दसैँ तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि डाक्टर खोज्दै जाने ?
मानव स्वास्थ्यका लागि दैनिक खानपानको ठुलो महत्त्व छ । डाक्टर, अस्पताल र औषधिहरूले मात्रै मान्छेको स्वास्थ्य निर्धारण गर्दैनन् । उनीहरूको खानपिन सांस्कृतिक बनावट, चालचलन, शिक्षा, आर्थिक अवस्थाले पनि स्वास्थ्य निर्धारण गर्छ । अहिले नेपालमा जनस्वास्थ्यको विषय त्यति सन्तोषजनक अवस्था नभए पनि तथ्यांकले के देखाउँछ भने नसर्ने रोगहरू एकदमै बढ्दै गइरहेको छ ।
झन्डै ३५ प्रतिशत महिलाहरू मोटोपनको सिकार भएका छन् । त्यसमा पनि उच्च वर्गका ५३ प्रतिशत र गरिब वर्गका २० प्रतिशत महिला मोटोपनको सिकार भएको तथ्यांकले देखाउँछ । जनस्वास्थ्यको दृष्टिकोणले यो नराम्रो अवस्था हो । कुपोषण पनि बढेको छ । जसले बालबालिकाको शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि समस्या ल्याइरहेको छ ।
खानपान र स्वास्थ्य जीवनशैलीलाई चाडपर्वमा मात्र होइन । जहिले पनि ध्यान दिनुपर्छ । र त्यसलाई जिन्दगीको अङ्ग नै बनाउनुपर्छ । चाडपर्वको बेला आफन्त र साथीभाइसँग भेट हुन्छ, धेरै समयसम्म भेट नभएकाहरूसँग पनि भेट हुन्छ । त्यो बेला खानाको बारेमा महत्त्वपूर्ण कुरा हुन्छ । दसैँको बेला हो, मासु खाऔँ भन्ने हुन्छ । पहिला पहिला त ‘दसैँ आयो खाउँला पिउला’ भन्दा मासु नै भन्ने हुन्थ्यो । तर अहिलेको समयमा मासु अरू समयमा पनि खाने भएकाले त्यति चासो हुन्न र पनि दसैँको बेला छुट्टै यसको महत्त्व हुन्छ ।
तर एउटा के कुरा चाहिँ विचार गर्नुपर्छ भने चाडपर्वको बेला खानपिन त गरिन्छ तर स्वास्थ्य अवस्थालाई चाहिँ ध्यानमा राख्नपर्छ । किनकि खानलाई लागि धेरै खायो त्यसपछि बिरामी पर्यो भने केही मतलब नै हुँदैन । तर त्यसको असर दीर्घकाल रूपमा पर्दै जान्छ ।
पाँच छ फिटको शरीरका लागि तीन चार इन्चको जिब्रोले कन्ट्रोल गर्न सक्दैन । त्यसैले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खानपिन गर्नुपर्छ । मासु, तरकारी, दालभात विभिन्न किसिमका परिकारहरू खाइन्छ । तर यसमा आनन्द पनि जोडिएको छ । पेट भर्ने मात्रै होइन । घर परिवारसँग, पाहुनालाई बोलाए सँगै खाँदा छुट्टै आनन्द आउँछ । तर यस्तो बेला खानेकुरामा एकदमै संवेदनशील बन्नुपर्छ । विशेष गरी मासु एकदमै चिल्लो र मसलादार साथै हेर्दा राम्रो लाग्ने हुन्छ । तर त्यो खाँदा असर गर्छ भन्ने कुरा बुझ्नुपर्छ । स्वास्थ्यलाई असर पर्ने कुराहरू सकेसम्म नखानुहोला । मान्छेको मन कस्तो हुन्छ भने मासु र भात पकाएर खाँदा पेट भरिएपनि मुख भरिएको छैन भन्दै खाने स्वभाव हुन्छ । त्यसले धेरै रोगको सिकार बनाउँछ । पहिला दसैँको बेला धेरै रक्सी खाने गरेको देखिन्थ्यो । तर अहिले के सिद्ध भएको छ भने रक्सी दसैँका लागि मात्र सीमित छैन । धेरै चिल्लो, गुलियो पदार्थहरू, कोल्ड ड्रिङक्सहरु , मिठाइहरू खाँदा मानिसहरूको शरीरमा पनि कलेजोमा बोसो जम्ने समस्या हुन्छ । त्यही कारणले पनि चाडपर्वमा मासुदेखि मिठाइसम्म, कोल्ड ड्रिङक्सदेखि अन्य पेय पदार्थहरूसम्म सेवन गर्दा एकदमै ध्यान पुर्याएर खानुपर्छ ।
कोल्ड ड्रिङक्सहरु त झन् नछोएकै राम्रो हो । यसका सट्टामा कत्ति धेरै आफ्नै तरिकाका पेय पदार्थहरू कागती–पानी, पुदिना–पानी जस्ता सर्बतहरू सेवन गर्न सकिन्छ । स्वास्थ्य समस्या बढेर चाडपर्वमा अस्पताल जानेहरूको घुइँचो देखिन्छ । दसैँ तिहारमा एकछिन रमाइलो गर्यो, त्यसपछि अस्पतालमा डाक्टर खोज्दै जाने गरिन्छ । त्यस्तो भएपछि त चाडपर्वमा रमाइलो गरेको अर्थ नै भएन नि । त्यसैले पछिसम्म जिन्दगी रमाइलो भइराखोस् भन्ने हो भने दसैँ तिहारमा पनि एकदमै संयमित भएर खाना खाने गर्नुपर्छ । पेटभरी र जबरजस्ती खानुहुँदैन । चाडपर्वको बेला जता जाँदा नि खाऊँ न खाऊँ भन्ने नेपालीहरूको बानी हुन्छ । उसले अपमानित महसुस गर्ला भनेर १० ठाउँमा जाँदा पनि अलि अलि मुखमा हाल्दा बढी नै हुन्छ । त्यसैले अपमानित नहुनेगरी एउटा टुक्रा मात्र मुखमा हाल्ने र पेटमा उकुसमुकुस हुनेगरी खाँदै नखाने गर्नुपर्छ ।
दसैँको मुखमा कर्णालीतिर प्रायः सुनिन्थ्यो चामल अभाव भएको कुरा । काठमाडौँबाट चामल लगेर अथवा नेपालगन्जबाट चामल ढुवानी गरेर कर्णालीतिर लगेर त्यसपछि मानिसले चामल खाने भएको हुनाले चामल विशेष इज्जतको बस्तु मानियो । तर कर्णालीतिरको चिनो उवा, सिमी, आलु, मार्सी चामल पाइन्छ । त्यसको प्रयोग गर्दा पनि त हुन्छ । त्यसको अर्थ चामल खानै हुँदैन भन्ने होइन । तर भएन भने चामलको सट्टामा मिलाएर खान पनि त मिल्छ । चामल दसैँमा टीका लगाउने भएर त्यसलाई अक्षतासँग जोडेको हो तर चामल छैन, खान पाएनौँ, भोकै मर्नुपर्ने भयो भनेर बस्नुपर्ने पनि छैन । सरकारले सबै ठाउँमा पुर्याउन सक्दैन । पुर्याएको पनि छैन । चामलको सट्टामा कत्ति धेरै स्वास्थ्यकर खानेकुराहरू कोदो, फापर जस्ता अन्य अन्नहरू छन् । चामल नहुँदैमा अनिकाल हुँदैन । नेपालीहरू चाहिँ चामल नभई खान पाइँदैन र खान नपाएको भन्छन् । वास्तवमा त्यो होइन ।
चाडपर्वमा मिठाई कोसेली लान त बन्द नै गर्नुपर्छ । मेरोमा आउनेहरूले मिठाइ ल्याउँदा पनि नल्याउनुहोस् भनेको छु । ल्याउनै बन्द गरेको छु । आजभोलि ल्याउन छाड्नुभएको छ । फलफूल पाइन्छ नि बजारमा । म अरूको मा जाँदा फलफूल नै लैजान्छु । अलि सम्मान गर्ने मानिसको जाँदा काजु लैजान्छु । गाउँबाट ल्याएको तामा, कोदो, फापर लैजान्छु । म आफू मिठाइ किन्दा पनि किन्दिन अरूलाई दिँदा पनि दिन्न । अरूलाई फलफूल लैजानुस् सजिलो पनि छ । तर मिठाई चाहिँ न लैजानुहोस् नै भन्न चाहन्छु । (नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र
-
माछामा आत्मनिर्भर बन्ने सरकारी सोच नै छैन
-
राखेपले बोलायो ११८ औँ बोर्ड बैठक, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे निर्णय लिन आग्रह
-
सुनको भन्सार घटेपछि के छ व्यवसायीको प्रतिक्रिया ?
-
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई कति ?
-
सुदूरपश्चिममा व्यावसायिक माछा पालन, आयात प्रतिस्थापन गर्दै निर्यातको उद्देश्य