शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

दसैँमा मात्रै ४ करोड जोडी स्वदेशी जुत्ता–चप्पल खपत हुन्छ: व्यवसायी

शनिबार, १९ असोज २०८१, ११ : ५०
शनिबार, १९ असोज २०८१

काठमाडौँ । आत्मनिर्भरतर्फ उन्मुख नेपाली जुत्ता–चप्पलले बजारमा पछिल्लो समय वर्चस्व कायम गर्न थालेको छ । नेपाली जुत्ता–चप्पल उद्योगले आयात प्रतिस्थापन गरेको छ ।

नेपाली जुत्ता–चप्पल उद्योगसँग वार्षिक करिब १६ करोड जोडी जुत्ता–चप्पल उत्पादन गर्ने क्षमता छ । नेपाली बजारमा उपभोक्ताको वार्षिक जुत्ता–चप्पलको माग १० करोड रहेको छ । १० करोड जोडी जुत्ता–चप्पल माग रहेकोमा नेपाली उद्योगहरूले ८० प्रतिशत हिस्सा ओगटेको छ ।

 पछिल्लो समय नेपाली बजारमा जुत्ता–चप्पलको माग वृद्धि हुँदै गएको छ । आगामी वर्षसम्म यो माग बढेर वार्षिक ११ करोड जोर पुग्ने देखिए पनि भएका उद्योगहरू क्षमताअनुसार चल्न सकेका छैनन् । अब स्वदेशी उद्योगहरू मुलुकमा रहेको जुत्ता–चप्पलको  माग धान्दै निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सक्ने अवस्थामा पुगेका छन् ।दसैँमा मात्रै ४ करोड जोडी स्वदेशी जुत्ता–चप्पल खपत हुने व्यवसायी बताउँछन् ।

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रुद्र न्यौपानेले नेपाली उद्योगीहरूले अहिले बजारको मागलाई पूरा गरी विदेश निर्यात गर्ने सोचमा रहेको बताए । उनले उद्योगी व्यवसायीहरूले नेपाली जुत्ता–चप्पललाई गुणस्तरीय र आवश्यकताअनुसार उत्पादन गरी विकास गर्दै लगेको बताए । उनले नेपाली बजारको करिब ५०–६० प्रतिशत हिस्सा स्वदेशी उत्पादनले ओगटेको बताए । 

उनले अहिले नेपाली जुत्ता विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्षम भएको उल्लेख गरे । उनले नेपाली उपभोक्तामा नेपाली जुत्तामा विश्वास गरी प्रयोग गर्ने क्रम बढेको बताए । उनले सबै नेपालीहरूले स्वदेशी उत्पादनलाई माया गरेकाले जुत्ता–चप्पल उद्योग आत्मनिर्भरको अवस्थामा पुगेको बताए ।

फुटवेयरमा फेसनवाला समान बेच्ने भएकाले दसैँ बजारको मुख्य हिस्सा रहेको उनको बुझाइ छ ।  वार्षिक रूपमा विक्री हुने जुत्ता चप्पलमध्ये दसैँको समयमा ४० प्रतिशत र अन्य समयमा ६० प्रतिशत रहेको उनले बताए । उनले देशभर आएको बाढी पहिरोको कारण दसैँको लागि जुत्ता किन्ने उपभोक्ताहरूमा कमी देखिएको बताए। 

त्यस्तै से ल्याण्ड जुत्ताका प्रबन्ध निर्देशक सुरज बञ्जाडेले वर्षभर विक्री हुने जुत्ताको ४० प्रतिशत व्यापार दसैँको समयमा हुने गरेको बताए । उनले दसैँको समयमा जुत्ता चप्पल धेरै विक्री  हुने गरेको भएपनि यो वर्ष आर्थिक मन्दी र पछिल्लो बाढी पहिरोको कारण व्यापारमा कमी आउने देखिएको बताए ।  जुत्ता–चप्पल गुणस्तर र उत्पादन व्यवसायीहरू बिस्तारै वृद्धि गरिरहेको भन्दै उनले ८० प्रतिशत नेपाली जुत्ता चप्पल रहेको दाबी गरे । 

नेपालमा जुत्ता–चप्पल करिब २ हजार बढी उद्योग छन् । नेपाल जुत्ता उत्पादक सङ्घका जुत्ता–चप्पल उद्योगमा ३० अर्ब रुपैयाँभन्दा धेरै लगानी छ । उद्योगहरूले वार्षिक ३५ अर्ब रुपैयाँ भन्दा बढीको बराबरको कारोबार गर्ने गरेका छन् । वार्षिक कारोबारको हिसाबले दसैँमा ४० प्रतिशत व्यापार हुने हुँदा करिब १४ अर्ब रुपैयाँको कारोबार दसैँको समयमा गर्ने गरेका छन् । न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप