शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको शिलान्यास

शनिबार, १९ असोज २०८१, १४ : ०४
शनिबार, १९ असोज २०८१

चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको शनिबार शिलान्यास गरिएको छ । भवनको बोर्डका अध्यक्ष एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले भवन पुरानो र जीर्ण भएकाले नयाँ भवन निर्माण गर्न बोर्डबाट निर्णय भएको स्मरण गरिन् ।

भरतपुरमा शुद्ध खानेपानीको पहुँच ९२ प्रतिशत पुगेकाले अब केही समयपछि शतप्रतिशत पुग्ने उनको भनाई थियो ।

भरतपुरमा विगत ७ वर्षमा अर्बौँका खानेपानीका आयोजना निर्माण सम्पन्न भइसकेको र यस वर्ष पनि विभिन्न स्थानमा नयाँ आयोजना निर्माण गरिने प्रमुख दाहालले बताइन् । महानगरले चालु आर्थिक वर्षमा विपन्न नागरिकले धारा जडान कार्य गर्न रु ५० लाख विनियोजन गरेको उनले जानकारी दिइन् ।

भरतपुर वडा नम्बर १० मा रहेको मुख्य कार्यालयको पुरानो भवन भत्काई सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो । पुरानो भवन तत्कालीन नेपाल खानेपानी संस्थान भरतपुर शाखाको लागि निर्माण गरेको थियो ।

बोर्डले बर्सेनि आफ्ना क्षेत्र र उपभोक्ताको सङ्ख्या विस्तार गर्दै भए पनि जीर्ण भवनबाटै सेवा दिँदै आएको थियो । बोर्डका निमित्त कार्यकारी निर्देशक सञ्जय बरालका अनुसार भवन ३ तले बन्ने छ ।

भवन ५ हजार २ सय ९९ वर्ग फिटमा बन्ने छ । भवन निर्माण गर्न रु २ करोड ८० लाख ४१ हजारमा बोलपत्र आह्वान गरिएको थियो । भवन निर्माणको जिम्मा चारुमति कन्स्ट्रक्सन बानेश्वरले रु २ करोड १८ लाख ७५ हजार ५२४ मा पाएको हो ।

२०८१ भदौ १६ गते सम्झौता मितिले १८ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख छ । नयाँ भवन निर्माण भएपछि फरक क्षमता भएका सेवाग्राहीलाई सहज हुने बताइएको छ ।  यसअघि साँघुरो र जीर्ण भवनबाट सहज सेवा दिन समस्या हुँदै आएको निर्देशक बरालले बताए । बोर्डका हाल ४० हजार भन्दा बढी सेवाग्राही छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप