गिरि श्रीस मगरका तीन कविता
१) एउटा न्यायाधीशको सङ्क्षिप्त अनुभूति
पटपटी धाँजा फाटेका खेतहरूलाई
सुदूरबाट आइपुगेको मनसुनले पानी दिएजस्तै
पिँजडामा कैद पक्षीलाई
दूरबाट आइपुगेको बटुवाले मुक्ति दिएजस्तै
सहरमा हराइरहेको बाल्खालाई
गाउँबाट आइपुगेको बाले हात दिएजस्तै
न्याय दिन चाहन्थे उनी
फिरादपत्र बोकेर
न्यायालयको ढोकाअघि
शताब्दीदेखि लाइन लागिरहेका फिरादीहरूलाई
तिनलाई न्याय दिन
लहरले छाडी गएको किनारजस्तै
उदास बगरमा उभिन तयार थिए उनी
गुराँसले छाडी गएको उत्तीसजस्तै
डरलाग्दो भीरमा उभिन तयार थिए उनी
आरोहीले छाडी गएको झन्डाजस्तै
हिमालको शिरमा उभिन तयार थिए उनी
करतल ध्वनिका साथ
संसद्ले पास गरेका कानुनले
जहाँ जहाँ भन्छ,
उनी
त्यहीँ त्यहीँ उभिन तयार थिए
तयार भएर त्यसरी
न्यायको तराजु उचाले उनले
एक्कासि
छाँगाबाट खसेझैँ झस्किए उनी
बोध भयो उनलाई
चोरका राजाहरूबाट लेखिएका रहेछन् कानुन,
डाँकाहरूका सरदारको
कब्जामा रहेछ संसद्
ठिक त्यही बेला
शासकमण्डलको मुखिया भने
जोकरको हाउभाउमा धुन्धुकारीको काम गरिरहेथ्यो
आशाको दियो निभाएर
चारैतिर निराशा छरिरहेथ्यो
कस्तो नशामा फर्केको थियो कुन्नि विदेशबाट ?
विमानस्थलमा ओर्लिनेबित्तिकै
नाङ्गो भई बर्बराइरहेथ्यो
न्यायको अमृतले
फिरादी–मनको तिर्खालु गाग्रीलाई
चाहन्थे उनी टनाटन भरिहन
तर बाध्य थिए
फैसला, फैसला र फैसला मात्रै गरिरहन
००
२) एक्लो छाया
एउटै थियो प्रेमको गन्तव्य
र गन्तव्यका लागि गति
एउटै थियो मायाको गीत
र गीतमा भरिएको संगीत
छोउँ–छोउँ त लाग्थ्यो नि !
तर कहिल्यै
छुन सकिनँ तिमीलाई
न त तिमीले नै
छुन सक्यौ मलाई
पछ्याउँ–पछ्याउँ त लाग्थ्यो नि !
तर कहिल्यै
राख्न सकिनँ मैले आफ्नो पैताला
पैतालाका तिम्रा डोबहरूमा
न त तिमीले नै
सक्यौ पाइला चाल्न
पैतालाका मेरा डोबहरूमा
एकै ठाउँबाट एकैपटक
सँगसँगै हिँडे पनि प्रेमको यात्रामा
एउटै बाटोमा भने
हिँडेका थिएनौँ नि त हामी !
तिमी हिँडिरहेका थियौ बायाँ बाटोमा
म हिँडिरहेको थिएँ दायाँ बाटोमा
एक अर्काको
समानान्तर बाटोमा !
समानान्तर यी बाटाहरूले
भेट्लान् एक न एक दिन एकार्कालाई भनेर
समेट्लान् एक न एक दिन एकार्कालाई भनेर
हिँडिरह्यौँ हिँडिरह्यौँ हिँडिरह्यौँ हामी
दिन, महिना, वर्ष र दशकहरू गनेर
घाम झुल्केपछि र घाम डुब्नुअघि
घमाइला हरेक दिनमा
जून उदाएपछि र जून अस्ताउनुअघि
शुक्ल पक्षको हरेक रातमा
एकैछिन नै सही
अँगाल्थे एकार्कालाई
हाम्रा छायाहरूले
कृष्णपक्षको रातमा भने
विलीन भएर एकापसमा
माया गर्थे एकार्कालाई
हाम्रा छायाहरूले
एक दिन अचानक
तिमी हिँडिरहेको बाटोमा
मिसिन आइपुग्यो कल्पनातीत एउटा बाटो
त्यही दोबाटोमा टक्क अडियौ तिमी
सोचमग्न भएर केहीबेर
मायालु हेराइबाट
मानौँ जुगजुगदेखिको सारा माया
खन्याएर एकैचोटि ममाथि
हल्लायौ आफ्ना हातहरू
बिदा माग्यौ मसँग
र, मोडियौँ बायाँतिर
अप्रत्याशितजस्तै त्यसरी
छुट्टिएका थियौ तिमी जहाँबाट
म भने उभिएको छु त्यही जडवत्
हेर्दाहेर्दै पुगिसकेका छौ धेरै पर
कामना गरिरहेछु–
तिमी हिँडिरहेको नयाँ बाटोमा
नहोस् कतै भीर–पहरा
नहोस् कहीँ काँडा–पत्थर
नसकेझैँ समय र उमेरलाई फर्काउन
सक्नेछैन फर्काउन मैले
फेरि पछाडि यो यात्रालाई
यो बाटो–
जीवनको बाटो होस् या मृत्युको
भ्रमको होस् वा सत्यको
प्रेमको बाटो होस् वा पीडाको
हिँड्नु नै छ मलाई एक्लै
तर हुने छैन म एक्लो
तिमीबिनाको अधुरो यो यात्रामा
मसँग हुनेछन् तिम्रा अनन्त स्मृतिहरू
तिमीले छाडी हिँडेको
चिरपरिचित यी समानान्तर बाटाहरू
एक्लो–
एकदमै एक्लो त बिचरा
हुनेछ मेरो छाया !
००
३) स्वास्नी मान्छे
असङ्ख्य छन्
दुनियाँमा पुग्नुपर्ने महत्त्वपूर्ण शिखरहरू
तर तिमी पुग्न चाह्यौ
केवल
सफलताको शिखरमा
मेरो प्रेमले धानेको थियो
तिम्रो सारा अस्तित्व
तर पुगेन तिमीलाई मेरो प्रेमले मात्रै
मेरोे पवित्र प्रेमको
टाउकैमा टेकेर भए पनि
चढ्नु थियो तिमीलाई सफलताको शिखर !
त्यसैले विश्वास लागेन तिमीलाई
मसँग हातेमालो गर्नुपर्ने आफ्नै हातमा
मसँग सँगै हिँड्नुपर्ने आफ्नै गोडामा
मसँग सँगै संवेदित हुनुपर्ने आफ्नै मनमा
बिर्सियौ तिमीले
कि मैले नै दिएको हुँ तिमीलाई
सम्पूर्ण दृष्टि
सम्पूर्ण सृष्टि
बिर्सियौ तिमीले
कि दुनियाँको पहिलो मूल
मेरै छातीभित्र फुटेको थियो
दुनियाँको पहिलो छाल
मेरै छातीभित्र उठेको थियो
त्यो मायाको मूल थियो तिम्रै लागि
त्यो करुणाको छाल थियो तिम्रै लागि
धेरै के पो चाहेकी थिएँ र मैले तिमीबाट ?
मात्र यत्ति
कि गरेर सम्मान मेरो स्वाभिमानको
तिमी हिँड्नु मसँगै हातेमालो गरेर
तर सफलताको सत्तामा मदोन्मत्त तिमी
राख्न चाहन्थ्यौ मलाई
सती समाधिको अग्नि वृत्तभित्र
बनाएर त्यसैले कथित विवाह मण्डप
अग्नि देवताका नाममा
फुक्यौ मेरा सपनाहरू जलाउने आगो
लगन गाँठोका नाममा
बनायौ मेरा आकाङ्क्षाहरू बाँध्ने बन्धन
सौभाग्यका नाममा
हालिदियौ मेरो सिउँदोमा भ्रमको सिन्दुर
आविष्कार गर्यौ–
पाउजु, चुरा र तिलहरी !
त्यसरी तिमीले मलाई
गाँठोले डोरिने कठपुतली बनायौ
एक धर्का सिन्दुरमा जीवन देख्ने भ्रमित यात्री बनायौ
नेल, हतकडी र पासोसहितको आजीवन कैदी तुल्यायौ
त्यसपछि
हो, त्यसपछि
छोडेर तिम्रो हात
तोडेर तिम्रा सारा बन्धनहरू
काट्दै अप्ठ्यारा मोडहरू
अघि बढेकी हुँ म लात मार्दै तिम्रो सत्तालाई
भेटाएर मलाई
आफ्नो उही पुरातन स्वार्थको सासले छुन
पाएर मलाई ‘सफल’ हुन
त्यसयता लगातार
दौडिइरहेका छौ तिमी
मेरो पछिपछि
मलाई झुक्याउन, फकाउन
भन्न त भन्छौ तिमी
कि हरेक लोग्नेमान्छेको सफलताका पछि
हुन्छे एउटी स्वास्नी मान्छे !
तर याद गर
जुगजुगदेखि म नै छु अघि
तिम्रो जित र हारभन्दा
तिम्रो कलुषित विचारभन्दा
तिमी जाबो त
लोग्नेमान्छे न हौ पुरातन
म त आगो हुँ नवीन चेतनाको
बलिरहेछु दनदन
०००