शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
प्रलेस विमर्श

प्रगतिशील लेखक सङ्घको वैचारिकी

शनिबार, १९ असोज २०८१, १८ : ३०
शनिबार, १९ असोज २०८१

प्रगतिशील लेखक सङ्घ (प्रलेस)ले आफ्नो ७३औँ स्थापना दिवस मनाएको छ । मुलुकभरिका स्रष्टालाई सङ्गठित गर्दै जनवादी साहित्यको प्रचार एवं साहित्य र संस्कृतिको उन्नयन गर्ने उद्देश्यसहित २००९ असोज ५ गते यसको स्थापना भएको थियो । 

नेपाल कम्युनिस्ट पार्टीको स्थापना, राणाशासन विरोधी आन्दोलन, नेपाली साहित्यमा पाइने सुधारवादी एवं परिवर्तनमुखी चेतना, भारतमा प्रगतिशील लेखक सङ्घको स्थापना, अन्तर्राष्ट्रिय स्तरमा फासीवादको विरोध तथा प्रगतिशील साहित्यको विकासका निम्ति गरिएको संस्थागत प्रयास, सोभियत लेखक सङ्घको स्थापना एवं त्यसको वैश्विक प्रभाव आदि नेपालमा प्रलेस स्थापनाका प्रेरक थिए ।

आरम्भमा प्रलेस आजको जस्तो साझा संस्थाका रूपमा थिएन । नेकपाको विभाजनपछि यसले विभिन्न कम्युनिस्ट पार्टीसँग सम्बद्ध र असम्बद्ध स्रष्टाहरूको साझा संस्थाको रूप ग्रहण गर्‍यो । यसलाई वैचारिक, साङ्गठनिक एवंं कार्यक्रमिक रूपले सुदृढ गर्ने कार्यहरू भए । मूलतः यो प्रगतिवादी स्रष्टाहरूको साझा संस्थाका रूपमा रहेको छ । प्रगतिवादी स्रष्टाहरू नै यस संस्थाको केन्द्रमा रहँदै आएका छन् । कम्युनिस्ट पार्टीसँग नजोडिएका तर प्रगतिवादी मान्यता अनुसार लेखनमा सक्रिय स्रष्टाहरू पनि यससँग जोडिएका पाइन्छन् । यस्ता साहित्यकारहरूको संख्या निकै थोरै छ । प्रगतिशील साहित्यकारहरूको संख्या पनि निकै कम छ । प्रगतिशील र प्रगतिवादी भनेर जसरी परिभाषित गरिएको छ, त्यस अनुसार अगाडि आउने चित्र हो यो । प्रगतिशील दृष्टिकोण राख्ने साहित्यकारहरूको भिन्नै उपस्थिति एक प्रकारले पाइँदैन भन्दा हुन्छ । ती कुनै न कुनै रूपमा कम्युनिस्ट आन्दोलनसँग नै जोडिएका पाइन्छन् । 

साझा संस्था भने पनि यसमा सबै कम्युनिस्ट पार्टीहरूसँग सम्बद्ध स्रष्टाहरूको सहभागिता छैन । यससँग जोडिएका कतिपय कम्युनिस्ट पार्टीहरूसँग सम्बद्ध स्रष्टाहरू प्रलेससँग विमति राख्दै यसबाट बाहिर छन् । यो विमति कम्युनिस्ट पार्टीहरूबिचका वैचारिक भिन्नतासँग पनि जोडिएको छ । यति हुँदाहुँदै पनि प्रलेस अहिलेसम्म साझा संस्थाका रूपमा रहेको छ । यसै अनुरूप यो क्रियाशील छ । साझा संस्थाका सीमा हुन्छन्, यसका पनि छन् । यस सीमालाई विचार, सङ्गठन, कार्यक्रम सबैतिर नियाल्न सकिन्छ । यसको प्रभाव आन्दोलनमा पर्नु स्वाभाविक छ, परेको छ । 

प्रलेसले विचारधारात्मक सङ्घर्ष बाहिर मात्र होइन, आफ्नै आन्दोलनभित्र पनि चलाउन आवश्यक छ । आफूभित्रका गलत विचार एवं मूल्यका विरुद्ध सङ्घर्ष गर्न जरुरी छ । विचारधारात्मक सङ्घर्ष बाहिर, भित्र र भित्र पनि आफैँसँग आत्मसङ्घर्षका रूपमा समेत चल्नुपर्छ ।

प्रलेस नेपाली समाजको आमूल परिवर्तनको पक्षमा उभिँदै आएको छ । यसका निम्ति वैचारिक, सिर्जनात्मक एवं साङ्गठनिक रूपमा सक्रिय रहेको छ । यसले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा आवाज उठाएको छ । स्वतन्त्रता, समानता र सामाजिक न्यायका सङ्घर्षमा सहभागी भएको छ । पुँजीवाद, साम्राज्यवाद, नवउपनिवेशवाद, प्रभुत्ववादका विरुद्धमा सङ्घर्ष गरेको छ । अन्यायपूर्ण युद्धको विरोध, न्यायपूर्ण सङ्घर्ष एवं राष्ट्रिय मुक्ति आन्दोलनको समर्थन गर्दै विश्व शान्तिका पक्षमा उभिएको छ । परिवर्तनका निम्ति चलेका राजनीतिक एवं सामाजिक–सांस्कृतिक आन्दोलनमा यसको सक्रिय सहभागिता रहेको छ । 

प्रगतिशील स्रष्टालाई सङ्गठित गर्दै प्रगतिशील साहित्यिक आन्दोलनको विस्तार, प्रगतिशील साहित्यको विकास एवं मुलुकको परिवर्तनका निम्ति यसले निर्वाह गरेको भूमिकालाई कुनै पनि दृष्टिले अवमूल्यन गर्न मिल्दैन । तर यस्तो गरिएको छ । यसलाई हेर्ने र मूल्याङ्कन गर्ने कुरामा आग्रह–पूर्वाग्रह र सङ्कीर्णताले काम गरेका छन् । प्रलेसका कमजोरी छन् तर कमजोरीभन्दा राम्रा पक्ष धेरै छन् । मूल्याङ्कन गर्दा राम्रा पक्षलाई महत्त्व दिइनुपर्छ । योगदानको अवमूल्यन हुने गरी यसका कमजोरीलाई बढाइचढाई प्रस्तुत गरिनु हुन्न । यस्तो आलोचनालाई समुचित र सन्तुलित मानिन्न । 

प्रलेसले इतिहासमा कस्तो भूमिका सम्पादन गर्‍यो ? यसका राम्रा–नराम्रा पक्ष के रहे ? यसबाट के कस्ता उपलब्धि प्राप्त भए ? जस्ता प्रश्नमा घोत्लिँदै अब यसले के गर्नुपर्ला भन्ने विषयमा गहिरो विमर्श आवश्यक छ । इतिहासका अनुभवबाट सिक्दै आगामी भूमिकाका बारेमा गम्भीर रूपमा विचार गर्नु अबको दायित्व हो । गहिरो विमर्श नगरी आउँदा दिनमा यसको भूमिकालाई प्रभावकारी बनाउन सकिने छैन । प्रलेस मूलतः वैचारिक एवं सिर्जनात्मक आन्दोलन हो । यो आन्दोलन प्रगतिशील साहित्यको उन्नयन, सामाजिक–सांस्कृतिक रूपान्तरण, समस्त विभेद विरुद्ध सङ्घर्ष र समग्र परिवर्तनसँग जोडिएको छ । 

प्रगतिशील लेखकहरूको हकहितको संरक्षण गर्नु; प्रगतिशील साहित्यिक आन्दोलनलाई बलियो बनाउनु; प्रगतिशील साहित्यलाई समृद्ध गर्नु; धर्मनिरपेक्षता, सांस्कृतिक रूपान्तरण र नयाँ संस्कृति निर्माणका पक्षमा उभिनु; वर्गीय, जातीय, लैंगिक, भाषिक, सांस्कृतिक एवं धार्मिक विभेद र उत्पीडनको विरोध गर्नु; स्वतन्त्रता, समानता, सामाजिक न्याय एवं मानवताका पक्षमा आवाज उठाउनु; सबै प्रकारका अतिवादको प्रतिवाद गर्नु; बाह्य हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, क्षेत्रीय अखण्डताको पक्षमा उभिनु; असमान सन्धि–सम्झौताको अन्त्यका निम्ति सङ्घर्ष गर्नु प्रलेसका उद्देश्य रहेका छन् । 

प्रलेसमा आबद्ध स्रष्टामा आफू प्रतिबद्ध राजनीतिक सङ्गठनका सीमा मात्र पाइँदैनन्, आफूभित्रका कमजोरी पनि पाइन्छन् । प्रलेसको अगुवाइ गर्नेहरू त विचारमा अझ स्पष्ट गहिरो र दृढ हुनुपर्छ ।

यसका उद्देश्यमा पुँजीवाद, साम्राज्यवाद, उपनिवेशवाद, प्रभुत्ववादका विरुद्ध सङ्घर्ष र न्यायपूर्ण आन्दोलनहरूको समर्थन; अन्यायपूर्ण युद्ध एवं हात–हतियार निर्माणको विरोध; विश्वमा शान्ति स्थापनाको आग्रह; राष्ट्रियता, जनतन्त्र र जनजीविकाका निम्ति विभिन्न मुलुकमा संङ्घर्षरत जनता एवं प्रगतिशील साहित्यिक सङ्गठन र स्रष्टासँग मैत्रीपूर्ण सम्बन्धको विस्तार र सहकार्य आदि पनि रहेका छन् । 

प्रलेसले साहित्यलाई समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति मानेको छ । ‘गतिशील यथार्थको उद्बोधन गर्दै समाजको समतामूलक आमूल रूपान्तरणका लागि सहयोग पुर्‍याउनुपर्छ भन्ने चिन्तन राखी वर्ग विभक्त समाजमा वर्ग सङ्घर्षलाई उक्त रूपान्तरणको प्रमुख कारक एवं प्रेरक तत्त्व ठान्ने र श्रमिक वर्गलाई सम्पूर्ण भौतिक एवं भावनात्मक सम्पदाका स्रष्टा र इतिहासका निर्माता स्वीकार गर्दै द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्य चिन्तनका आधारका रूपमा अँगाल्ने’ विषय यसको प्रस्तावनामा उल्लेख छ । 

प्रस्तावनामा प्रलेसलाई कला–साहित्यका क्षेत्रमा वैज्ञानिक चेतनाले सुसज्जित समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व एवं पक्षपोषण गर्ने साङ्गठनिक रूपमा प्रतिबद्ध स्रष्टाहरूको साझा मञ्चका रूपमा पनि उल्लेख गरिएको छ । यसबाट प्रलेस कस्तो संस्था हो र यसले के गर्नुपर्छ भन्ने स्पष्ट हुन्छ । 

  • विचारधारात्मक सङ्घर्ष

प्रलेस परिवर्तनपछि निर्माण भएको कठिन समयमा छ । ऐतिहासिक सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिमाथि चारैतिरबाट प्रहार भइरहेका छन् । यस्तो समयमा यसले विचारधारात्मक सङ्घर्षलाई बढी महत्त्व प्रदान गर्नुपर्छ । विचारधारात्मक सङ्घर्षलाई सङ्घर्षको महत्त्वपूर्ण क्षेत्रका रूपमा लिइन्छ । आन्दोलन जोगाउन र बलियो बनाउन, उद्देश्यहरूबाट दायाँ–बायाँ हुनबाट जोगिन, दृष्टिकोणलाई माझ्न र ठिक दिशा पहिल्याएर अघि बढ्न, प्रतिध्रुवसँग उपलब्धिमूलक सङ्घर्ष चलाउन, आन्दोलनलाई जोगाउन र उद्देश्य अनुरूप अघि बढ्न विचारधारात्मक सङ्घर्ष गर्नुपर्छ । विचारधाराका क्षेत्रमा गरिने सङ्घर्षलाई विचारधारात्मक सङ्घर्ष भनिन्छ । 

प्रलेसले साहित्य, कला, संस्कृतिका साथै दर्शन, राजनीति, अर्थशास्त्र आदि क्षेत्रमा विचारधारात्मक सङ्घर्ष चलाउनुपर्छ । यस सङ्घर्षका आन्तरिक र बाह्य पक्ष छन् । सङ्गठन र आन्दोलनभन्दा बाहिरका विषय बाह्य पक्षसँग सम्बन्धित विषय हुन् । आफैँसँग सङ्घर्ष गर्नुपर्ने विषय आन्तरिक पक्षसँग जोडिन्छन् । 

नेपालमा प्रतिध्रुवीय विचारका अनेकौँ रूप क्रियाशील छन् । दर्शन, राजनीति, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, साहित्य, कला–संस्कृति आदि सबै क्षेत्रमा यसलाई नियाल्न सकिन्छ । अन्धविश्वास, रुढी, व्यक्तिवाद, उपभोक्तावाद आदिलाई मलजल गर्ने अनेकौँ दृष्टिकोण छन् । भाग्य र कर्मको दास बनाउने, परलोक र पुनर्जन्ममा विश्वास जगाउने, यथार्थ एवं आलोचनात्मक विवेकबाट विरत तुल्याउने अनेकौँ शास्त्र छन् । लोकप्रियतावादी, सांस्कृतिक एवं धार्मिक अतिवादी विचार हलक्क बढेका छन् । साहित्य, कला एवं मनुष्यको वस्तुकरणको प्रक्रिया तीव्र छ । बजार निर्णायक र नियामक छ । साहित्यको समाजपरक एवं सौन्दर्यपरक भूमिका विरोधी दृष्टिकोण सक्रिय छन् । प्रगतिशील साहित्य, कलाका साथै कम्युनिस्ट आन्दोलन विरोधी स्वरहरू सघन छन् ।

परिवर्तनपछि पनि नेपालको तस्बिर धेरै फेरिएको छैन । नेपालको पुँजीवाद दलाल पुँजीवादका रूपमा छ । मुलुक आर्थिक रूपले कमजोर छ । भ्रष्टाचार डरलाग्दो गरी बढेको छ । राजनीति अनेकौँ विकृति र विसङ्गतिले आक्रान्त छ । वर्गीय, जातीय, लैंगिक, सामाजिक–सांस्कृतिक एवं धार्मिक विभेद र उत्पीडन घटेका छैनन् । प्रत्येक दिन डेढ हजारभन्दा बढी युवा बिदेसिन्छन् । 

प्रगतिवाद त छाडौँ, प्रगतिशीलसम्म हुन नसकेकाहरू आन्दोलनमा कति छन् कति । प्रलेसमा प्रतिबद्ध युवाहरूको संख्या उत्साहजनक छैन । कतिपय प्रगतिवादी स्रष्टा संस्थाप्रति त्यति सकारात्मक पाइँदैनन् ।

सामाजिक–सांस्कृतिक रूपान्तरणको गति उत्साहजनक छैन । संसदीय प्रणालीबाट अघि बढ््न चाहने कम्युनिस्ट पार्टी र आन्दोलनमा गम्भीर कमजोरी छन् । पुँजीवाद एवं प्रतिध्रुवीय शक्ति र विचारसँग सङ्घर्षभन्दा सम्झौता गर्ने प्रवृत्ति बढेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विषय गम्भीर छन् । मानिस अतार्किक, मनोगतवादी, अराजक, आत्मकेन्द्रित, संवेगप्रधान, व्यक्तिवादी र उपभोक्तावादी बन्दै छ । सत्यलाई आत्मनिष्ठ बनाइँदै छ र आफूलाई जे लाग्छ त्यसैलाई सत्यका रूपमा परिभाषित गरिँदै छ । यथार्थलाई भ्रम र भ्रमलाई यथार्थ बनाइँदै छ । प्रविधि र बजारको मायावी संसारमा मानिस मानिस हुनुको अर्थ गुमाउँदै छ । असमान सन्धि–सम्झौताहरू जीवित छन्, बाह्य हस्तक्षेप बढेको छ । 

वैश्विक पुँजीवाद अझ बढी मानव विरोधी बनेको छ । यसका कारण विश्वले सङ्कटको सामना गर्दै छ । साम्राज्यवादी एवं नवऔपनिवेशिक हस्तक्षेप र उत्पीडनको पीडा विश्वका विभिन्न मुलुकले खप्दै छन् । विनाशकारी हात–हतियारको व्यापक निर्माण र अन्यायपूर्ण युद्ध रोकिएका छैनन् । साम्राज्यवादकै कारण विश्वका कैयौँ क्षेत्र अशान्त छन् । हजारौँ प्यालेस्टाइनी इजराइली आक्रमणका कारण मारिएका छन् । लाखौँ घरबार विहीन भएका छन् । गाजा खण्डहरमा बदलिएको छ । पश्चिम एसिया लगायत संसारका विभिन्न क्षेत्रमा तनाव छ । साम्राज्यवादी शक्तिद्वारा संसारका विभिन्न भागमा चलेका न्यायपूर्ण आन्दोलन दबाइएका छन् । जनविरोधी सत्ताले परिवर्तनका निम्ति चलेका सङ्घर्षलाई निर्ममतापूर्वक कुल्चिएका छन् । यी सबै विषय प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विचारधारासँग जोडिएका छन् । मुलुकभित्रको विषय होस् वा बाहिरको तिनलाई विचारधारासँग अलग गरेर हेर्न सकिन्न । नेपालको दलाल पुँजीवाददेखि कम्युनिस्ट आन्दोलनसम्म, विश्व पुँजीवाददेखि अन्यायपूर्ण युद्धसम्मका सबै विषयहरू विचारधारासँग सम्बन्धित छन् । साहित्य र कलाको क्षेत्र त झन् विचारधाराकै क्षेत्र पर्‍यो । 

अर्कातिर, प्रलेसमा प्रतिबद्ध स्रष्टामा कम्युनिस्ट आन्दोलनमा रहेका कमजोरीको छाप छ; सामन्ती एवं पुँजीवादी संस्कृति, मूल्य–मान्यता र दृष्टिकोणको प्रभाव छ । अध्ययनको कमी, अस्पष्ट दृष्टिकोण र गैरप्रगतिशील प्रवृत्ति विद्यमान छन् । इतिहास, संस्कृति, सभ्यता, धर्म, पहिचान, वर्ग, लिङ्ग, जात आदिलाई बुझ्ने कुरामै समस्या छन् । प्रविधि, प्रविधिको प्रभाव र प्रयोग, आभासीय संसार र यसका प्रभाव, साहित्य र कलाको वस्तुकरण, उपभोक्तावाद, व्यक्तिवाद, लोकप्रियतावाद, लोकप्रिय कला एवं सैद्धान्तिक वैचारिक विमर्शका अनेकौँ धारालाई बुझ्ने र ठिक दृष्टिकोणको निर्माण गर्ने कुरामै कमजोरी छन् । प्रलेसले विचारधारात्मक सङ्घर्ष बाहिर मात्र होइन, आफ्नै आन्दोलनभित्र पनि चलाउन आवश्यक छ । आफूभित्रका गलत विचार एवं मूल्यका विरुद्ध सङ्घर्ष गर्न जरुरी छ । विचारधारात्मक सङ्घर्ष बाहिर, भित्र र भित्र पनि आफैँसँग आत्मसङ्घर्षका रूपमा समेत चल्नुपर्छ । 

आज हामीमा आफ्नै साहित्यिक आन्दोलनका कमजोरी एवं आफैँसँग गर्नुपर्ने विचारधारात्मक सङ्घर्षमा ह्रास आएको छ । हामीबाट वैचारिक रचना कति लेखिँदै छन् ? हामी वैचारिक विषयमा कति बोल्ने गरेका छौँ ? वैचारिक कार्यक्रम कति चलाउने गरेका छौँ ? हाम्रो अध्ययनको स्तर के छ ? हामी कस्ता सामग्री पढ्छौँ ? हामीबाट लेखिने रचना विचार र कलाका दृष्टिले कस्ता छन् ? पुरस्कार र थरी थरीका साहित्यिक कार्यक्रमलाई हामी कसरी हेर्छौं ? वर्ग सङ्घर्षको कुरा गर्ने प्रलेस र प्रगतिवादी स्रष्टा कतै वर्ग समन्वयवादी हुँदै त छैनौँ ? आदि प्रश्नको उत्तर खोजे हाम्रो चित्र स्पष्ट हुनेछ । विचारमा कमजोर पल्टनले केही गर्न सक्दैन । प्रलेसमा आबद्ध स्रष्टामा आफू प्रतिबद्ध राजनीतिक सङ्गठनका सीमा मात्र पाइँदैनन्, आफूभित्रका कमजोरी पनि पाइन्छन् । प्रलेसको अगुवाइ गर्नेहरू त विचारमा अझ स्पष्ट गहिरो र दृढ हुनुपर्छ । प्रलेस हिजोदेखि नै आफ्ना कमजोरी विरुद्ध सङ्घर्ष गर्ने कुरामा अपेक्षा अनुसार अघि बढ्न सकेको पाइँदैन । प्रलेस आफ्नो निर्मम समीक्षा गर्नुपर्ने मोडमा उभिएको छ । 

सुन्दर सिर्जनाका निम्ति संस्थागत रूपमा प्रभावकारी भूमिका सम्पादन गर्नु प्रलेसको अर्को महत्त्वपूर्ण दायित्व हो । विमर्शको आयोजना, प्रकाशित सामग्रीका विश्लेषण र मूल्याङ्कन, रचनाहरूको प्रचार–प्रसार, सिर्जनाका निम्ति अभिप्रेरणा आदिका माध्यमबाट यस दिशामा महत्त्वपूर्ण भूमिका सम्पादन गर्न सकिन्छ । सिर्जना मूलतः व्यक्तिगत कार्य हो । स्रष्टाहरू स्वयं यसका निम्ति बढी गम्भीर बन्न सक्नुपर्छ । संस्थाहरूले यस विषयमा गर्ने मुख्य योगदान भनेको स्रष्टाको विश्व दृष्टिकोण, कलाबोध र सौन्दर्य चेतनाको परिष्कार र विस्तार गर्न भूमिका खेल्नु हो । उनीहरूका रचनाको प्रचार–प्रसार र उनीहरूलाई स्थापित गर्न योगदान दिनु हो । यसका निम्ति प्रलेस स्वयंले आफ्नो अध्ययनको क्षेत्र र स्तरलाई बढाउन सक्नुपर्छ । आजको समग्र नेपाली साहित्य, त्यसका दृष्टिकोण र प्रवृत्ति, वैश्विक रूपमा साहित्यको स्थिति, धारा र प्रवृत्ति, देशबाहिरको प्रगतिशील साहित्य र आन्दोलन आदिबारे प्रलेसले गहिरो अध्ययन गर्नुपर्छ । प्रगतिशील स्रष्टा आफ्ना रचनाका स्तरबारे समेत सचेत हुनुपर्छ । अन्तर्वस्तु र रूपका दृष्टिले सुन्दर रचनाले मात्रै मानिसको हृदयलाई प्रभावित गर्न र उसलाई बदल्न सक्छन् । यस्ता रचनाले नै परिवर्तनका निम्ति गहिरो योगदान दिन सक्छन् । प्रगतिशील साहित्यिक आन्दोलन आफैँभित्रका सङ्कीर्णता, पूर्वाग्रह र अहङ्कारबाट पनि मुक्त हुन सक्नुपर्छ । 

सङ्गठनलाई अझ बलियो र सक्रिय कसरी बनाउन सकिन्छ भन्ने प्रश्न पनि प्रलेसका अगाडि छ । सङ्गठन प्राविधिक विषय मात्र नभएर विचारको विषय पनि हो । प्रगतिवाद त छाडौँ, प्रगतिशीलसम्म हुन नसकेकाहरू आन्दोलनमा कति छन् कति । प्रलेसमा प्रतिबद्ध युवाहरूको संख्या उत्साहजनक छैन । कतिपय प्रगतिवादी स्रष्टा संस्थाप्रति त्यति सकारात्मक पाइँदैनन् । विचार, संख्या, रचना, क्रियाशीलताका दृष्टिले बलियो सङ्गठनले मात्र प्रभावकारी भूमिका सम्पादन गर्न सक्छ । प्रलेस गतिशील छ तर यसलाई अझ गतिशील बनाउन आवश्यक छ । यससँग आफ्नो भवन छैन । आर्थिक समस्या छ । सरकारको सहयोग छैन । कम्युनिस्ट पार्टी यसका बारेमा गम्भीर छैनन् । यसबाट यसको भूमिका प्रभावित छ तर यसले यिनै अप्ठेराका बिचबाट काम गर्दै आएको छ र भोलि पनि गर्नुपर्नेछ । प्रलेस जस्तो संस्थाको खाँचो आज पनि छ । मिलेर जान र सङ्घर्ष गर्न सकिने विषय र क्षेत्र छन् । 

आउँदा दिनमा वर्ग सङ्घर्षलाई समाजको आमूल परिवर्तनको प्रमुख कारक र प्रेरक ठान्ने प्रलेसको दृष्टिकोण, समाजवादी यथार्थवाद र द्वन्द्वात्मक भौतिकवादप्रतिको यसको प्रतिबद्धता एवं अन्य कतिपय महत्त्वपूर्ण सैद्धान्तिक विषयमा यसलाई फराकिलो बनाउने नाममा संशोधन गर्ने प्रयास हुन सक्नेछन् । प्रगतिशील साहित्यिक आन्दोलनमा वैचारिक क्षयीकरण निरन्तर बढ्दो छ । यस दिशामा गयो भने प्रलेसले आफ्नो औचित्य गुमाउनेछ । अहिले पनि कैयौँ प्रगतिशील स्रष्टा र प्रतिध्रुवीय स्रष्टाका बिचमा भिन्नता पहिल्याउन गाह्रो छ ।

नेपालमा प्रगतिशील साहित्यिक आन्दोलन भन्नाले मूलतः प्रगतिवादी स्रष्टा सम्बद्ध आन्दोलन भन्ने बुझिन्छ । हामीले परिभाषित गरे अनुसारका प्रगतिशील स्रष्टाको संंख्या निकै न्यून छ । यसको सङ्केत मैले माथि पनि गरेको छु । प्रगतिशील स्रष्टालाई यस्तो संस्थामा आबद्ध भएर अघि बढ्न गाह्रो हुँदैन । प्रगतिशीलहरूको विकास प्रगतिवादतिरै उन्मुख हुन्छ । नभए पनि सँगसँगै हिँड्न सकिने विषय धेरै हुन्छन् । प्रलेस आफ्ना घोषित प्रतिबद्धता र उद्देश्य अनुरूप चल्नुपर्छ, आ–आफ्ना पार्टीका नीति र निर्देशन अनुसार होइन । संस्थाको प्रतिबद्धता र उद्देश्यका निम्ति यसले पार्टीका कतिपय कुरालाई नाघ्ने आँट पनि गर्न सक्नुपर्छ । यसो हुन्थ्यो भने एमसीसी लगायत अन्य कतिपय विषयमा सबैका समान धारणा हुन्थे तर आफ्नै पार्टी र सरकारका कमजोरीको आलोचना गर्ने साहस हामी स्रष्टामा पाइँदैन । 

प्रगतिशील साहित्यिक आन्दोलनमा समन्वयवादी र विचारबाट पलायनको प्रवृत्ति बढेका बेला यसका विरुद्ध सशक्त सङ्घर्षको खाँचो छ । यो समस्या कम्युनिस्ट आन्दोलनसँग पनि जोडिएको छ । कम्युनिस्ट पार्टीहरूमा प्रगतिशील दृष्टिकोणसम्म नराख्ने स्रष्टा निकै छन् । उनीहरूको रूपान्तरण भएको पाइँदैन । यसको प्रभाव प्रलेसको जीवनमा परेको छ । प्रलेसले विचारबाट पलायन, समन्वयवादी र विचारविहीन बन्ने स्थितिबाट आफूलाई जोगाउनुपर्छ । यो समय आफूलाई वैचारिक रूपले अझ सुदृढ गर्नुपर्ने, प्रतिध्रुवीय चिन्तन र लेखनसँग अझ घनीभूत सङ्घर्ष चलाउनुपर्ने, सङ्घर्षबाट प्राप्त उपलब्धिलाई जोगाउँदै नेपाली समाजको आमूल परिवर्तनको दिशामा अघि बढ्नुपर्ने, बाह्य हस्तक्षेपको सशक्त प्रतिवाद गर्नुपर्ने, पुँजीवाद, साम्राज्यवादको विरोधमा दृढतापूर्वक उभिनुपर्ने, प्रगतिवादी साहित्य र यसको महत्त्वलाई अझ बढी स्थापित गर्नुपर्ने र कम्युनिस्ट एवं प्रगतिशील साहित्यिक आन्दोलनमा रहेका कमजोरीका विरुद्ध अझ सशक्त रूपमा सङ्घर्ष गर्नुपर्ने समय हो । आउँदा दिनमा हामी कसरी अघि बढ्नेछौँ, यसले नै प्रलेसको भूमिका र औचित्यलाई निर्धारण गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अमर गिरी
डा. अमर गिरी
लेखकबाट थप