आइन्स्टाइनको विश्व चर्चित आलेख : समाजवाद नै किन ?
आर्थिक तथा सामाजिक मुद्दाबारे विज्ञता नभएको मानिसले समाजवादबारे धारणा प्रस्तुत गर्नु ठिक हो वा होइन भन्नेबारे यदाकदा विविध प्रश्न उठ्ने गरेको पाइन्छ ।
म भने धेरै कारणले गर्दा समाजवादबारे बोल्नु ठिक हो भन्ने ठान्छु ।
सुरुवातमा, हामी यो सवाललाई वैज्ञानिक दृष्टिकोणबाट हेरौँ । हामी खगोलशास्त्र र अर्थशास्त्रका अध्ययन विधिमा खासै भिन्नता नभेट्न सक्छौँ । यी दुवै क्षेत्रका वैज्ञानिकले निश्चित परिघटनाबाट सहज रूपमा बुझ्न सकिने गरी विविध घटनाबिच अन्तर्सम्बन्ध पत्ता लगाउने तथा त्यसबाट सर्वस्वीकार्य नियम बनाउने प्रयास गर्छन्, तर अझै मसिनो गरी यथार्थमा हेर्दा अध्ययन विधिहरूमा भिन्नता देखिन्छ ।
छुट्टै मूल्यांकन गर्न नसकिने विविध तत्त्वको प्रभावले अवलोकन गरिएको आर्थिक परिघटनाबाट अर्थशास्त्रको क्षेत्रमा सर्वस्वीकार्य नियम पत्ता लगाउने काम असाध्यै जटिल हो । अझै, मानव इतिहासमा सभ्यता भनिएको अवधिमा हासिल भएका अनुभव धेरै हदसम्म आर्थिकभन्दा ज्यादा अन्य कारणले बढी प्रभावित देखिन्छन् ।
समाजवादको वास्तविक उद्देश्य मानव विकासको ‘सिकारी चरण’लाई पार गरेर अगाडि बढ्नु हो ।
उदाहरणका लागि इतिहासमा सबैजसो प्रमुख राज्य अन्य राज्यमाथि विजय हासिल गरेर बनेका थिए । विजेताले पराजित देशमा आफूलाई कानुनी र आर्थिक रूपमा विशेषाधिकार सम्पन्न वर्गको रूपमा स्थापित गरे । उनीहरूले जग्गाको स्वामित्वमा एकाधिकार कायम गरे तथा आफ्नै समाजको तहगत आधारमा पुजारीहरू नियुक्त गरे । यी पुजारीले शिक्षामा नियन्त्रण गर्दै समाजलाई थाहै नभई आफ्नो सामाजिक व्यवहारले दिशानिर्देश गर्ने खालको सामाजिक मूल्य र वर्ग विभाजनलाई स्थायी संस्थाको रूपमा स्थापित गरे ।
थोर्स्टन भेव्लेन (प्रख्यात अर्थशास्त्री तथा समाजशास्त्री) ले मानव विकासबारे व्याख्या गर्ने क्रममा ‘सिकारी चरण’ भनेर नामकरण गरेको चरणजस्तो विगतको तौर–तरिकालाई हामीले अझै जितेका छैनौँ । इतिहासको त्यो चरणमा पाइएका आर्थिक तथ्यहरू र त्यसबाट बनाइएका आर्थिक नियम समाजका अन्य चरणमा लागु हुँदैनन् ।
समाजवादको वास्तविक उद्देश्य मानव विकासको ‘सिकारी चरण’ लाई पार गरेर अगाडि बढ्नु हो । वर्तमान अवस्थाको आर्थिक विज्ञानले विद्यमान विश्लेषण प्रणालीबाट भविष्यको समाजवादी समाजबारे थोरै प्रकाश पार्नचाहिँ सक्छ ।
दोस्रो, समाजवाद सामाजिक–नैतिक उद्देश्यतर्फ निर्देशित हुन्छ । विज्ञानले लक्ष्यहरू तयार गर्न सक्दैन । अझ मानिसमा लक्ष्य प्रदान गर्न त झनै सक्दैन । यसले बढीमा गर्ने भनेको निश्चित लक्ष्य हासिल गर्न साधन उपलब्ध गराउने हो । लक्ष्यहरू समाजमा उच्च नैतिक आदर्श भएका व्यक्तिद्वारा कल्पना गरिन्छ ।
मानिस एकै समयमा एकल र सामाजिक प्राणी हो । एकल प्राणीका रूपमा उसले आफ्नो अस्तित्व र व्यक्तिगत इच्छा पूरा गर्ने प्रयास गर्छ । अर्कोतर्फ सामाजिक प्राणीका रूपमा उसले आफ्ना साथी तथा मानव जातिको सुख–दुःखमा सान्त्वना दिन र उनीहरूको जीवन सुधार्न प्रयास गर्छ ।
यस्ता लक्ष्यहरू अझै तयार भएका छैनन् तर शक्तिशाली र महत्त्वपूर्ण छन् भने अर्धचेतन रूपमा समाजको विकासलाई निर्धारण गर्ने मानिसले यसलाई अपनाउने र अघि बढाउने काम गर्छन् । यस्ता कारणले गर्दा हामीले मानवीय समस्याबारे प्रश्न गर्दा विज्ञान र वैज्ञानिक विधिको अति महत्ताबारे सदैव ध्यान गर्नैपर्ने हुन्छ ।
र, हामीले समाजको सङ्गठनलाई असर गर्ने प्रश्नहरूमा आफ्ना कुरा राख्ने अधिकार विज्ञलाई मात्रै हो भनेर मान्नु पनि हुँदैन ।
मानव समाज संकटबाट गुज्रिरहेको छ र यसको स्थायित्व सघन रूपमा अप्ठेरोमा परेको छ भन्नेबारे गम्भीरतापूर्वक धेरै आवाज उठिरहेका छन् । यो मानिससँग सम्बन्धित सानो वा ठुलो समूहप्रति उदासीन हुने वा शत्रुता महसुस गर्ने अवस्थाको द्योतक हो । आफूले भन्न खोजेको कुरा स्पष्ट पार्नका लागि मैले यहाँ व्यक्तिगत अनुभव उल्लेख गर्न उचित ठानेको छु ।
मैले केही समयअघि एकजना विद्वान्सँग भावी युद्धको खतराबारे छलफल गरेको थिएँ । मेरो विचारमा त्यस्तो युद्धले मानव जातिको अस्तित्वलाई नै गम्भीर रूपमा खतरामा पार्न सक्छ । र मैले के भने भनेँ, त्यस्तो परिस्थितिमा अन्तर्राष्ट्रिय वा भनौँ राष्ट्रको स्वार्थभन्दा माथि उठेको संगठनले मात्र त्यो खतराबाट मानव जातिलाई जोगाउन सक्छ ।
यस्तो टिप्पणी सुनेपछि ती विद्वान्ले शान्त ढंगले मलाई भने, ‘तपाईं मानव जाति लोप हुन सक्ने कुरालाई यति गहिरो गरी किन विरोध गर्दै हुनुहुन्छ ?’
मेरो विचारमा आजका दिनमा पुँजीवादी समाजमा विद्यमान आर्थिक अराजकता नै सबै समस्याको मूल जड हो । हामी हाम्रा अघिल्तिर उत्पादकको ठुलो समुदाय देखिरहेका छौँ, जसका सदस्यहरू आफ्नै सामूहिक श्रमबाट उत्पादित फल चाख्नबाट एक–अर्कालाई वञ्चित गर्न संघर्षरत छन् ।
म निश्चिन्त भएर के भन्न सक्छु भने, केही शताब्दी अघिसम्म मात्र पनि कसैले उनले जसरी भन्न सक्दैनथे । यो यस्तो व्यक्तिको कथन हो, जसले आफैँभित्र सन्तुलन बनाउने भरपूर प्रयास गरेको छ, तर सफल हुने आशा न्यून छ वा भनौँ आशा मारिसकेको छ । आजका दिनमा धेरै मानिसलाई गाँजिरहेको पीडादायी एक्लोपना र अलगावको अभिव्यक्ति हो यो ।
त्यसो भए यसको कारण के हो त ? यसबाट बाहिर निस्किने कुनै उपाय छ ?
यस्ता प्रश्न उठाउन सजिलो छ, तर निश्चय साथ जवाफ दिन गाह्रो छ । मैले प्रयास गर्नुपर्छ, यद्यपि म यस तथ्यमा धेरै सचेत छु कि हाम्रा भावना र प्रयास प्रायः विरोधाभासी र अस्पष्ट हुन्छन् । तिनीहरूलाई सजिलो र सरल सूत्रहरूमा व्यक्त गर्न धेरै अप्ठेरो छ ।
मानिस एकै समयमा एकल र सामाजिक प्राणी दुवै हो । एकल प्राणीका रूपमा उसले आफ्नो अस्तित्व र आफ्नो नजिकका मानिसको रक्षा गर्न, आफ्नो व्यक्तिगत इच्छा पूरा गर्न र आफ्नो जन्मजात क्षमता विकास गर्न प्रयास गर्छ । अर्कोतर्फ सामाजिक प्राणीका रूपमा उसले आफ्ना साथी, मानव जातिबाट पहिचान र स्नेह प्राप्त गर्न, तिनीहरूको सुख–दुःखमा सान्त्वना दिन र तिनीहरूको जीवनको अवस्था सुधार्न खोज्छ ।
यी विविध र बारबार विरोधाभासपूर्ण भइरहने प्रयासहरूको अस्तित्वले नै प्रत्येक व्यक्तिको विशेष चरित्रका नालीबेली र तिनीहरूको विशिष्ट संयोजनले व्यक्तिले कसरी आन्तरिक सन्तुलन प्राप्त गर्न र समाजको कल्याणमा योगदान दिन सक्छ भनी निर्धारित हुने गर्छ । धेरै हदसम्म के सम्भव छ भने यो दुई ड्राइभको सापेक्ष बल मुख्य रूपमा विरासतद्वारा निर्धारित हुन्छ ।
व्यवस्थापिका र सम्बन्धित अंगका सदस्यहरू राजनीतिक पार्टीबाट छानिन्छन् भन्ने सत्य हो । उनीहरू निजी पुँजीपतिले ठुलो मात्रामा गरेको लगानी र प्रभावबाट मतदाताको भलो गर्नेसम्म पुग्नै सक्दैनन् ।
तर, अन्त्यमा प्रकट हुने व्यक्तित्वको ठुलो हिस्सालाई मानिसले आफ्नो विकासका क्रममा पाएको वातावरणले, ऊ हुर्केको समाजको संरचनाले, त्यो समाजको परम्परा र त्यसको विशेष प्रकारको व्यवहारको बुझाइले ओगटेको हुन्छ । अमूर्त अवधारणा ‘समाज’को अर्थ व्यक्तिका लागि उसको समकालीन र अघिल्लो पुस्ताका सबै मानिससँगको प्रत्यक्ष र अप्रत्यक्ष सम्बन्धको कुल योग हो ।
व्यक्ति आफैँले सोच्न, महसुस गर्न, प्रयोग गर्न र काम गर्न सक्षम छ । तर, ऊ आफ्नो शारीरिक, बौद्धिक र भावनात्मक अस्तित्वका लागि समाजमा यति धेरै निर्भर छ कि समाजको ढाँचाभन्दा बाहिर सोच्न वा बुझ्न उसलाई असम्भव छ । त्यो ‘समाज’ नै हो, जसले मानिसलाई खाना, लत्ताकपडा, घर, कामका औजार, भाषा, विचारका विविध स्वरूप र विचारको अधिकांश सामग्री प्रदान गर्ने गर्छ ।
उसको जीवन विगत र वर्तमानका लाखौँ श्रम र उपलब्धिमार्फत सम्भव भएको हो, जुन सबै यही सानो शब्द ‘समाज’मा लुकेका छन् ।
त्यसैले स्पष्ट छ— मान्छेको समाजमाथिको निर्भरता मौरी र कमिलाको हकमा जस्तै हटाउन नसकिने तहको सत्य हो । कमिला र मौरीको पूरा जीवन सूक्ष्म तहसम्म कस्सिएका विशेषता, वंशाणुगत प्रवृत्ति, सामाजिक ढाँचाले बाधिएका हुन्छन् । तर, मानिसको अन्तर्सम्बन्ध चाहिँ हेरफेर भइरहने तथा परिवर्तनशील हुन्छन् । स्मरण शक्ति, नयाँ कुरा संयोजन गर्न सक्ने क्षमता, मौखिक संचारको क्षमताजस्ता विषयले मान्छेलाई जैविक बाध्यताबाट केही भिन्न हुन सक्ने बनाएको छ ।
परम्परा, संस्था, संगठन, वैज्ञानिक र इन्जिनियरिङ उपलब्धि तथा कलाकृतिमा यस्ता विकास प्रकट भएका छन् । यसले कसरी एक निश्चित अर्थमा मानिसले आफ्नै आचरणमार्फत आफ्नो जीवनलाई प्रभाव पार्न सक्छ र यो प्रक्रियामा सचेत सोच र चाहनाले भूमिका खेल्न सक्छ भन्ने देखाउँछ ।
मानिसले जन्मदाको समयबाटै वंशानुगत रूपमा मानव प्रजातिको विशेषताका रूपमा प्राकृतिक चाहनासहित एक खालको जैविक प्रबन्ध प्राप्त गर्छ । जसलाई हामीले निश्चित र अपरिवर्तनीय मान्नुपर्छ । थप उसले आफ्नो जीवनकालमा एक सांस्कृतिक प्रबन्ध पनि प्राप्त गर्छ, जुन उसले आपसी सञ्चार र अन्य धेरै प्रकारका प्रभावमार्फत समाजबाट अपनाउँछ । यो सांस्कृतिक प्रबन्ध नै हो, जुन समय क्रममा परिवर्तनशील हुन्छ ।
अर्थतन्त्रमा हाल कायम रहेको व्यवस्था पुँजीको निजी स्वामित्वमा आधारित व्यवस्था हो, त्यसैले विद्यमान पुँजीवादी सिद्धान्तमा कामदारलाई दिइने ज्याला उसले उत्पादन गरेको वस्तुको मूल्यले तय गर्दैन ।
यसले व्यक्ति र समाजबिचको सम्बन्धलाई धेरै हदसम्म निर्धारण गर्छ । प्रचलित सांस्कृतिक ढाँचा र समाजमा प्रबल हुने संगठनका प्रकारमा निर्भर गर्दै मानव जातिको सामाजिक व्यवहार धेरै भिन्न–भिन्न हुन सक्छन् भन्ने कुरा हामीलाई आधुनिक मानवशास्त्रले आदिम भनिएका संस्कृतिको तुलनात्मक अनुसन्धानद्वारा सिकाएको छ ।
यस्तो प्रबन्धमा सुधारको प्रयत्न गर्ने मानिसले आफूमा र समाजमा आशा जगाउन सक्छ । प्रचलित अभ्यासमा पनि एकअर्कालाई विनाश गर्न वा क्रूर र आत्मघाती तौर–तरिकाका लागि जैविक प्रबन्धको कारण देखाउने छुट मानव जातिलाई छैन ।
हामीले आफैँसँग मानव जीवनलाई अधिकतम सन्तोषजनक बनाउन आफ्ना कुन–कुन सामाजिक संरचना र सांस्कृतिक व्यवहार फेर्नुपर्छ भनी सोध्यौँ भने, हामीले ख्याल गर्नुपर्ने तथ्य के हुन्छ भने त्यहाँ यस्ता केही परिस्थिति पनि छन्, जसलाई बदल्न सकिन्न । माथि उल्लेख गरेजस्तै सबै व्यावहारिक उद्देश्यका लागि मानिसको जैविक स्वभाव फेर्न सकिन्न ।
अझ पछिल्ला शताब्दीमा भएका जनसांख्यिक र प्राविधिक विकासले सिर्जना गरेका केही परिस्थिति पनि त्यहाँ जस्ताको तस्तै रहन्छन् । आफ्नो अस्तित्वका लागि अत्यावश्यक वस्तुहरू आवश्यक पर्ने एकदमै सघन बसोबास भएको ठाउँमा चरम श्रम विभाजन र उच्च केन्द्रीकृत उत्पादन अपरिहार्य हुन्छ । व्यक्ति र साना–साना समूहहरू पूर्ण रूपमा आत्मनिर्भर हुने खालका विगतमा फर्केर हेर्दा आदर्शजस्ता देखिने सम्भावना अब बाँकी छैनन् । मानव जातिले विश्वस्तरको उत्पादन र उपभोगको समाज बनाइसक्यो भन्नु पनि थोरै अतिशयोक्ति हुन जाला ।
म निष्कर्ष नजिक आइपुगेको छु । आजको संकटको खास विषयलाई केले स्पष्ट पार्छ भन्नेतर्फ सम्भवतः अब संकेत गर्न सक्छु । यसले व्यक्ति र समाजको सम्बन्धबारे सरोकार राख्छ । व्यक्ति आजका दिनमा विगतको तुलनामा समाजप्रतिको निर्भरताबारे धेरै सचेत भइसकेको छ । तर, उसले यो निर्भरतालाई सकारात्मक विषयका रूपमा, स्वाभाविक बन्धनका रूपमा वा उसकै रक्षा गर्ने बलका रूपमा नभएर बरु आफ्नो प्राकृतिक अधिकार अझ भनौँ आर्थिक अस्तित्वमा खतराका रूपमा अनुभव गरिरहेको छ ।
प्राविधिक प्रगतिको भूमिका काम सहज बनाउने हुनुको सट्टा बारम्बार बेरोजगार सिर्जना गर्ने प्रकारको भइरहेको छ, असीमित प्रतिस्पर्धाले श्रमको ठुलो नाश हुनुका साथै व्यक्तिको सामाजिक चेतनालाई यसले अपांग बनाइरहेको छ ।
अझ समाजको उसको अवस्थिति नै यस्तो छ कि उसका रचनाका अहंकारी आकांक्षाहरू थप बढ्दै जान्छन्, जुन प्राकृतिक रूपमै कमजोर हुन्छन् र प्रगतिशील रूपमा खिइँदै जान्छन् । सबै मानिस उनीहरूको सामाजिक अवस्थिति जेसुकै भए पनि यही खियाइ भोगिरहेका छन् । थाहै नपाई उनीहरू आफ्नै अहंकारको बन्दी बनेका हुन्छन् । असुरक्षित र एक्लो हुन्छन् ।
सरल, सहज, निर्दोष जीवनको रमाइलोबाट वञ्चित भइरहेका हुन्छन् । चाहे त्यो छोटो र दुःखपूर्ण नै किन नहोस्, मान्छेले आफ्नो जीवनको मूल्य समाजमा प्रतिबद्ध भएर नै प्राप्त गर्छ ।
मेरो विचारमा आजका दिनमा पुँजीवादी समाजमा विद्यमान आर्थिक अराजकता नै सबै समस्याको मूल जड हो । हामी हाम्रा अघिल्तिर उत्पादकको ठुलो समुदाय देखिरहेका छौँ । जसका सदस्य आफ्नै सामूहिक श्रमबाट उत्पादित फल चाख्नबाट एक अर्कालाई वञ्चित गर्न संघर्षरत छन् । त्यो पनि बल प्रयोग गरेर होइन, स्थापित कानुनको पालना गरेर । यसरी हेर्दा हामीले बुझ्नुपर्ने कुरा भनेको उत्पादनको साधन, अर्थात् उपभोगका सामग्री र पुँजीगत वस्तु उत्पादन गर्ने सम्पूर्ण उत्पादन क्षमता धेरैजस्तो कानुनी रूपमै व्यक्तिको निजी सम्पत्तिका रूपमा छ ।
सजिलो गरी बुझ्नलाई म यहाँ ‘कामदार’ भनेर भन्छु, जसले उत्पादनका साधनको स्वामित्वमा हिस्सा पाउँदैनन् । हुन त यो पदावलीले सधैँ त्यो अर्थ त राख्दैन । उत्पादनका साधनको मालिक कामदारको श्रमशक्ति किन्न सक्ने हैसियतमा छ । उत्पादनका साधन प्रयोग गरेर कामदारले नयाँ वस्तु उत्पादन गर्छ, जुन पुँजीपतिको सम्पत्ति हुन्छ ।
यो प्रक्रियाको गुदी कुरा चाहिँ कामदारले उत्पादन गर्ने वस्तु र उसलाई त्यसबापत दिइने पारिश्रमिक दुवै वास्तविक मूल्यमा मापन हुन्छ । जहाँसम्म श्रम सम्झौता ‘स्वतन्त्र’ भएको हुन्छ भनिन्छ, त्यहाँ कामदारले पाउने मात्राको तय उसले उत्पादन गरेको वस्तुको वास्तविक मूल्यको आधारमा तय हुँदैन, बरु कामदारको न्यूनतम आवश्यकता र काम खोजेर आपसमा भिडिरहेका कामदारको उपलब्धतासँग पुँजीवादीको आवश्यकताको सम्बन्धसँग जोडिन्छ ।
गाँठी कुरा यहीँनेर छ । त्यो हो— हाल विद्यमान सिद्धान्तमा पनि कामदारलाई दिइने ज्याला उसले उत्पादन गरेको वस्तुको मूल्यले तय गर्दैन ।
समस्यालाई निर्मूल गर्ने एउटै मात्र उपाय छ । त्यो हो– समाजवादी अर्थतन्त्रको स्थापना । त्यो सामाजिक उद्देश्य हासिल गर्नेतर्फ निर्देशित शिक्षा प्रणालीसहितको समाजवादी समाज ।
निजी पुँजी सीमित व्यक्तिका हातमा केन्द्रित हुन खोज्छ । यसमा विविध कारण छन् । पुँजीपतिबिचको प्रतिस्पर्धाका कारण अनि केही प्रविधिको विकास र बढ्दो श्रम विभाजनले साना उत्पादनको सट्टा उत्पादनका ठुला एकाइ खडा हुने कारण पनि यस्तो हुने गर्छ । यस्तो केन्द्रीकरणको परिणाम निजी पुँजी ‘ओलिगार्की’हरूमा केन्द्रित हुन्छ र उनीहरूको ठुलो शक्तिलाई लोकतान्त्रिक रूपमा संगठित राजनीतिक समाजले पनि नियन्त्रण गर्न सक्दैन ।
व्यवस्थापिका र सम्बन्धित अंगका सदस्य राजनीतिक पार्टीबाट छानिन्छन् भन्ने सत्य हो । उनीहरू निजी पुँजीपतिले ठुलो मात्रामा गरेको लगानी र प्रभावबाट मतदाताको भलो गर्नेसम्म पुग्नै सक्दैनन् । यसको प्रभाव स्वरूप जनताका प्रतिनिधि अधिकारविहीन तप्काका नागरिकको चासोलाई यथेष्ट रक्षा गर्नै सक्दैनन् ।
अझ विद्यमान अवस्थामा निजी पुँजीका मालिकहरू प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सूचनाका मुख्य स्रोतहरू (प्रेस, रेडियो, शिक्षा, सिनेमा) आदिमा नियन्त्रण गर्छन् । यसरी आम नागरिकलाई धेरैजसो अवस्थामा वास्तविक कुरा थाहा पाएर राजनीतिक अधिकारको सचेत प्रयोग गर्न अप्ठेरो र कहिलेकाहीँ त असम्भव नै हुन्छ ।
अर्थतन्त्रमा हाल कायम रहेको व्यवस्था पुँजीको निजी स्वामित्वमा आधारित व्यवस्था हो । यसका दुई विशेषता छन् । पहिलो, उत्पादनका साधन व्यक्तिगत स्वामित्वमा हुन्छन् र त्यसको प्रयोग मालिकको तजबिजमा गरिन्छन् । दोस्रो, श्रम सम्झौता ‘स्वतन्त्र’ हुन्छ । निश्चय पनि त्यहाँ कुनै शुद्ध पुँजीवादी समाजको अवस्था छैन । यति हुँदाहुँदै पनि कहीँ–कहीँ कामदारहरूले लामो र नमिठो संघर्षपश्चात् कामदारका हितमा लागु हुने गरीको सुधारिएको ‘स्वतन्त्र श्रम सम्झौता’सम्म लागु गराएका छन्, तर समग्रमा भन्दा आजको अर्थतन्त्र ‘शुद्ध पुँजिवाद’ भन्दा फरक देखिँदैन ।
उत्पादन नाफाका लागि गरिन्छ, उपयोगका लागि होइन । काम गर्न चाहने र सक्ने मानिसले काम पाउन सक्ने अवस्था बनाउने कुनै प्रावधान बनाइएका छैनन् । ‘बेरोजगारहरूको फौज’ सधैँ अस्तित्वमा हुन्छ । कामदार सधैँ जागिर गुम्ने त्रासमा हुन्छन् । जब बेरोजगार र थोरै तलब पाउने कामदारले नाफाको बजार सिर्जना गर्न सक्दैनन्, तब उपभोग्य सामानको उत्पादनमा कटौती हुन्छ र परिणामस्वरूप अप्ठेरो अवस्था आइपुग्छ ।
प्राविधिक प्रगतिको भूमिका काममा सहज बनाउने हुनुको सट्टा बारम्बार बेरोजगारी सिर्जना गर्ने प्रकारको भइरहन्छ । नाफाको उद्देश्य र पुँजीपतिबिचको नाफाको गठजोडले अर्थतन्त्रमा पुँजीको सञ्चय र उपयोगमा अस्थिरता ल्याउँछ, जसले अर्थतन्त्रलाई भयानक मन्दीतर्फ लैजान्छ । असीमित प्रतिस्पर्धाले श्रमको ठुलो नाश हुनुका साथै व्यक्तिको सामाजिक चेतनालाई यसले अपांग बनाइदिन्छ ।
मेरो विचारमा व्यक्तिलाई ध्वस्त बनाउने चरित्र पुँजीवादको सबैभन्दा खराब समस्या हो । हाम्रो सम्पूर्ण शिक्षा प्रणाली यसबाट ग्रस्त छ । अतिरञ्जित गरिएको प्रतिस्पर्धा व्यवहार विद्यार्थीमा छिराइएको हुन्छ । केही हासिल गर्न वा लिन खोस्नुपर्छ, त्यसलाई आफ्नो बनाइछाड्नुपर्छ, जस्ता तालिम उसले शिक्षाबाट पाएको हुन्छ ।
म विश्वस्त छु, यस्ता समस्यालाई निर्मूल गर्ने एउटै मात्र उपाय छ । त्यो हो— समाजवादी अर्थतन्त्रको स्थापना । त्यो सामाजिक उद्देश्य हासिल गर्नेतर्फ निर्देशित शिक्षा प्रणालीसहितको समाजवादी समाज हो । यस्तो अर्थतन्त्रमा उत्पादनका साधनको स्वामित्व समाज आफैँले लिन्छ र योजनाबद्ध रूपमा सदुपयोग गर्छ । योजनाबद्ध अर्थतन्त्रले समुदायका आवश्यकतालाई समायोजन गर्छ । काम गर्न सक्ने मानिसलाई काम गर्न दिन्छ ।
प्रत्येक पुरुष, महिला र बालबालिकाको जीवनयापनको सुनिश्चितता गर्छ । प्रत्येक मानिसलाई दिइने शिक्षा उसको व्यक्तिगत क्षमता विकासका अतिरिक्त सफलता र शक्ति आर्जनको सट्टा समाजका मानिसप्रति जिम्मेवारीको भावसहित दिइन्छ ।
यद्यपि हामीले बुझ्नुपर्ने के हो भने योजनाबद्ध अर्थतन्त्र भन्नासाथ समाजवाद भइहाल्छ भन्ने होइन । योजनाबद्ध अर्थतन्त्र कहिलेकाहीँ व्यक्तिलाई दास बनाउने खालको पनि हुन सक्छ । समाजवादको प्राप्ति हुनलाई केही जटिल राजनीतिक–सामाजिक समस्याको हल आवश्यक हुन्छ । राजनीतिक र आर्थिक शक्तिको केन्द्रीकरणमा कर्मचारीतन्त्र सर्वेसर्वा हुन र दम्भी हुनबाट रोक्न कसरी सम्भव छ ? कर्मचारीतन्त्रको शक्तिलाई सन्तुलनमा राख्न कस्तो खाले लोकतान्त्रिक पद्धतिको विकास गर्ने र व्यक्तिको अधिकार अक्षुण्ण राख्न कसरी सम्भव छ ?
समाजवादका लक्ष्य र समस्याबारे स्पष्टता आजको दिनमा असाध्यै महत्त्वपूर्ण विषय हो । वर्तमान परिस्थितिमा यस्ता समस्याबारे खुला र निर्बाध छलफल गर्नु नै अपराध ठानिन थालेको समय छ । यस्तो समयमा स्थापित यस पत्रिकाले महत्त्वपूर्ण समाज सेवा गर्ने भूमिका निर्वाह गर्न सक्छ भन्ने ठानेको छु ।
(प्रस्तुत आलेख विश्व विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले सन् १९४९ मा प्रसिद्ध अमेरिकी पत्रिका ‘मन्थ्ली रिभ्यु’को पहिलो अंकका लागि लेखेका थिए ।)
अनुवाद : रोहित बास्तोला
सम्पादन : नरेश ज्ञवाली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेको १० घण्टा नबित्दै ठगी मुद्दाका अभियुक्त रिहा
-
रेलले ठक्कर दिँदा भारतमा कम्तीमा ७ जनाको मृत्यु
-
जापानमा बर्ड फ्लुको सङ्क्रमण : ५० लाख कुखुरा र चराको मृत्यु
-
सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्ष स्थानमा
-
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
-
अमेरिकामा ट्रम्पको मनपरी रोक्न के छ तरिका ?