शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
व्यङ्ग्य निबन्ध

नेपाली राजनीतिको लुतो

शनिबार, १९ असोज २०८१, ०८ : ३०
शनिबार, १९ असोज २०८१

नेपाली राजनीति र शासन प्रणालीमा पनि कोरोना भाइरस र हैजाभन्दा घातक र डरलाग्दा लुतो, पिलो, चोरखटिरो र भिरिंगीजस्ता रोग र प्रवृत्तिहरू रहेका छन् । 

गणतन्त्रको यो चरणमा आइपुग्दा पनि यस्ता रोग सल्टिनुको सट्टा झन्झन् बल्झिँदै गइरहेका छन् । यस्ता रोगको बढ्ता संक्रमण गोप्य र सवेदनशील ठाउँमा हुने गर्छ । साबुनपानीले हात धुने बानीले महामारीबाट बच्न सकिएला, लुतो–पिलोबाट जोगिन सकिँदैन । नआइदिओस् भन्ने ठाउँमा आइदिन्छ, नहोस् भन्ने बेलामा भइदिन्छ । 

सरसफाइको अभावमा नै लुतो पैmलने गर्छ । जब लुतो शरीरभरि पैmलन्छ, पानीले नुहाएर सन्चो हुँदैन, स्क्याबियनको झोलले बिहान–बेलुकी नै नुहाउनुपर्छ । जिउभरि लुतो बोकेको मान्छेले लाज र घिन बिर्सेको हुन्छ । लुतो असाध्यै चिलाउने रोग भएकाले त्यस्तो मान्छेले सार्वजनिक ठाउँमा उभिँदा पनि अरुको वास्ता गर्दैन र केही उपाय नलागे लाजै नमानी कन्याएर भए पनि आफ्नो जलन मेटाउने प्रयास गरेका हुन्छन् । लुतो नकन्याउँदा पनि शान्त हुन नसकिने र कन्याएपछि पनि दुखिरहने रोग हो । लुतोका यस्तै धेरै विशेषता छन् । त्यसैले यहाँ लुतोसँग ठ्याक्कै मिल्दाजुल्दा केही लक्षण र विशेषतासहित नेपाली राजनीतिलाई तुलना गरेर हेरिएको छ । 

पहिलो कुरा त नेपाली राजनीति र शासन प्रणाली यति फोहोरी खेल भएको छ कि इमान, जमान, नैतिकता, आदर्श, मूल्य–मान्यता, विचार, सिद्धान्त भन्ने केही कुरा अलिकति पनि बचेको छैन । अपराधीहरूले मन्त्रालय हाँक्ने शासनसत्ताका सबै अङ्ग लुतोमय भइसकेका छन् । यस्ता मान्छेले आफूलाई भ्रष्टाचार, कमिसन र बेइमानीको लुतो आएको छ भनेर स्वीकार गर्न चाहन्नन् । कसैले देखिहाल्यो भने यो लुतो हुँदै होइन भनेर अटेरी गर्छन्; यती, ओम्नीले ढाकछोप र संरक्षण गर्छन् र यो सामान्य रोग हो, तातो पानी खाए ठिक हुन्छ, बेसार लगाए ठिक हुन्छ भन्छन् । आफैँ लुतो बोकेर हिँडेका हुन्छन्, आफैँ डाक्टर, आफैँ अख्तियार र आफैँ न्यायाधीशभन्दा जान्ने बनेका छन् । 

पालिका प्रमुखसँग सिँगौरी खेल्ने र कसैले लगाएको टिसर्टसँग डराउने प्रवृत्ति पनि एउटा लुते राजनीति नै हो । यस्ताले लुतो कन्याउँदा कन्याउँदै कपडा झरेको थाहा पाएका छैनन्, इजाराको पिर गरेर बसेका छन् ।

सरसफाइमा अरुभन्दा अगाडि छु भनेर अरुको मानमर्दन गरेका छन् । तर्कहीन र अप्रमाणित कुरा मात्रै गरेर आफ्नो मर्यादा र स्तरबाट स्खलित हुने काम गरेका छन् । आफ्ना विचारको सरसफाइ कहिल्यै गर्दैनन् । हामीले हिजो जनताको अगाडि के बोलेका थियौँ, उनीहरूलाई कुनै हेक्का छैन । आत्मालोचना कतै गरिँदैन । गफ त यति दिन्छन् कि धरहरा पनि मेरै बाउको सम्पत्तिले बनाएको जस्तो गर्छन् र पार्किङ र शौचालयको भाडा मैले नि उठाउन पाउनुपर्छ जस्तो तुच्छ विचारको बान्ता गर्छन् । 

यस्ता मान्छेले लाज र घिन सबै बिर्सेका छन् । मूर्खले जस्तै अर्काले दिएको सल्लाह र उपदेशलाई गाली सम्झिन्छन् । भित्रभित्रै कमिसन र भ्रष्टाचारको भैँसेलुतो पाकेर कापकापमा डुङडुङती गन्हाउँदा सर्वसाधारणले नाक छोपेर हिँड्नुपर्ने अवस्था छ । राजनीतिक लुतो बोकेर हिँडेका मान्छेले नाक छोप्नेलाई नै ‘हामीलाई हेप्ने’ भन्दै उल्टै गाली गरेका छन् । कहिले उनीहरूले यो लुतोलाई किलोकिलो सुनले लुकाउन खोजेका छन्, कहिले वाइडबडी जहाजले छेक्न खोजेका छन् । यिनीहरू कहिले बिजुलीको बक्यौता नतिर्ने व्यापारीको लँगौटीले आफ्नो लुतो छोप्न खोजिरहेका हुन्छन् भने कहिले गिरीबन्धु र नेपालीलाई भुटानी शरणार्थी बनाएर आउने कमिसनमा सुशासनको माला जप्न खोजिरहेका हुन्छन् । यो नेपाली राजनीतिको माथिल्लो तहमा देखिएको लुते लाजनीतिको डरलाग्दो लक्षण हो ।

दोस्रो कुरा, लुतोबाट ग्रसित नेताले अरुहरूको पनि लुतो–पिलो आउन सक्ने सम्भावित ठाउँ हेर्छन् । मुख हेर्दैनन् र मुख हेर्दिनँ भन्छन् । फेरि उनीहरूलाई जतिबेला पनि आफ्नै मात्र र आफ्नाको मात्रै पिर हुन्छ । जसरी शरीरमा आएको लुतोले आफूलाई जतिबेला पनि सुमसुमाइदिए हुन्थ्यो भन्ने चाहन्छ त्यसैगरी लुतो बोकेर हिँडेका राजनीतिज्ञले सडक, संसद् र अरु बैठकहरूमा आफू विरुद्धका कुरा आए भने भाग्ने, छल्ने, शंका गर्ने, उज्यालो छर्ने कुलमानलाई जसरी एक्ल्याउने गर्छन् तर आफ्नो पक्षमा कुरा भए भिडभाडमा पनि लुतो कन्याउँदै र सुमसुम्याउँदै आनन्द मान्ने प्रवृत्ति मौलाउँदै गएको छ । नेपाली राजनीतिको यो दृश्य देखेर जनताहरू वाक्कदिक्क बनिसकेका छन् ।

राजनीतिको मसिहा सम्झने यस्ता मान्छेले कहिले दक्षिण फर्केर लुतो कन्याउँछन् र उत्तरलाई गाली गर्छन्, कहिले उत्तर फर्केर आफ्नैलाई सराप्छन् । यस्ता मान्छे आफूप्रति सहानुभूति बटुल्न जे पनि बोल्छन् । वर्तमान आवश्यकतालाई हेरेर सम्बन्ध बनाउनुको सट्टा बिगार्दै हिँड्छन् । कहिलेकाहीँ उनीहरूलाई लुतोका कारण यस्तो पीडा र डाह भइरहेको हुन्छ कि यत्रतत्र भौँतारिन्छन् । शीतल खोज्न शीतलनिवास पुग्छन्, मध्यरातमा खुफिया एजेन्सीका सामन्त गोयललाई आफ्नै बिस्तारामा बोलाउँछन् अनि त्यही मध्यरातमा व्यापारीका घरमा बसेर लुतो कन्याउँदै लुते सरकार निर्माण गर्ने सहमति गर्छन् । 

अपराधीहरूले मन्त्रालय हाँक्ने शासनसत्ताका सबै अङ्ग लुतोमय भइसकेका छन् । यस्ता मान्छेले आफूलाई भ्रष्टाचार, कमिसन र बेइमानीको लुतो आएको छ भनेर स्वीकार गर्न चाहन्नन् । कसैले देखिहाल्यो भने यो लुतो हुँदै होइन भनेर अटेरी गर्छन्; यती, ओम्नीले ढाकछोप र संरक्षण गर्छन् र यो सामान्य रोग हो, तातो पानी खाए ठिक हुन्छ, बेसार लगाए ठिक हुन्छ भन्छन् ।

जनताको भोक, रोग र समस्यासँग उनीहरूलाई केही सरोकारै हुँदैन । लुतोबाहेक अरु रोगै देख्दैनन् । जनता जीवनजल र सिटामोल खान नपाएर मरिरहेका हुन्छन्, देशभरि बाढीपहिरोले ठुलो जनधनको क्षति भइरहेको छ, यिनीहरूलाई कुनै सरोकार हुँदैन । उनीहरू आफ्नै लुतो कन्याउनमा व्यस्त छन् । यस्ता राजनीतिक पात्र र प्रवृत्तिहरू पर्दाअगाडि मुख देखाउन लालायित भइरहन्छन् । मिठामिठा कुरा गर्छन्, कथा सुनाउँछन्, उखानटुक्का सुनाउँछन् र कसैले पनि मेरो लुतोको कुरा नगरिदिए हुन्थ्यो भन्छन् । दम्भ, घमण्डले लुतो पकाएर बसेकाहरू आफूमाथि गरिएको स्वच्छ आलोचनालाई पनि पचाउन सक्दैनन् । 

तेस्रो कुरा, नेपालका लुतोप्रिय राजनीतिज्ञले छक्याएर, झुक्याएर, ढाँटेर, टाँसेर के गर्दा लुतो अरुमा सार्न सकिन्छ, अरुलाई पनि लुते र फोहोरी बनाउन सकिन्छ, हरसम्भव प्रयास गरेका छन् । उनीहरू अरुमा लुतो सार्न सक्नुमा बहादुरी सम्झन्छन् । त्यतिबेला उनीहरूले आफूमा लुतो भएको कुरा बिर्सन्छन् र औँला ठड्याएर अरुको लुतो देखाउन खोज्छन् । 

राजनीतिक लुतो भएको मान्छेको अर्को महत्त्वपूर्ण विशेषता के हो भने त्यस्ता मान्छेले आफूलाई प्रायः सुकिलो, टिपटप र विज्ञ बनाउन खोजेका हुन्छन् । लुतो पाकेर पिपबाहिर निस्केको र दुनियाँले थाहा पाइसकेको उनीहरूलाई पत्तै हुँदैन तर एउटा हातले आफ्नो सुकेलुतो कन्याउँदै अर्को हातले इसारा गर्दै मजस्तो सुकिलो राष्ट्रवादी अरु कोही छैन भन्ने ठान्छन् । विगतमा आफूले गरेका महाकाली सम्झौताजस्ता राष्ट्रघात र बेइमानी सबै अरुले बिर्से होलान् जस्तो मान्छन् । लुतो भएका राजनीतिक क्षेत्रका माननीय सम्माननीयले लुतो नभएको बेलाको ब्याज खाएर कुशल लुते शासकको अभिनय गर्न खोज्छन् । देशको उच्च ओहोदामा बसेर पनि एउटा पालिका प्रमुखसँग सिँगौरी खेल्ने र कसैले लगाएको टिसर्टसँग डराउने प्रवृत्ति पनि एउटा लुते राजनीति नै हो । यस्ताले लुतो कन्याउँदा कन्याउँदै कपडा झरेको थाहा पाएका छैनन्, इजाराको पिर गरेर बसेका छन् । 

लुतोलाई लुकाएजस्तै अपराध, अपहरण, अनैतिकता, अध्यादेश, अकर्मण्यता, अतिवादिता, अनियमितता, आडम्बरीलाई लुकाएर बाहिर साधु, सज्जन, सन्त, सहकार्य, समझदार, सगोत्री र संवेदनशीलजस्तो देखिन खोज्नु नेपाली राजनीतिमा मियो बनेकाहरूको घातक प्रवृत्ति हो । यस किसिमका घातक र डरलाग्दा पात्रका कारण आज नेपाली राजनीतिको लुतो झन्झन् पेचिलो हँुदै गइरहेको छ । 

यस्तो लुतोमय प्रवृत्ति रहेसम्म देश र जनता सुखी र खुसी नहुने भएकाले यो राजनीतिक विकृतिजन्य लुतोलाई फाल्नैपर्ने देखिएको छ । अब यो लुतो सर्वसाधारण मान्छेका बलले फालिने अवस्थामा छैन । लुतोका देवता कण्डारकलाई नै बोलाएर अगुल्टो जिम्मा लगाउनुपर्नै अवस्था आइसकेको छ । त्यसपछि नांग्लो र थाल ठटाउने काम तपाईं हाम्रो है त !

कण्डारकासुराधीश ग्रहाण दीपमुत्तमम्

सरलेन्धनसंभूतं ममारिष्टं विनाशय ।

(लेखक पौडेल सेन्ट जेभियर्स कलेज माइतीघरमा नेपाली विषय पढाउँछन् ।)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवेन्द्र पौडेल
देवेन्द्र पौडेल
लेखकबाट थप