आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘शक्तिशाली सरकारले विपद्‍मा क्षमता प्रदर्शन गर्न सकेन’

शनिबार, १९ असोज २०८१, १२ : १५
शनिबार, १९ असोज २०८१

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले विपद्का समयमा सरकारको प्रभावकारी उपस्थिति हुन नसकेको बताएका छन् । पूर्व सूचना हुँदाहुँदै पनि सरकारले आवश्यक सक्रियता र तत्परता देखाउन नसक्दा मुलुकले ठुलो क्षति बेहोर्नुपरेको पूर्वगृहमन्त्री समेत रहेका रावलको भनाइ छ । 

बाढीपहिरो र डुबान भएको एक सातासम्म पनि सरकार विपद्मा परेका नागरिकसमक्ष पुग्न नसक्नुलाई रावल सरकारको असक्षमताको संज्ञा दिन्छन् । विपद् व्यवस्थापनमा सरकार कहाँ चुक्यो ? विपद्मा प्रधानमन्त्रीले त्यस्तै अभिव्यक्ति दिने हो ? प्रस्तुत छ रावलसँग विपद्मा सरकारको भूमिकाबारे गरिएको छोटो कुराकानी :

  • बाढीपहिरो र डुबानका कारण मुलुकले ठुलो क्षति बेहोरेको छ । विपद्पछि सरकारले राहत, उद्धार र पुनर्निर्माण गर्ने भने पनि कतिपय स्थानमा एक सातासम्म पनि सरकार पुग्न नसकेको अवस्था छ ।  तपाईं गृहमन्त्री र रक्षामन्त्री भइसकेको नेता, के सरकारी काम गराई यस्तै हुने हो ?

–जुन प्रकारले मुलुकका दुई ठुला राजनीतिक दलहरू एक ठाउँमा आएर शक्तिशाली सरकार बनाएर जनतालाई सेवा दिन्छौँ भनेर दाबी गरेका थिए, पछिल्लो पटक अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानजस्ता विपद्मा सरकारले तदानुकूल प्रभावकारी काम गरेको देखिएन ।

कतिपय स्थानमा न्यूनतम प्रयास गर्दा हुने काम समेत गरिएन । यस्तो विपद्का बेलामा सरकारले गम्भीर रूपमा सक्रियतापूर्वक काम गर्ने क्षमता प्रदर्शन गर्न सकेको देखिएन ।

  • विपद्मा क्षमता प्रदर्शन गर्न नसक्नुलाई सरकारको असफलता भन्ने वा चाहँदै नचाएको हो ?

–नचाहेको भनेर त कसरी भन्ने ? तर सरकारले जे दाबी गरेको थियो, साझा प्रतिबद्धता वा न्यूनतम कार्यक्रम ल्याएर हामी यस्तो गर्छौ भनेर दाबी गरेको थियो त्यो अनुसारको तत्परता र क्षमता सरकारमा देखिएन ।

  • उद्धारकै क्रममा पनि भिजिबिलिटीको कुरा पनि आयो । अझै पनि यातायात क्षेत्र तहसनहस नै छ । सरकारलाई राज्यकै अङ्गहरूले नपत्याएको हो वा क्षमता नभएको हो ?

–नख्खु खोलामा सरकारले उद्धार गर्न नसकेपछि गृहमन्त्रीले भिजिबिलिटीको कुरा गर्नुभएको मैले पनि सुनेको छु । तर सरकारले त्यसो भनेर छुट पाउँदैन । देशकै राजधानीमा हेलिकोप्टर नै उडाउनुपर्छ भन्ने छैन । विकल्प अरू पनि हुनुपर्छ । त्यसको पूर्वतयारी सरकारले गर्नुपर्थ्यो । बाढी गएको तीन चार घण्टासम्म, त्यो पनि नजिकै प्रहरीहरू छन् । प्रहरीसँग केही न केही साधन पनि थिए, होलान् । केही भएन भने डोरी फालेर पनि अलपत्र मानिसलाई तान्न सक्नुपर्दथ्यो । त्यसैले यसलाई निर्णय असक्षमता र उचित दृष्टिकोणको समेत अभाव भन्न सकिन्छ ।

  • तपाईंको बुझाइमा पछिल्लो विपद्मा सरकारले के के गर्न सक्थ्यो र किन गर्न सकेन ?

–सबभन्दा पहिला मौसम विभागको भविष्यवाणीमा सरकारले ध्यान दिन सक्नुपर्दथ्यो । केही दिन भीषण वर्षा हुने भनेपछि राज्यका सम्पूर्ण संयन्त्रहरू, मन्त्रिपरिषद् र प्रधानमन्त्री सबैले गम्भीर रूपमा लिएकै देखिएन । जसले गर्दा जनधनको बढी क्षति हुन पुग्यो । दोस्रो कुरा जब विपत्ति आइलाग्यो र कयौँ मानिसहरू बिचल्लीमा परे त्यसमा सरकारका संयन्त्र परिचालन भएको महसुस नै नागरिकले गर्न सकेनन् । विपद् निम्तेको पनि एक साता भइसक्यो कतिपय सडकहरू अझै पनि पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् । खासगरी बागमती, कोशी र गण्डकीका केही स्थानमा तदारुकताका साथ राज्यका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्ने र नागरिकहरूलाई पनि आह्वान गर्ने काममा समेत प्रभावकारिता देखिएन । समग्रमा भन्दा राज्यले पटकपटक यस्ता अनेक विपत्तिको सामना गरेर गर्नुपर्ने तयारीहरू गर्नुपर्दथ्यो त्यो गरेन । साथै पूर्वसूचना हुँदाहुँदै पनि सम्बन्धित पदाधिकारीहरूले त्यसका लागि जे प्रयत्न गरेको देखिनुपर्दथ्यो त्यो सरकार र सरकारी अधिकारीहरूले देखाउन सकेनन् ।

  • भनेपछि सरकार विपद्मा पनि लाचार बन्यो ?

–सरकारको तत्परता नदेखिएकै हो । तत्परता र क्षमता नदेखिएपछि लापरबाही भन्दा पनि हुन्छ ।

  • तपाईंकै पार्टीको प्रधानमन्त्री हुनुहुन्छ । विपद्मा त उहाँ देशमा हुनुहुन्थेन । तर स्वदेश फर्कँदा एयरपोर्टमा के पहिरो यहाँयहाँ जान्छ भनेर मौसम विभागले भनेको थियो र भनेर गरेको प्रतिप्रश्न सुन्नुभयो ?

–प्रधानमन्त्रीले विमानस्थलमा जस्तो प्रकारको अभिव्यक्ति दिनुभयो त्यो त्यत्रो ठुलो विपद्का बेला दिने अभिव्यक्ति थिएन ।

  • प्रधानमन्त्रीबाटै त्यस्तो अभिव्यक्ति आउनुले त नागरिकले सरकार छ भनेर अनुभूति गर्न सक्ने अवस्था रहेन होइन ?

–त्यही भएर होला नागरिकहरू ठुला राजनीतिक दलहरूको बलियो सरकार हुँदा पनि नागरिकलाई केही गरेन भनेर आलोचना गर्न बाध्य भएका हुन् । देशबाट युवाहरू पलायन भएका भएकै छन् । उहाँहरूले दुई ठुला दल मिल्यौ अव जनतामा आशा जगाउँछौ भनेर भाषणमा भने पनि विपद् र अप्ठेरो बेलामा खै त आशा जगाएको ? यो बेला हो नि जनतामा आशा जगाउने । त्यसैले मैले नेपालको स्वाधीनता, राष्ट्रियता, स्वतन्त्रता जनताको हित र अधिकारप्रति गम्भीर भएर काम गर्नुपर्छ भनेर समय समयमा आवाज उठाउनुको कारण यही हो ।

  • तपाईंको भनाइ त कसैले सुनेको देखिँदैन । तर पनि पछिल्ला घटनाक्रममा सरकारको कार्यशैली हेर्दा नागरिकप्रति उत्तरदायी हुनुभन्दा पनि आफ्नै चिन्तामा बढी लागेको देखिएको हो भनेर बुझ्ने ?

–नेपालको राजनीति स्वार्थकेन्द्रित भयो । राजनीति स्वार्थकेन्द्रित हुँदा परिणाम आउने यस्तै नै हो । राजनीतिक स्वार्थभित्र पनि गुट र उपगुटहरू हाबी भएर स्वार्थका खेल हुने नेपालको राष्ट्रिय राजनीतिको लामो प्रवृत्ति छ । त्यो प्रवृत्ति अहिले पनि कायमै छ भन्ने घटनाक्रमहरूले देखाउँछ । त्यसकारण पार्टी, संगठन, सिद्धान्त देशको हितमा केन्द्रित गरेर जनताको सेवामा इमानदार ढंगले काम गरियो भने मात्र जनताको भरोसा राजनीतिक पार्टी र सरकारप्रति बढ्न पुग्छ । होइन यही ढंगले जाने हो भने विश्वासको क्षयीकरण बढ्दै जान्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप