शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

तनहुँ : छ महिनामा चार अजिङ्गरको उद्धार

शनिबार, १९ असोज २०८१, १५ : ३४
शनिबार, १९ असोज २०८१

तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चार अजिङ्गरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ । गत वैशाखदेखि यही असोज महिनासम्म जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेको हो ।  

गत बिहीबार मात्रै व्यास नगरपालिका–१२ स्थित कमलबारीमा भेटिएको अजिङ्गरको उद्धार गरिएको सो कार्यालयले जनाएको छ । दश फिट चार इन्च लामो र १५ किलो दुई सय ग्रामको तौल भएको अजिङ्गरको उद्धार गरिएको उद्धारकर्ता अर्जुन श्रेष्ठले जानकारी दिए ।  

उद्धार गरिएका अजिङ्गरको बस्तीदेखि टाढा,घनाजंगल र सुरक्षित स्थानमा लगेर छाड्ने गरिएको छ । केही अघि मात्रैव्यास–२ अमरापुरी,व्यास–१३ बेलबास लगायतका स्थानमा अजिङ्गर भेटिएको थियो ।  

विस्तारको काम भइरहेको पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा खण्डअन्तर्गत सडकको नालीमा फेला परेको अजिङ्गर स्थानीयले जानकारी दिएपछि डिभिजन वन कार्यालयले उद्धार गरेको हो ।

सवारी चालक अर्जुनकुमार श्रेष्ठ, सशस्त्र वन रक्षक जमदार सूर्य सुवेदी, सशस्त्र वन रक्षकहरू कृष्ण कैनी, रामकाजी अधिकारी, गुननारायण श्रेष्ठ र चौकीदार उत्तम मल्लको टोलीले  अजिङ्गरको उद्धार गरेको  डिभिजन वन कार्यालयले जनाएको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार अजिङ्गरलाई संरक्षित सरीसृपको रूपमा लिइने गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । “अजिङ्गर हत्तपत्त भेटिने जीव होइन”, उनले भने,  “यसले मानव जातिलाई क्षति नगरे पनि बाख्राका ससाना पाठापाठी खाएर नोक्सान पुर्‍याउने गर्दछ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप