बुधबार, ०५ मङ्सिर २०८१
ताजा लोकप्रिय
संस्मरण

जीवनको त्यो क्षण : सर्प र बिच्छीहरूको जङ्गलमा–२

शनिबार, १९ असोज २०८१, १३ : ५६
शनिबार, १९ असोज २०८१

मेरा क्याम्पसप्रमुख अनौठा, अपारदर्शी र रहस्यमय मानिस थिए । तिनको सक्कली रूप मैले कहिल्यै ठम्याउन सकिनँ । वास्तवमा ती के थिए र को थिए मेरा लागि अझै त्यो अभेद्य रहस्यकै विषय छ । बाहिरी रूपाकृतिमा मान्छे बडो राम्रा थिए । लायकदार जिउडाल, स्वस्थ र प्रशन्न । मान्छे वामपन्थी पृष्ठभूमिका हुन् । झट्ट हेर्दा सुपठित र सुसंस्कृत देखिन्छन् । 

उनले मसँग हिमचिम बढाउन मनग्गे जाँगर लगाएर कोसिस गरे । मलाई सम्झना छ, एक दिन उनले मलाई आफ्नो क्याम्पस निवासमा चिया पिउन निम्ता गरे । मेरा निम्ति निकै दुर्लभ खालका र निकै महङ्गा निकै पुस्तक रहेछन् उनीसँग । मलाई लोभ्याउने ढङ्गले केही पुस्तक देखाउँदै उनले तिनको महिमाको बयान गरे । उनले एउटा पुस्तक मलाई पढ्न दिए । म सम्झन्छु, त्यो ‘नेपाल इन् क्राइसिस’ थियो । मैले पुस्तक पढेपछि त्यसैलाई संवादको मेसो बनाएर नेपाली राजनीतिका विभिन्न धारबारे उनले मेरा सामु आफ्नो राय प्रकट गरे । बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई लक्षित गर्दै पुँजीवादको लचिलोपन र त्यसको समय सुहाउँदो सिर्जनात्मक गुणको उनले मन फुकाएर तारिफ गरे । र, उनकै शब्दमा, कम्युनिस्टहरूको सोचाइको अलचिलोपन र असम्भव आदर्श प्राप्त गर्ने तिनको एकोहोरो चाहनाको उनले निकै उग्र नाटीकुटी गरे । अनि ती–ती विषयबारे उनले मेरो विचार सोधे । 

म ठुलो असमञ्जसमा परेँ— मैले के प्रतिक्रिया गर्ने ? उनी क्याम्पसप्रमुख ! त्यसबेला त्यस तहका मान्छेको सत्ताको जासुसी फाँटसँग आन्द्रो गाँसिएको नहुनु अचम्म हुन्थ्यो । अलिकति स्वाभिमान बाँकी रहेको खण्डमा पनि त्यहाँ पुगेपछि ऊ कि त वरिष्ठ जासुसमा फेरिन्थ्योे, कि त सत्ताका नजरमा अयोग्य भएर त्यहाँबाट छिटै तल खस्थ्यो । उनको स्थिति के होला ? उनको जिज्ञासाका पछिल्तिर विशुद्ध बौद्धिक तृष्णा होला कि पेसागत कर्तव्यको एक अंश पनि होला ? 

सँगसँगै एक अर्कालाई हेरेर दुईजना बसेका छौँ— मेरा क्याम्पसप्रमुख र म । हाम्रा बिचमा दुई हातजतिको दूरी छ । तर जीवनको वास्तविकता त्यो होइन ।

उनका जस्तै भन्ने कुरा त मेरा पनि थिए । आफ्नो प्रिय आदर्शलाई तर्क र औचित्यका बलले उनका सामु राख्न सक्ने दम ममा पनि थियो । तर मैले आफ्ना विचार खुलस्त प्रकट गरेँ भने कतै त्यसको नतिजा अनिष्ट पो होला कि ! भनिहालेँ नि, उनी भनेका क्याम्पसप्रमुख, अझ त्यसमाथि त्यस बेलाका ! सीडीओसँगको उनको दिनदिनैको उठबस, आइजाइ र चोचोमोचो मैले आफ्ना नाङ्गा आँखाले देखेको छु । मैले यो पनि देखेको छु— विवेक, प्रज्ञा र स्वाभिमानको एकछत्र ठेकदार, रक्षक र नियन्त्रकको उच्च आसनमा सीडीओ स्वयं विराजमान छ । क्याम्पसप्रमुखको देखिने हैसियतचाहिँ सीडीओको अङ्गरक्षक हवल्दारको जस्तो छ । पञ्चायती शासनअन्तर्गत विवेकको यसरी लठैतीकरण भएको छ । ऊबेलाको सीडीओ भनेको जिल्लाको एकछत्र राजा ! उसको इसाराबेगर क्याम्पसप्रमुख त के जिल्लाका रुखका पात पनि हल्लिँदैनन् । सर्वज्ञ उही छ, सर्वव्यापी उही छ, सर्वशक्तिमान् उही छ । नागरिकको जिउधन र भाग्य उसको एकलौटी वशमा छ । बबुरो क्याम्पसप्रमुख भनेको त उसको कृपापात्र निरीह जागिरे । ऊ मात्र आफ्नो पदीय स्वायत्तता र मानवीय गर्वसाथ कसरी पो उभिन सकोस् र ? तर म लख काट्छु, कुरो त्यसभन्दा बढी पनि त हुन सक्छ । विवेकको लठैतीकरण गर्ने धन्दामा कतै क्याम्सप्रमुख पनि मुछिएका त छैनन् ? नत्र मन परेकी तरुनीसँग तन्नेरी लहसिएझैँ सीडीओसँगको उनको त्यो पल प्रतिपलको चाचोमोचोको रहस्य के ? आखिर उनलाई त्यसको खाँचो नै किन ?

सँगसँगै एक अर्कालाई हेरेर दुईजना बसेका छौँ— मेरा क्याम्पसप्रमुख र म । हाम्रा बिचमा दुई हातजतिको दूरी छ । तर जीवनको वास्तविकता त्यो होइन । वास्तविकता त के हो भने हाम्रा माझमा परस्पर अविश्वास र आशङ्काको पहरो ठडिएको छ । उनी उता पहरोपारि छन्, म यता वारि छु । पञ्चायती निरङ्कुशताको साँचो पहिचान भनेकै त्यही पहरो हो, जसले एक नागरिकलाई अर्को नागरिकविरुद्ध उँभ्याएको छ । मान्छेलाई मान्छेबाट फटाएको छ, बिरानो र परचक्री बनाएको छ, परस्पर वैरभावको विषाक्त मानसिकताले ग्रस्त तुल्याएको छ । मलाई लाग्छ— कतै एकलासको बाटोमा औँसीको निस्पट्ट अँध्यारो रातमा म एक्लै हिँडिरहेछु । एउटा मुर्कट्टा अनायास अघिल्तिर उभिन्छ । त्यसले मलाई अँठ्याउँछ, निचोर्छ । मेरो चित्कारलाई त्यसले मेरो घुँडा टेकाइ ठान्ला भनेर म दाह्रा किट्छु र अटेसमटेस भएको स्वरलाई आफ्नै अन्तरमा दबाउँछु ।

‘तपाईं त केही बोल्नुभएन नि ?’ सुपारी चपाउँदै क्याम्पसप्रमुख मलाई कुत्कुत्याउन खोज्छन् ।

‘यसबारे मैले खास केही सोचेको छैन ।’ म आशङ्का साथ तर्किन्छु । क्याम्पसप्रमुख मुलायम खित्का छाडेर हाँस्छन् । म थाहा पाउँछु— त्यो हाँसोमा अलिकता खिसिट्युरी छ, अलिकता व्यङ्ग्य छ र थुप्रो अविश्वास छ ।

‘हुँ !’ उसले उसैगरी फेरि माथिदेखि तलसम्म सर्लक्क मलाई हेर्‍यो । अनि नशालु बाघे स्वरमा भन्योे, ‘ऋषि देवकोटा आजादमाथि याक्सन गराउने मै हुँ । विष्णुका विरोधीमाथि म याक्सन गराउँछु ।’

क्याम्पसप्रमुखको ढोका मलाई स्वागत गर्न सधैँ खुला छ । त्यहाँ पत्रपत्रिका छन्, पुस्तक छन् । जाऊँ कि नजाऊँको दोमन हुँदाहुँदैै म कहिलेकाहीँ त्यहाँ गइहाल्छु । उनको जासुसी मार्काको जिज्ञासा र केरकार गराइ देखेर म चकित हुन्छु । मेरो अटल मौनता देखेर उनी चकित हुन्छन् । उनी बोल्छन्, सशङ्कित कानले म सुन्छु । तर म ओठ खोल्दिनँ । उनी थकित हुन्छन् । दुई बौद्धिकको त्यो भेटघाट सधैँ निस्सारताबाट सुरु हुन्छ र निस्सारतामै टुङ्गिन्छ ।

एक दिन क्याम्पसप्रमुखले एकान्तमा मलाई भने, ‘सीडीओ साप्ले तपाईंलाई एकपटक यसो भेट्न खोज्नु भा’छ ।’

हँ, सीडीओ साप्ले मलाई ? अनायास म झस्केँ । सीडीओ नयाँ थिए । उनले अन्तअन्त गरेका पञ्चायती पराक्रमका कथा धेरै मानिसका मुखबाट धेरै मानिसका कानमा परिसकेका थिए । उनको नाम थियो रामकृष्ण पन्त ।

‘किन डाक्या ?’ मैले कौतुकमय आशङ्काका साथ प्रमुखलाई सोधेँ । शान्त मुद्रामा, स्वाभाविकझैँ लाग्ने स्वरमा उनले भने, ‘सीडीओ साप्मा तपाईंबारे केही असमझदारी छ क्यार । यसो भेट्नुस् न, भ्रम साफ भइहाल्छ ।’

सोचेँ, डाक्ने सीडीओ, उनको हल्कारा भएर सम्चार ल्याउने क्याम्पसप्रमुख । मलाई लाग्योे— क्याम्पसप्रमुखमा आफ्नो पदीय मर्यादाको सामान्य चेतसम्म पनि रहेनछ । सामान्य कुरा भए सीडीओले सादा पोसाकधारी जासुस पठाउन सक्थ्योे । कुनै बात लाएर थुन्न मन लागे बर्दीधारी प्रहरी नै खटाउन सक्थ्योे । क्याम्पसप्रमुखले खुनी सीडीओको लठैत सम्चारे बन्नुपर्‍यो किन ?

म गइनँ ।

एकाध दिनपछि क्याम्पसप्रमुखले फेरि सीडीओको डकाइको सम्चार सुनाए । उनले भने, ‘संग्रौलाजी, जानुस् । नजाँदा बित्थामा शङ्का बढ्न सक्छ । त्यस्तो गम्भीर कुरा केही छैन । कसैको केही झोसपोल परेजस्तो छ । सानोतिनो केही असमझदारी... ।’

जाऊँ कि नजाऊँ, मन अझै धर्मर भयो । सुनेको थिएँ— सीडीओ रामकृष्ण पन्त सन्तुलित मगज भएका सद्दे मानिसभन्दा पनि अर्थोकै केही हुन् । उनी चितवन आउँदा विशेष गरी चितवनको वामजगत्मा निकै ठुलो सनसनी छाएको थियो । उनी सीडीओ मध्येका राज्जा सीडीओ थिए । सिन्धुलीमा ऋषि देवकोटा आजादको हत्या गर्ने उनै थिए । त्यसैले चितवनमा उनको अवाइलाई आशङ्का, घृणा, क्रोध र भयका दृष्टिले हेरिएको थियो, मानौँ मान्छेको रगत चुस्न पल्केको बाघलाई मान्छेको बस्तीमा हुलियो । त्यसले कुनै पनि बेला जो–कोहीमाथि बेहिसाबसँग झम्टा मार्न सक्छ !

रैथाने प्रशासनका वरिष्ठ हल्काराले पटक–पटक सम्चार ल्याएपछि नगई मैले धर पाइनँ । एक दिन शनिबार बिहानै भारी मन लिएर म सीडीओको सरकारी निवासतिर लागेँ । जाँदाजाँदै मनचिन्ते ढङ्गले आफ्नो बचाउ पक्षमा मैले तर्क गरेँ— म साधारण मास्टर, मास्टरहरूको वैध सङ्गठनको एक अगुवा, एक साधारण लेखक, एक सामान्य गृहस्थी । शासकहरूको सोखको स्वर्गमा दख्खल दिने काम अखिर मैले के नै पो गरेको छु र ? मेरो बारेमा त्यस्तो गम्भीर कुरा के नै पो हुन सक्ला र ? तर मेरो मनको मनचिन्ते तर्कनाबाट मनको अन्तर आश्वस्त भएन । जसलाई जे कुराको नशाको लत बसेको छ, उसलाई त्यसको तलतल त लाग्छ नै । ठर्रा लगाउने नशा होस् वा मान्छे मार्ने नशा, नशाको प्रकृति त बडो मापाको पो हुन्छ । मनमा कुरा खेलाउँदा खेलाउँदै म सीडीओको सरकारी निवासमा पुगिहालेँ । निवास बाहिर दुईजना मानिससँग मेरो जम्काभेट भयो ।

‘तपाईं को ?’ रुखो र धृष्ट स्वरमा दुईमध्येको एक जनाले मलाई सोध्यो ।

म फलानो— मैले आफ्नो नाउँ भनेँ ।

‘हुँ ! तपाईं फलानो ?’ उसले मलाई शिरदेखि पाउसम्म यसरी हेर्‍यो, सके झम्टा मार्नुअघि बाघले बाख्रालाई त्यसरी नै हेर्दो हो ।

‘यहाँको परिचय ?’ ऊ उही हो भन्ने थाहा पाएर पनि औपचारिकतावश मैले सोधेँ ।

‘म सीडीओ रामकृष्ण पन्त ।’

मैले शिष्टतापूर्वक नमस्कार गरेँ र विनीत स्वरमा सोधेँ, ‘सीडीओ साप्ले मलाई डाकी पठाउनु’भा रहेछ । के कति कामले होला ?’

‘हुँ !’ उसले उसैगरी फेरि माथिदेखि तलसम्म सर्लक्क मलाई हेर्‍यो । अनि नशालु बाघे स्वरमा भन्योे, ‘ऋषि देवकोटा आजादमाथि याक्सन गराउने मै हुँ । विष्णुका विरोधीमाथि म याक्सन गराउँछु ।’

‘याक्सन गराउँछु’ भन्नुको सोझो अर्थ थियो— म तँलाई मार्छु । मैले फेरि सोधेँ, ‘अनि मलाई डाकी पठाउनाको कारण के होला सीडीओ साप् ?’

उसले उही उत्तर, उही मुद्रामा, उही शैलीमा दोहोर्‍यायो, मानौँ जीवनभरिको कष्टसाध्य साधनाद्वारा उसले सिकेको मूल मन्त्र नै त्यही हो । आखिरमा कठोर र अभद्र ढङ्गले उसले आदेश दियो, ‘भोलि ११ बजे अफिसमा आउनू ।’

भुइँदेखि त्यस्तै ५–६ फुटजति उकासेको अग्लो मण्डप छ । मण्डपमाथि त्यत्तिकै अग्लो लाग्ने शासकीय आसनमा सीडीओ विराजमान भएको छ । माथि र तलको त्यो उचाइ र निचाइले खुलस्त भन्छ— त्यो नागरिक प्रशासनको अड्डा होइन ।

जिल्लाका राजाको आदेश लिएर म फर्कें । बाटामा तर्कना गरेँ— निःशस्त्र मानिसले ‘मार्छु’ भन्दा त्यो उत्रो कुरो नहुन सक्छ । तर हातमा बन्दुक बोकेको, मान्छे मार्ने नशा लागेको र सत्ताले मार्न खटाएको मान्छेले ‘मार्छु’ भन्योे भने त्यसको अर्थ के हुन्छ ?

सीडीओ रामकृष्ण पन्तको त्यो रटिरटाउ सूत्रवाणी मैले मेरी श्रीमतीलाई समेत पनि सुनाइनँ । मनमा बेचैनी, क्रोध र डर त थियो नै, तैपनि लाग्योे— त्यो सूत्रवाणी सीडीओ साप्को मालिक रिझाउने र मानो पचाउने थेगो पनि त हुन सक्छ । त्यसमा त्यस्तो द्वेषपूर्ण आशय नहुन पनि सक्छ । क्याम्पसप्रमुखजस्ता त्यत्रा जिम्मेवार मान्छेले भनेका छन्— कुरो उत्रो गम्भीर छैन, सामान्य असमझदारी मात्र... ।

राजाको ठाडो आदेश बमोजिम भोलिपल्ट ११ बजे म सीडीओ कार्यालयमा हाजिर भएँ । कार्यालयमा मानिसहरूको निकै घुइँचो थियो । म पस्नासाथ सीडीओको इसारा पाएर होला, सबैजना बाहिरतिर लागे ।

म बसेँ ।

भुइँदेखि त्यस्तै ५–६ फुटजति उकासेको अग्लो मण्डप छ । मण्डपमाथि त्यत्तिकै अग्लो लाग्ने शासकीय आसनमा सीडीओ विराजमान भएको छ । माथि र तलको त्यो उचाइ र निचाइले खुलस्त भन्छ— त्यो नागरिक प्रशासनको अड्डा होइन । त्यो ऊँच र नीचको भेद र दूरी त निरङ्कुशतन्त्रकै प्रतीक हो । अहिले मुन्टो मास्तिर फर्काएर म तल बसेको छु । कागजात यसो पल्टाउँदै, केही जरुरी कुरा यसो खोजेँझैँ गर्दै चञ्चलजस्तो, अताल्लिएजस्तो मुद्रामा सीडीओमाथि राजसी उच्चासनमा बसेको छ । 

मण्डपको पछिल्लो भित्तामा एउटा पर्दायुक्त ढोकाबाट एकजना कर्मचारी वा जासुस छिनछिनमा बडो रहस्यमय ढङ्गले निस्कन्छ, सीडीओलाई यसो केही कागज हातलागी गर्छ, उसको काननेर मुख लगेर गुप्त कुरा गरेझैँ यसो केही भन्छ, अनि जान्छ । 

म चुपचाप तल बसेको बस्यै छु । मेरो सोधनी–पुछनी केही छैन, मानौँ म त्यहाँ छुइनँ । डाकिएको मानिसको उपस्थितिलाई उपेक्षा गर्ने, उसमा हीन भावना जगाउने र आफ्नो रोब र रवाफ प्रदर्शन गर्ने सामन्ती शैली होला यो भन्ठान्छु म । बस्दाबस्दा अस्पट लागेपछि मैले उठेर सीडीओको ध्यानाकर्षण गर्दै मुख फोरेँ, ‘सीडीओ साप्, मलाई आइज भन्नाको कारण के होला ?’

‘हुँ !’ कागजातमा एकोहोरिएका आँखा उठाएर तल मतर्फ फाल्दै सीडीओले बडो आक्रामक स्वरमा भन्योे, ‘ऋषि देवकोटाको याक्सन गराएको मैल्यै हो ।’

यति भनेपछि उसका आँखा माथिको भित्तातिर उठे, जहाँ राजारानीका ठुला, भड्किला तस्बीर थिए । तस्बिर हेर्दै बडो रोबदार स्वरमा उसले भन्योे, ‘म विष्णु भगवान्लाई मात्र जान्दछु । विष्णुका विरोधीमाथि म याक्सन गराउँछु ।’

म हेर्छु र गम्छु— मुद्रा उही हिजोको हो, रटिरटाउ सूत्र उही हो । सूत्रमा गर्जिएको द्वेषपूर्ण आशय पनि उही नै हो ।

‘याक्सन गराउनुपर्ने मेरो त्यत्रो कसुर के होला सीडीओ साप् ?’ अधीर भई स्वर केही उकासेर मैले सोधेँ ।

प्रत्युत्तरमा उसले शिरमाथिको तस्बिरतिर पुनः आँखा उठायो र छोटकरीमा उही सूत्र दोहोर्‍यायो, ‘म अर्थोक जान्दिनँ । विष्णुका विरोधीलाई म... ।’

त्यो मुद्रा, त्यो मनोदशा र व्यवहार गराइको त्यो साँढे शैली देख्दा मलाई लाग्योे— त्यो जनविरोधी विकृत व्यवस्थाको असन्तुलित मस्तिष्क भएको एक उन्मादी हो, र व्यवस्थाको भावनाको सक्कली प्रतिनिधि र सच्चा सन्तानको त्यो एक जीवित विम्ब हो । पञ्चायत व्यवस्था भनेको के हो ? त्यसको सही उत्तर हुन सक्थ्योे— सीडीओ रामकृष्ण पन्त । तर नागरिकका जिब्रामा सिक्री उनिएका थिए, दिमाग वरिपरि काँडेतारका बार लगाइएका थिए र तिनका अन्तरआत्माका स्पन्दनहरू सामन्ती बुटका किलाले कुल्चिइएका थिए । त्यसैले नागरिकका कन्चट–कन्चटमा सङ्गीनका टुप्पा ताकेर सत्ताले तिनलाई भन्न बाध्य गराएको थियो— पञ्चायत भनेको हावा, पानी र माटो सुहाउँदो नमुना प्रजातन्त्र हो ।

म निकैबेर उकुसमुकुस भएर उभिइरहेँ । आखिरमा दीर्घ तपस्या सरहको लामो पर्खाइपछि सीडीओ साप्बाट आज्ञा भयो, ‘मलाई भेट्दै गर्नू ।’

पल्टनधारी सत्ताले आजाद नामकोे निःशस्त्र नागरिकको हत्या गर्‍यो— अन्धकार रातमा, दुनियाँ गाढा निद्रामा डुबेका बेलामा, खोलाकोे एकलास बगरमा । त्यो सत्ताको सुर्‍याइँ थिएन, बरु त्यसको निर्लज्ज कायरता पो थियो त्यो ।

जिल्लाका राजाको ओढारबाट म बाहिर निस्केँ । बाहिर घाम लागेको थियो, हावा बहिरहेको थियो । प्रकृतिमा हरियाली छँदै थियो । आकाशको नीलिमा उत्तिकै गाढा थियो । भित्र यमराज सायद मृत्युका लिखतहरूमा आदेशको सहीछाप ठोकिरहेको थियो । बाहिर आफ्ना समस्त जीवनदायी शक्तिहरूले छताछुल्ल भएको प्रकृति मानिसलाई जिउनका लागि लड्न प्रेरणा दिइरहेको थियो, प्रलोभन देखाइरहेको थियो । त्यो प्रकृति र आजादको जीवन तथा मृत्युमा गहिरो नाता हुनुपर्छ भन्ने लाग्योे मलाई । ती दुवै जीवनका मुहान थिए, र जीवनका वास्तविक नमुना थिए ती । 

मूल बाटोमा निस्केर मैले लामो सास फेरेँ । आजादसँग मेरो कहिल्यै भेटघाट वा परिचय भएको थिएन । उनका बारेमा, उनको सत्यनिष्ठा, त्यसलाई प्राप्त गर्ने संघर्षप्रतिको उनको जाँगर, मानव मुक्तिप्रतिको उनको अटल विश्वास र आफ्नो प्रिय आदर्शका निम्ति परिआए आत्म–बलिदान गर्न पनि नहिच्किचाउने उनको आँटबारे मैले केही सुनेको थिएँ । आजादको सच्चा जीवन त उनको आत्म–बलिदानपछि नै सुरु भयो । उनको हत्या एक मामुली मानिसको मामुली प्रकृृतिको हत्या थिएन । त्यो त सत्ताधारी शोषक वर्गले सत्ताहीन शोषित वर्गको उदाउँदो चेतनामाथि उजाएको बन्चरोको प्रहार थियो । त्यो प्रहार र त्यो बलिदान दुवैको गहिरो प्रतीकात्मक अर्थ थियो ।

पल्टनधारी सत्ताले आजाद नामकोे निःशस्त्र नागरिकको हत्या गर्‍यो— अन्धकार रातमा, दुनियाँ गाढा निद्रामा डुबेका बेलामा, खोलाकोे एकलास बगरमा । त्यो सत्ताको सुर्‍याइँ थिएन, बरु त्यसको निर्लज्ज कायरता पो थियो त्यो । हत्यापछि आजादरूपी नागरिक एक शक्तिशाली वर्गीय प्रतिनिधिमा, एक जाज्ज्वल्यमान् विम्बमा रूपान्तरित भयो । त्यस अमूल्य बलिदानले थिचिएका र चुसिएका सयौँ–हजारौँ मानिसलाई थिचाइ र चुसाइविरुद्ध गर्जेर उठ्न प्रेरित गर्‍यो र कायर सत्ता थप कायरता साथ काम्न थाल्यो । सीडीओ रामकृष्णको विक्षिप्त मानसिकता, उसको उद्दण्ड व्यवहार र उसको बेचैन मनोविज्ञान शासक वर्गको मानसिक असन्तुलन र कायरताको द्योतक थियो । आफ्नो कायरता र त्रासलाई ढाकछोप गर्न पञ्चायती सत्ता थप नागरिकको हत्या गर्न आतुर थियो । रामकृष्ण पन्तको स्वामीभक्ति र याक्सनको प्रलापले आखिर त्यही कुरा त भनिरहेथ्यो ।

सीडीओ कार्यालयबाट म क्याम्पस फर्किएँ । मनको शान्ति भङ्ग भएको थियो, पढाउन मन लागेन । सीडीओसँग के कुरा भयो भनेर क्याम्पसप्रमुखले आउनासाथ सोधे । मैले लाटो चित्तले लख काटेँ— यसबिचमा अगुवा र पछुवाको फोनमा कुराकानी भइसकेको पो होला कि !

‘कुराकानी भयो,’ मैले यति मात्र भनेँ ।

के कुरा भयो, त्यो उनले सोधेनन् । यसो यसो भयो भनेर बेलिबिस्तार लाउनु मैले जरुरी ठानिनँ ।

(बाँकी पछि ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप