपछि फुट पेट्रोल २१२, मोबाइल पेट्रोल १२३,  आर्थिक कारोबार हुने स्थानहरूको सुरक्षा १०३, ट्राफिक सहितको चेकिङ ११६, हाइवे स्कर्टिङ २६, तस्करी  नियन्त्रण सीमा नाकामा ८६ वटा टोली गरी २३ प्रकारका ड्युटीमा टोली परिचालन गर्ने सुरक्षा योजना बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप