शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

नौ बुँदे विशेष प्रस्ताव जारी गर्दै सम्पन्न भयो नेपाल अडिटर्स एशोसिएसनको  छैटौँ पूर्ण बैठक

शनिबार, १९ असोज २०८१, ०८ : ४४
शनिबार, १९ असोज २०८१

काठमाडौँ । नौ बुँदे विशेष प्रस्ताव जारी गर्दै नेपाल अडिटर्स एशोसिएसन (अडान)को केन्द्रीय कार्यसमितिको छैटौँ पूर्ण बैठक सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष केदार नाथ पौडेलको अध्यक्षता, निवर्तमान अध्यक्ष एवम् सल्लाहकार समितिका संयोजक मोहन राज रेग्मीको विशिष्ट आतिथ्यता, संस्थापक अध्यक्ष  कमल खरेल र विशेषज्ञ समितिका संयोजक  सूर्य प्रसाद अधिकारीको विशेष आतिथ्यता, सल्लाहकार समितिका सहसंयोजक तथा सदस्यहरूको आतिथ्यता, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, अनुशासन समितिका संयोजक, लेखापरीक्षण समितिका सह संयोजकको भौतिक तथा भर्चुअल उपस्थितिमा, संस्थाको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा बैठक सम्पन्न भएको हो । 

बैठकमा महासचिव प्रेम बहादुर श्रेष्ठले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन र  कोषाध्यक्ष बलराम चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।  

यस्ता छन् बैठकले पारित गरेको  विशेष प्रस्तावहरू

१, देशभर हालै आएको बाढी पहिरोबाट भएको जनधनको अपूरणीय क्षतिप्रति यो बैठक गहिरो दुःख व्यक्त गर्दछ। मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। साथै, यो बैठक नेपाल सरकारको ध्यानाकर्षण गराउँदै, प्राकृतिक विपत्तिबाट प्रभावित संरचनाहरूको शीघ्र पुनर्निर्माण र घाइतेहरूको उचित उपचारका लागि तत्काल आवश्यक कदमहरू चाली जनजीवनलाई छिट्टै सामान्य अवस्थामा फर्काउन जोडदार माग गर्दछ । 

२, देशमा उत्पादित युवा जनशक्तिलाई स्वदेशमै अध्ययन गरेर काम गर्ने अवसर नहुँदा, युवाहरू बिदेसिन बाध्य भएका छन्, जसले गम्भीर चुनौती खडा गरेको छ। यस अवस्थालाई सम्बोधन गर्न यो बैठक नेपाल सरकारको ध्यानाकर्षण गराउँदै, स्वदेशमा नै रोजगारी सिर्जना हुने खालका सीपमूलक र रोजगारमूलक शैक्षिक प्रणाली अविलम्ब लागू गरी, युवा शक्तिलाई स्वदेशमै रहेर राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने अनुकूल वातावरण सिर्जना गर्न जोडदार माग गर्दछ। 

३, आईक्यानद्वारा आयोजित सम्मेलनहरूमा प्रस्तुत गरिएका तथ्यहरू प्रायः एकपक्षीय र पक्षपातपूर्ण देखिएकाले यो बैठक गम्भीर चिन्ता व्यक्त गर्दछ। लेखा व्यवसायीहरूको हितलाई समान रूपमा प्रतिनिधित्व गर्ने गरी, सबै सदस्यहरूको विश्वास जित्ने निष्पक्ष कार्य गर्न र नियमनकारी निकायको भूमिकालाई न्यायसंगत र पारदर्शी बनाउन यो बैठक आईक्यान समक्ष जोडदार माग गर्दछ।

४, संविधान कार्यान्वयनसँगै सबै ऐन र कानुनको परिमार्जन आवश्यक भएको अवस्थामा, यो बैठक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐनको पनि संशोधनको माग गर्दछ। लेखापरीक्षकहरूको सदस्यतामा रहेका सबैखाले विभेदहरू अन्त्य गर्दै, सबै सदस्यहरूलाई समान हैसियत दिलाउन नेपाल सरकार र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आईक्यान०लाई यस बैठक जोडदार माग गर्दछ। साथै, ऐनको संशोधनको सन्दर्भमा आपसी छलफल र सहमतिको माध्यमबाट चाँडोभन्दा चाँडो ऐन परिमार्जन गरी लागू गर्न खुला दिलले अघि बढ्न यो बैठक नेपाल सरकार र आईक्यानलाई जोडदार आग्रह गर्दछ।

५, देशको विकासमा आर्थिक सुशासन कायम गर्न अति आवश्यक छ। यस सन्दर्भमा, राज्यका सबै निकायहरूले जनता प्रति उत्तरदायी भएर देशमा मौलाएका विभिन्न बेथितिहरूलाई रोक्नुपर्छ। साझा समस्याहरूको समाधानमा गम्भीरताका साथ ध्यान दिन यो बैठक जोडदार माग गर्दछ।

६, नवीनतम प्रविधिको आगमनले लेखा व्यवसायमा चुनौतीसँगै नयाँ अवसरहरू पनि सिर्जना गरेको छ। लेखापरीक्षण मापदण्डका प्रावधानहरूको पूर्ण परिपालन गर्दै, लेखापरीक्षण कार्यलाई अझ मर्यादित, व्यवस्थित, र प्रभावकारी बनाउन यो बैठक सम्पूर्ण सदस्यहरूलाई जोडदार आग्रह गर्दछ। लेखा व्यवसायमा प्रविधिको उचित प्रयोगले व्यावसायिकता र विश्वसनीयता बढाउन मद्दत पुर्‍याउने हुँदा, यसलाई आत्मसात् गर्न सबैलाई प्रेरित गर्न यो बैठक विशेष जोड दिन्छ।

७, लामो समयदेखि भैरहको रसिया र युक्रेन, इजरायल र हमास, इरान, लेवनानबिचको सङ्घर्षले विश्वको अर्थव्यवस्थामा गम्भीर हलचल ल्याएको छ। यस सङ्घर्षका कारण खाद्यान्नको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ, र सुन तथा चाँदी जस्ता वस्तुहरू पनि महँगिएका छन्। साथै, विश्वका शेयर बजारहरूमा नकारात्मक प्रभाव परेको यस कठिन परिस्थितिमा, युद्धको अन्त्य र शान्ति स्थापनाका लागि सम्बद्ध सबै पक्षलाई दृढ अपिल गर्दछौँ। 

८, देशको विभिन्न आर्थिक क्षेत्रहरूको परिचय दिने लघुवित्त र सहकारी क्षेत्रमा देखिएका व्यवस्थापकीय समस्याहरूको चाँडो समाधानका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूलाई नागरिकप्रति गम्भीरता जनाउन यो बैठक ध्यानाकर्षण गराउँछ।

९, सम्पूर्ण देशवासी र लेखापरीक्षकहरूमा २०८१ सालको बडादसैँ, तिहार, नेपाल सम्बत, र छठ पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै, यी पर्वहरूले हाम्रो जीवनमा उज्यालो र समृद्धिको किरण ल्याओस् भन्ने कामनाका साथ सबैलाई विशेष धन्यवाद दिँदै यो बैठक धन्यवाद ज्ञापन गर्दछ । 

CC Meeting 2

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप