शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

चुरे विनाशका कारण बाढीले क्षति पुर्‍याएको विज्ञको ठहर

शनिबार, १९ असोज २०८१, ०७ : ११
शनिबार, १९ असोज २०८१

काठमाडौँ । चुरे विनाशका कारण नेपाल र भारतका विभिन्न ठाउँमा व्यापक क्षति पुर्‍याएको सो क्षेत्रका विज्ञहरूले जनाएका छन् । नेपाल भारत खुल्ला सीमा संवाद समूहको आयोजनामा जनकपुरमा शुक्रवार आयोजित ‘बाढ विपद् आर और पार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांशले अहिलेको बाढी र पहिरो आउनुको मुख्य कारण नै चुरे विनाश नै भएको तथा त्यसले नेपालको हिमाल, पहाड, मधेसका साथै भारतको विहार र उत्तर प्रदेशलाई व्यापकरुपमा क्षति पुर्‍याएको धारणा राखेका छन् ।

चुरे विनाशका कारण नदीहरू पुरिएर बहाप नियन्त्रण भन्दा बाहिर गएपछि नेपालका मधेस र भारतको विहारमा भइरहेको व्यापक क्षति रोक्न दुवै देशका सरकारहरू मूकदर्शक बनेर बसेको आरोप लगाए ।

नेपाली कांग्रेस मधेसका सभापति तथा पूर्वमन्त्री कृष्णा यादवले चुरे बिनाशको सवालमा आफूले पटक पटक पार्टीको केन्द्रीय समितिमा पनि आवाज उठाउँदा समेत कुनै सुनुवाइ नभएको गुनासो गरे । चुरेमा सुकुम्वासी भन्दा हुकुमवासीहरू घर बनाएर त्यहाँका गिट्टी बालुवा, काठ दाउरा तस्करी गरेको सवालमा आफूले पटक पटक आवाज उठाएको बताउँदै उनले भने, ‘म पार्टीमा पनि भन्ने गर्छु म पहिला मधेसी हुँ अनि पछि कांग्रेसी हुँ ।’

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै समूहका अध्यक्ष डा. राजीव झाले सन् २००८ मा कोशीको तटबन्ध फुट्दा हजारौँले ज्यान गुमाएको, नेपाल र भारतका ३० लाख मानिस प्रभावित भएको सहितका दृष्टान्त प्रस्तुत गरेका थिए । उनले भने, ‘पानी स्वाभाविक उचाइबाट तल, उत्तरबाट दक्षिण बग्ने नै हो । न नेपालले रोक्न सक्छ न त भारतले छेक्न सक्छ ।’

भारत विहारका वरिष्ठ पत्रकार ललित झाले नदी बचाउन सबै भन्दा पहिला आफैबाट सुधारको प्रयास गर्नुपर्ने र माटो तथा जमिनलाई सास फेर्न अवरोधक मानिएका प्लोथिन, प्लास्टिकको प्रयोग बन्द गर्दै पर्यावरण संरक्षक वृक्षलाई नाश गर्ने कार्य बन्द र वृक्षारोपण गर्नुपर्ने बताए । जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, नागरिक समाज अगुवा मुरली मनोहर मिश्रा, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जितेन्द्र महासेठ, मिडिया काउन्सिलको कार्यवाहक अध्यक्ष कैलाश दास सहितले प्राकृतिक श्रोत साधनको दोहनका कारण यस्ता विपद आउँदा समेत राकथाम समेत हुन नसक्नु दुःखद रहेको बताएका थिए ।

चुरे अभियानी दीपक यादवले चाइनिज कम्पनीले खुट्टी खोलामा गहिरो खाल्टो खनेर मुहान नै फेरि दिएको दाबी गरे ।  हिन्दी अभियानी रमन पाण्डेले चीनले सुनियोजित तरिकाले सडक निर्माणको नाममा पहाड, खोला नाला उत्खनन गरिरहेको जुन मधेसका लागि दुश्मन जस्तो व्यवहार भएको धारणा उनले राखे । सो अवसरमा पत्रकार श्याम सुन्दर शशी, भारतीय कम्युनिस्ट पार्टी मालेको नेता भूषण सिंह, बाढी विज्ञ रत्नेश्वर लाल कर्णले पनि बाढीको समस्या र समाधानका केही उपाय बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप